५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

विद्युत खपत बढाउने अभियान लिएर कुलमान घिसिङ बारा-पर्सा औद्योगिक करिडोरमा



काठमाडाैं, १९ मंसिर

विद्युत खपत बढाउने अभियानमा लागेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगी व्यवसायीसँग छलफल गरेका छन् । उनले करिडोरमा सञ्चालित उद्योगहरूको अनुगमन भ्रमण र उद्योगी व्यवसायीहरूसँग अन्तरक्रिया गरी विद्युत मागको हालको अवस्था र भविश्यको आवश्यकताका विषयमा जानकारी लिनुका साथै  वीरगञ्ज उद्योग वाणिज्य संघ र जीतपुर नगर उद्योग वाणिज्य संघका पदाधिकारीसँग छुट्टाछुट्टै अन्तरक्रियासमेत गरेका छन् । 

प्राधिकरणले प्रदेश नं २ मा पर्ने बारा-पर्सा औद्योगिक करिडोर क्षेत्रमा पाँच वर्षभित्र दुई हजार मेगावाट विद्युत खपत हुने गरी पूर्वाधार बनाउँदैछ । बारा-पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी प्राधिकरणले व्यापक रूपमा विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो । 

प्राधिकरणले तराई क्षेत्रमा विद्युत लाइन विस्तारका लागि हुलाकी राजमार्ग हुँदै चार सय केभी प्रसारण लाइन निर्माणको अवधारणा अगाडि बढाएको छ । यस्तै हेटौंडा-परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भइरहेको र काम सम्पन्न भएपछि प्रसारण लाइनको क्षमता झन्डै दोब्बर हुने भएकोले उद्योगहरूलाई थप विद्युत आपूर्ति दिन सकिने प्राधिकरणले जनाएका छ । यस्तै निर्माणाधीन हेटौडा-ढल्केबर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सबस्टेसन निर्माण गर्ने योजना छ । पर्साको पोखरियामा सबस्टेसन बनाउन लागिएको छ । 

प्राधिकरणले सिमरा, परवानीपुर क्षेत्रमा सञ्चालित उद्योगहरूलाई तत्काल दुई सय मेगावाट विद्युत उपलब्ध गराउने भएको छ । त्यस क्षेत्रमा सञ्चालित स्टील उद्योगहरुले क्षमता विस्तारका लागि थप विद्युतको माग गर्दै आएका छन् ।

सबस्टेसन र उद्योगहरूको भ्रमण गरेपछि कार्यकारी निर्देशक घिसिङले उद्योगहरूलाई अहिलेकै पूर्वाधारबाट दुई सय मेगावाटसम्म थप विद्युत दिन सकिने देखिएको जानकारी दिए । 

बारा-पर्सा औद्योगिक करिडोरलाई लक्षित गरी पाँच वर्षमा दुई हजार मेगावाटसम्म विद्युत खपत हुने गरी पूर्वाधार संरचनाको विस्तार गर्न लागिएको जानकारी दिंदै निर्देशक घिसिङले विद्युतको माग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । ‘यस वर्षको वर्खामा मुलुकभित्र उत्पादित विद्युत खपत गर्न नसकी झन्डै आठ सय मेगावाट खेर गयो, यसको मूल्य करिब पाँच अर्ब रुपैयाँ हो, यस्तो अवस्था आउनु नेपालसँग विद्युत छ भन्ने अवसर पनि हो, अब वार्षिक रूपमा करिब एक हजार मेगावाट प्रणालीमा थपिंदै छ’, उनले भने, ‘विद्युत खपत बढाउन तत्काल गर्न सकिने काम, त्यसपछि १ वर्ष, २ वर्ष, ५ वर्ष र १० वर्षभित्रमा आउने मागलाई पूरा गर्ने गरी पूर्वाधार संरचना बनाउन लागेका छौं ।’

कार्यक्रममा उद्योगी व्यवसायीहरूले विद्युत महसुलम महँगो भएकाले सस्तो बनाउन, कम भोल्टेज तथा ट्रिपिङलगायतको समस्या समाधान गरी विद्युत आपूर्ति सुधार गर्न, प्रसारण तथा वितरण प्रणालीको विस्तारमा लगानी बढाउन माग गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !


रासस र महिला आयोगको बीचमा घरबहालका विषयमा किचलो



काठमाडौं । भद्रकालीस्थित राष्ट्रिय महिला आयोगले भाडामा लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई एक फ्ल्याटको मासिक भाडा १ लाख ५२ हजार तिर्छ । आयोगले स्थापनाकालदेखि बस्दै आएको राष्ट्रिय समाचार समिति (रासस) ले तीनतले भवनको मासिक भाडा भने १ लाख ३८ हजार मात्रै तिर्दै आएको छ, जुन सरकारको प्रचलित घरबहाल दररेटभन्दा सस्तो हो ।

समग्र महिलाको मूलप्रवाहीकरण, समानता र सशक्तीकरणका लागि काम गर्दै आएको संवैधानिक आयोग २०५८ फागुन २३ मा स्थापना भएको थियो । आयोग र राससबीच २०५९ साउनमा भएको द्विपक्षीय सम्झौतामा सुरुमा वार्षिक १० लाख भाडा तिर्ने र नियमअनुसार बर्सेनि १० प्रतिशतका दरले भाडादर वृद्धि हुने सर्त थियो । सम्झौताअनुसार हाल वार्षिक भाडादर १६ लाख ५६ हजार पुगेको छ ।

दुई वर्षअघि काठमाडौं महानगरको वडा नं. ११ ले तत्कालीन महानगरको बहाल कर प्रयोजनका लागि वर्गीकरण गरेको क्षेत्रअनुसार महिला आयोग बस्ने भवन र पार्किङ क्षेत्रको घर भाडा मूल्यांकन गरेर कर तिर्न पत्र पठायो । वडाले २०७६ मंसिर २४ मा गरेको पत्राचारअनुसार आयोग बस्ने भवनको ४ हजार १ सय ८६ वर्गफिट र पार्किङ रहेको २ हजार २ सय ८१ वर्गफिटको मासिक भाडा १ लाख ९० हजारका दरले वार्षिक २२ लाख ८० हजार पर्ने हुँदा सोको १० प्रतिशत कर वडामा बुझाउनुपर्ने उल्लेख गरेको थियो । जबकि त्यतिबेलाको मूल्यांकनभन्दा वार्षिक ६ लाख २४ हजार कम दरमा आयोगले राससलाई भाडा तिर्छ ।

प्रचलित घरबहाल दररेटअनुसार भाडादर परिमार्जन गर्न सम्झौताका लागि आयोगलाई पटक–पटक ताकेता गर्दा पनि सुनुवाइ नगरेपछि राससले गत साउन ८ मा तीन महिनाको समय दिँदै भवन खाली गर्न पत्राचार नै गर्‍यो । यसअघि दुई/दुई वर्षमा नवीकरण गर्ने गरी आयोग र राससबीच बहाल सम्झौता भएको थियो । पछिल्लो सम्झौताको म्याद गत असार मसान्तमा समाप्त भइसकेको छ । भाडादर परिमार्जन गर्न आलटाल गरेपछि घर खाली गर्न पत्राचार गरिएको राससका अध्यक्ष हरिहर अधिकारी श्यामलले बताए ।

प्रतिक्रिया दिनुहोस !

नेपालमा एक हप्तामा ३८ हजार बढीमा कोरोना संक्रमण



काठमाडौं, माघ ४ । पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका हुन् । सबैभन्दा बढी मंगलबार १० हजार २५८ जना नयाँ संक्रमित थपिएका हुन् ।

दैनिक संक्रमित बढिरहेका छन् । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको सङ्ख्या पनि बढिरहेको छ ।

पछिल्लो एक हप्ताको तथ्याङ्कअनुसार पुस २८ गते तीन हजार ७५, पुस २९ गते तीन हजार ५५३, पुस ३० गते पाँच हजार ८७, माघ १ गते चार हजार ६३६, माघ २ गते चार हजार ९६१, माघ ३ गते छ हजार ७३४ सङ्क्रमण थपिएका हुन् ।

यस एकहप्ताको बीचमा सक्रिय संक्रमित हुने सङ्ख्या पनि बढेको छ । पुस २८ गते ११ हजार ६९० सक्रिय संक्रमित रहेकोमा यो सङ्ख्या बढेर आज ३९ हजार ४४ पुगेको छ ।

पुस २८ गते कूल परीक्षण गराएकामध्ये २३.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो भने मंगलबार ४४.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !

वीरगञ्ज भन्सारबाट ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन



वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन गरेको छ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज भन्सारले लक्ष्यभन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको हो ।

भन्सार विभागले साउनदेखि पुससम्मका लागि १ खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य तोकेको थियो । कार्यालयले सो अवधिमा कुल १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । ‘अघिल्लो आर्थिक वर्ष २०७७/७८ को समीक्षा अवधिको तुलनामा ३२ अर्ब रुपैयाँ बढी राजश्व संकलन गरेका छौं,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने, ‘पुस महिनामा लक्ष्य अनुसार राजश्व संकलन भएन, तर पनि अन्य महिनामा लक्ष्यभन्दा बढी असुली भएको कारण ६ महिनाको लक्ष्य भेटेका छौं ।’

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: