७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

केपी ओलीको घमण्डले सबैथोक बर्बाद भयो : मन्त्री खतिवडा



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमा रहेको घमण्डले मुलुक सन्त्रासमा गएको बताउनुभएको छ ।

नुवाकोटस्थित त्रिशुली अस्पतालको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमपछि सदरमुकाम बिदुरमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले उक्त कुरा उल्लेख गर्नुुभएको हो ।

आफू मात्रै सर्वेसर्वा भन्ने ओलीको घमण्डले मुलक पछाडि परेको उहाँको भनाइ छ । दुई तिहाईको बहुमतीय सरकारलाई धान्न नसकेर अहिले प्रतिपक्षमा बस्नु परेको बताउदै ओलीकै घमण्डका कारण आफूहरु नयाँ पार्टी गठन गर्न बाध्य भएको मन्त्री खतिवडाले बताउनुभयो ।

उहाँले पार्टी र सत्ता सञ्चालनमा विचार र सिद्घान्तलाई पञ्छाउँदै व्यक्तिगत स्वार्थका योजनाहरुलाई समावेश गरेको उपजका कारण एमाले अहिले प्रतिपक्षमा पुगेको दाबी गर्नुभयो ।

अर्को प्रसंगमा मन्त्री खतिवडाले अब कोरोना संक्रमणकै कारण मुलुकमा लकडाउन नहुने बताउनुभयो । विगतमा संक्रमण नियन्त्रण तथा रोकथामका लागि भएका निषेधाज्ञाले संक्रमणलेभन्दा धेरै भोकमरीको समस्या सिर्जना भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेकै अवस्थामा लकडाउन हुँदैन, संक्रमण नियन्त्रण तथा रोकथामका लागी थप योजनाहरु ल्याइन्छ ।’

त्यसअवसरमा उहाँले नेपाली नागरिकलाई आवश्यक पर्ने सबै खोप नेपालले स्टोर गरिसकेको उल्लेख गर्दै उहाँले पुस महिनाभित्रमा सबै नागरिकले खोप लगाइसक्ने बताउनुभयो । उहाँले खोप सुनिश्चितताको लागि अभियाननै सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभएको छ ।

एकीकृत समाजवादीको पत्रकार सम्मेलनमा समाजवादी पार्टीका बागमती प्रदेश सदस्य यमकुमार खाती, पार्टीका जिल्ला अध्यक्ष गोविन्द नेपाली, उपाध्यक्ष शान्ता थापा, उपसचिव उद्वव पनेरु, वुद्धिजिवी विभाग प्रमुख रामहरी गजुरेल, युवासंघ तथा विद्यार्थी नेता र कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !