१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

विशाल भट्टराईसँगको अन्तर्वार्ता : सर्वसम्मत नेतृत्व चयन हुनेमा ९९ प्रतिशत ढुक्क हुनुहोस्



एमालेको १०औं महाधिवेशनको बन्दसत्र तयारी, विधान संसोधन, सहमति प्रयासलगायतका विषयमा चितवनमा रहेका एमाले सचेतक विशाल भट्टराईसँग न्युज कारखानाले गरेको संक्षिप्त कुराकानी :

महाधिवेशनको बन्दसत्र कसरी हुँदैछ?

हाम्रो महाधिवेशन अलि पृथक् तरिकाले चलिरहेको छ । विधान र नेतृत्व महाधिवेशन छुट्टै गरेको पहिलोपटक भएकाले पनि यो नौलो प्रयास हो ।

१५ देखि १७ असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले विधि र नीति पारित गरिसकेको छ । अब यो महाधिवेशनबाट विधि र नेतृत्व कार्यान्वयन गर्ने नेतृत्व चयन गर्दैछौं । बन्दसत्रमा अध्यक्षमण्डल हुन्छ । अध्यक्ष केपी ओली र नेताहरू ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ लगायतको ११ सदस्यीय अध्यक्षमण्डल छ ।

त्यसैगरी हामीले माइन्युट कमिटी पनि बनाएका छौं । कार्यक्रम अध्यक्षमण्डलले सञ्चालन गर्छ । अध्यक्षमण्डलले नवौं महाधिवेशनबाट निर्वाचित कमिटी भंग भएको घोषणा गरेपछि १०औंको नेतृत्व चयन प्रक्रिया सुरु हुन्छ ।

गोदावरीबाट पारित विधान त संशोधन हुने भयो हैन?

विधान महाधिवेशनपछि राष्ट्रिय महाधिवेशनले आवश्यक रूपमा विधान संशोधन गर्ने व्यवस्थाअनुरूप केही हेरफेर गरिएको हो । चुस्त कमिटी नै बनाउँछौं । धेरै ठूलो बनाउँदैनौं ।

पदाधिकारीको व्यवस्था संशोधन भए पनि ७० वर्षे उमेरहद कडाइका साथ लागू गर्छौं । पदाधिकारीमा दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था पनि यथावत् छ । यो संशाेधन पनि विधान विधानअनुसार हुँदै छ ।

सर्वसम्मत नेतृत्व चयनको सम्भावना कति देख्नुहुन्छ ?

अध्यक्षसहित वर्तमान केन्द्रीय कमिटी नै सर्वसम्मत नेतृत्व चयनको प्रयासमा छ । हामी अधिकतम लचकताका साथ नेतृत्वमा सर्वसम्मतिको प्रयासमै छौं । २३ सय चार जना प्रतिनिधि सबै केन्द्रमा अटाउने कुरा हुँदैन । त्यसैले धेरैको त्याग भयो भने सम्भव छ । वडा, पालिका, जिल्ला हुँदै प्रवासका कमिटीसमेत सर्वसम्मत नेतृत्व चयन गरेर आएका छन् । केन्द्रले यसको अनुशरण गर्छ नै ।

सर्वसम्मतिकै लागि विधान संशोधन गरौं भनेर बन्दत्रमा प्रस्ताव लैजाँदै छौं । पदाधिकारी थप्न प्रस्ताव राख्यौं । अध्यक्षलाई अधिकार दिउँ भनेर प्रस्ताव गर्‍याै । केन्द्रीय कमिटीले पारित गरिसकेको छ ।

सर्वसम्मत नेतृत्वको सम्मुखमा छौं । चुनावमा जाँदैनौं । कदाचित सर्वसम्मत भएन र चुनाव भयो भने लोकतान्त्रिक प्रक्रियाबाट हुन्छ । यसमा एमाले अनुभवी छ । दुवै विकल्पका लागि तयार छौं । तर ९९ प्रतिशत सर्वसम्मतको सम्भावना छ । केन्द्रीय कमिटी सदस्यको पनि सर्वसम्मत गर्नुपर्छ भनेर हामीले प्रयास गरिरहेका छौं । आयोगमा पनि सर्वसम्मत गर्ने प्रयासमा छौं ।


प्रतिक्रिया दिनुहोस !


चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार



काठमाडौं। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिएको आयोगले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगले विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको आक्रमणको निन्दा गरेको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको प्रवाधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थाा भएको यस प्रकारको जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ ।’ ढुंगा प्रहारबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै गाडीमा क्षति भएको आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस !

जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा



काठमाडौं । जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता



काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता नियमित भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । उहाँहरुबीच झण्डै एक घण्टा भएको भेटवार्तामा कोरोना संक्रमण, स्थानीय तहको चुनावलगायत समसामयीक विषयमा कुराकानी भएको बुझिएको छ ।

स्थानीय तहको निर्वाचन बैशाखबाट पर सार्ने विषयमा सत्तारुढ गठबन्धनमा छलफल भइरहेका बेला प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतल निवास जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: