८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

मुलुकको संविधान, राष्ट्रियता र लोकतन्त्र जोगाउने दायित्व कांग्रेसको काँधमा : मन्त्री बडू



कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको संविधान, राष्ट्रियता र लोकतन्त्र जोगाउने दायित्व फेरि नेपाली कांग्रेसको काँधमा आएको बताउनुभएको छ ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आज यहाँ भर्चुअल माध्यमबाट गर्नुभएको कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनको उद्घाटन समारोहमा बोल्दै मन्त्री बडूले मुलुकको संविधान, राष्ट्रियता र लोकतन्त्र जोगाउने ऐतिहासिक दायित्वसामु मुलुक उभिएको र मुलुकको यो दायित्वसामु कांग्रेस उभिएको बताउनुभयो ।

“कांग्रेसका सामुन्नेमा यति धेरै चुनौतीहरु अहिले छन् र ती चुनौतीको सामना गर्नका निमित्त पनि कांग्रेस तयार छ, संविधानले अहिलेको व्यवस्था पाँच वर्ष नबितिकन ताजा जनादेशमा जाने र खोज्ने ठाउँ छुट दिएको छैन”, मन्त्री बडुले भन्नुभयो, “त्यसकारण यो संविधानले एकपटक दिएको जनादेश पाँच वर्षसम्म ताजा रहन्छ र पाँच वर्षपछि मात्रै ताजा जनादेशको खोजी गर्छ ।” नयाँ चुनाव गराउनका निम्ति पनि पार्टीमा दायित्व आएको उहाँको भनाइ थियो ।

उहाँले संविधानअन्तर्गत ठीक समयमा स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन गराउने दायित्व पूरा गर्नका निमित्त आज हामी यो अधिवेशनको अभियानमा रहेको उल्लेख गर्नुभयो । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री बडूले १४औँ महाधिवेशनबाट तयार हुने सङ्गठन एकीकृत, तन्दुरुस्त र अनुशासित मात्र नभई सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी सबैलाई अटाउने र सबैलाई समेट्न सक्ने कांग्रेस जनताले आज खोजेको बताउनुभयो ।

एकताबद्ध, सुदृढ, प्रतिष्ठित र अनुशासित कांग्रेस बनाउने अभियानमा हामी रहेको मन्त्री बडूले बताउनुभयो । महाधिवेशनका लागि प्रदेशका नौवटै जिल्लाका प्रतिनिधि धनगढी पुगिसकेका छन् भने केही पहाडी जिल्लाबाट नेता तथा कार्यकर्ता आउने क्रम जारी रहेको अधिवेशन मूल आयोजक समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !