११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

‘मत नहाल्ने’ सूची बाडेकोप्रति भीम रावलको आपत्ति



चितवन । चितवनमा जारी नेकपा एमालेको महाधिवशेनमा ओली पक्षले बाँडेको ‘मत नहाल्ने’ सूचीप्रति भीम रावलले निन्दा व्यक्त गरेका छन् ।चितवनको सौराहस्थित होटल सेभेन स्टारमा मतदान भइरँदा केपी ओली पक्षले कसलाई भेट हाल्ने र कसलाई नहाल्ने भनेर सूची तयार गरेर वितरण गरेको थियो । उक्त सूचीप्रति रावलले आपत्ति जनाएका हुन् । उक्त कामले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर बनाउने रावलको भनाइ छ । उनले पर्चा बाँड्ने काम रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको बताएका छन्। रावल अध्यक्षका उम्मेदवार हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘चितवनमा एमालेको मतदान सुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचारसंहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु, उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ, यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।’ यसअघि एमालेको विधानअनुसार प्यानल बनाएर लड्न नपाइने भनिए पनि संस्थापन पक्षले प्यानलसहितको सूची मतदातालाई बाँड्दै अध्यक्षमा उम्मेदवारी दिएका रावलसहित ११ जनालाई मत नदिन पर्चा बाँडिएको छ । बाँडिएको पर्चामा पदाधिकारीका उम्मेदवार रावल, घनश्याम भुसाल, टंक कार्की, भीम आचार्य लगायत केन्द्रीय कमिटी सदस्यका उम्मेदवार भएकाहरुको नाम तोकेर मत नहाल्न भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !