५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

दोस्रो चरणमा कम गोल, थ्री स्टार स्तब्ध हुँदा आर्मीलाई धक्का



काठमाडौं, १४ मंसिर

साविक विजेता मच्छिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेलेसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको खेल सकिएका छन् । निकै नै रोचक हुने अनुमान गरिएको खेलमा गोल हुन नसक्दा उपस्थित चार हजार दर्शकले खल्लो महसुस गरे । 

समग्रमा दोस्रो चरण मच्छिन्द्र र आर्मीकाे खेलजस्तै रह्यो । पाँच खेलमा हार जित हुँदा दुई खेल बराबरीमा सकिएको थियो । यस चरणमा भने कुनै पनि टोलीले ठुलो अन्तरको जित निकाल्न सकेनन् । संकटा क्लब र फ्रेण्ड्स क्लबबीचको खेलमा तीन गोल हुनु नै सबैभन्दा बढी गोल रह्यो ।  

पहिलो चरणमा १६ गोल निस्कदा दोस्रो चरणमा भने जम्मा सात गोल भएकाे छ। पहिलोे चरणको पहिलो खेलमा सातदोबाटो युथ क्लबले थ्री स्टारलाई १–० ले स्तब्ध बनायो । अघिल्लो खेलमा च्यासलविरुद्ध ३–० को जित निकालेको थ्री स्टार नवप्रवेशी सातदोबाटोसँग भने निरीह रह्यो । 

दोस्रो खेलमा संकटा क्लब एक गोलले पछि परेको स्थिति उल्टाउँदै २–१ को जित निकाल्यो । फ्रेण्ड्सको यो पहिलो हार हो । यता, संकटाको भने पहिलो जित हो । 

दोस्रो चरणको दोस्रो दिनको खेलमा च्यासलले विभागीय प्रतिद्वन्द्धी एपीएफ फुटबल क्लबलाई १–० अन्तरले पराजित गर्याे । त्यसै दिन भएको दोस्रो खेलमा विदेशी खेलाडी आफिज ओलावालेको निर्णायक गोलमा मनाङ मर्सस्याङ्दी क्लबले आफ्नो लगातार दोस्रो जितलाई निरन्तरता दियो ।  

तेस्रो दिन भएको एक मात्रै खेलमा जावलाखेल युथ क्लबलाई १–० ले  पराजित गर्दै पुलिसले पहिलो जित निकाल्यो । वैकल्पिक खेलाडी सुमन लामाको निर्णायक गोलमा पुलिसले अपराजित यात्रा कायम राख्याे ।  

दोस्राे चरणको अन्तिम दिन उपाधिमा दावेदारी प्रस्तुत गरेको न्युरोड टिम (एनआरटी) ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सँग गोलरहित बराबरीमा रोकियो । यो बराबरीसँगै एनआरटीलाई उपाधि दावेदारीमा धक्का लागेको छ । 

अन्तिम दिनको अन्तिम खेलमा भने आर्मी र मच्छिन्द्रले बराबरी खेल्दै अंक बाढे । यस नतिजासँगै मनाङलाई प्रत्यक्ष फाइदा भएको छ । मनाङले दोस्रो चरणमा दुई अंकको अग्रता बनाएको हो । 

दोस्रो चरणको समाप्तीमा मनाङको दुई खेलबाट दुई गोलसहित ६ अंक भएको छ । समान चार अंक जोडेका संकटा, बीबीसी, मच्छिन्द्र, पुलिस, सातदोबाटो क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । समान तीन अंक जोडेका थ्री स्टार र च्यासल सातौँ र आठौँ स्थानमा रहँदा दुई अंक जोडेको आर्मी नवौँ स्थानमा छ । 

समान एक अंक जोडेका हिमालयन शेर्पा,  फ्रेण्डस् र एनआरटी क्रमशः दशौँ, एघारौँ र १२औँ स्थानमा छन् । यता, कुनै अंक जोड्न नसकेका जावलाखेल र एपीएफ रेलिगेसन जोनमा छन् । तेस्रो चरणका खेल शुक्रबारबाट सुरु हुने छन् । 

दोस्रो चरणका नतिजा 
१. सातदोबाटो युथ क्लब १–० थ्रीस्टार क्लब
२. संकटा क्लब २–१ फ्रेण्ड्स क्लब 
३. च्यासल युथ क्लब १–० एपीएफ फुटबल क्लब 
४. हिमालयन शेर्पा क्लब ०–१ मनाङ मस्र्याङ्दी क्लब
५. जावलाखेल युथ क्लब ०–१ नेपाल पुलिस क्लब 
६. ब्रिगेड ब्वाइज क्लब ०–० न्युरोड टिम एनआरटी
७. त्रिभुवन आर्मी फुटबल क्लब ०–० मछिन्द्र फुटबल क्लब 


प्रतिक्रिया दिनुहोस !


बागमती प्रदेशलाई पराजित गर्दै पुलिस पीएम कपको फाइनलमा



काठमाडौं, ४ माघ

विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम) कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।

जितका लागि १५६ रनको लक्ष्य पछ्याएको बागमती निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०५ रनमा सीमित भयो । बागमतीका आदिल खानले सर्वाधिक २७ रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २३ रनको योगदान गरे ।

पुलिसका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक पाँच विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १० रन खर्चिए । यस्तै सागर ढकालले दुई तथा आरिफ शेखले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५५ रनको विजय लक्ष्य प्रस्तुत गर्‍यो । पुलिसका ओपनर पवन सर्राफले अर्धशतकीय इनिङ खेले । पवनले ५४ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ५९ रन बनाए । यस्तै दिलीप नाथले ३१ रन जोड्दा अनिल साहले २५ रन बनाए ।

बागमतीका नन्दन यादव र रिजन ढकालले समान दुई/दुई विकेट लिँदा प्रतिस जिसीले एक विकेट लिए । दोस्रो सेमिफाइनलमा एपीएफ र आर्मी भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस !

च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना, पुलिसविरुद्धको खेल स्थगित



काठमाडौं, २ माघ 

नेपाल पुलिस क्लबविरुद्ध आज खेल्दै गरेको च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना देखिएपछि अपरान्ह पौने ५ बजे तय खेल स्थगित भएको छ । 

यसअघि प्रि–म्याचमा च्यासलका सहायक प्रशिक्षक आशीष राना मगरले डिफेन्डर कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोरोना देखिएको बताएका थिए । त्यसपछि गरिएको अन्य खेलाडीको रिपोर्टसमेत पोजिटिभ आएपछि खेल स्थगित गरिएको हो । 

पुलिस आठ खेलमा सात अंक जोडेर ११औं र च्यासल आठ खेलमा पाँच अंक जोडेर १३औं  स्थानमा छ  । ए डिभिजन लिग कोरोनाको कारण स्थगित भएको पहिलोपटक हो । स्थगित खेल कहिले हुने त्यो भने बताइएको छैन ।

प्रतिक्रिया दिनुहोस !

सुदूरपश्चिमले जित्दा आर्मी सेमिफाइनलमा



काठमाडौं, २ माघ

सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश १ लाई सात विकेटले पराजित गरेको छ । हारसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ ।

प्रदेश १ को हारसँगै समूह ‘ए’ बाट आर्मीले उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ । सेमिफाइनल सम्भावना कायम राख्न प्रदेश १ लाई आज जित्नैपर्ने दबाब थियो । समूहबाट नेपाल पुलिस क्लबले विजेताको रूपमा सेमिफाइनल यात्रा तय गरिसकेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट प्रदेश १ ले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले १९.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍याे ।

सुदूरपश्चिमको जितमा राजु रिजालले सर्वाधिक ६८ रन बनाए । उनले ५२ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै कप्तान सन्तोष भट्टले ४८ रन जोडे । अर्जुन साउदले अविजित २६ रन जोडे । प्रदेश १ का कमल खत्री, मुकुन्द यादव र फिर्दोस अन्सारीले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको प्रदेश १ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५८ रनको योगफल तयार गरेको थियो ।

प्रदेश १ का मुकुन्द यादवले सर्वाधिक ३४ रन बनाए । त्यस्तै सोनु अन्सारीले ३१ रन जोड्दा मनिष थापा र कप्तान अंकित थापाले समान २३ रन थपे ।

सुदूरपश्चिमका हेमन्त धामी र नारायण जोशीले समान दुई विकेट दिए । यस्तै कैलाश ऐर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य मेहताले एक एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: