१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

भिजिट भिसामार्फत् वैदेशिक रोजगारमा नजान सरोकारवालाहरूको आग्रह



काठमाडौं । वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान सरोकारवालाहरूले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘भिजिट भिसाः समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरूले सो आग्रह गरेका हुन् ।

पछिल्लो समय भिजिट भिसामा वैदेशिक रोजगारीका लागि जाने क्रम बढ्दो रहेको छ । यसकारण विभिन्न मुलुकमा पुगेर युवाहरू अलपत्र पर्ने गरेका छन् । त्यसैले यस क्षेत्रमा प्रत्यक्ष संलग्न रहेका सरोकारवालाहरूले भिजिट भिसामा नजान आग्रह गरेको हो ।

प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले पछिल्लो समय विभिन्न प्रलोभन देखाएर भिजिट भिसामा युवाहरू ओसार्ने प्रवृत्ति बढेको बताए । यसरी जानेहरू समस्या पर्नुका साथै विभिन्न सेवा सुविधाबाट बञ्चित हुने बताए ।

त्यसैले, भिजिट भिसालाई नियन्त्रण गर्न नसके उक्त समस्या आगामी दिनमा आइरहने उनको भनाइ छ । साथै, दुःख पाउँदा परिवारबाट पैसा मगाएर फर्किनुपर्ने बाध्यता रहेको उनले औंल्याए ।

एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव मधुकर रिजालले भिजिट भिसामा जाने कामदारलाई सचेतनाको आवश्यक रहेको बताए । उनकाअनुसार भिजिट भिसामा जाने मानिस भनेको घुम्न जाने भएकाले कामदारहरूले उक्त कार्य बुझ्नु पर्दछ ।

कामदारको मात्रै नभएर सरकारको कममजोरीले पनि भिजिट भिसामा जाने श्रमिक बढ्दो रहेको बताए । ‘नेपालबाट वैदेशिक रोजगारमा जाने प्रक्रिया निकै लामो रहेको छ । कामदारहरू छोटो समयमा वैदेशिक रोजगारीमा जाने चाहन्छन्,’ उनले भने, ‘कामदारलाई छिटो र सहज ढङ्ग खोज्ने भएकाले भिजिट भिसामा जाने गरेको देखिन्छ ।’

श्रमविज्ञ रामेश्वर नेपालले भिजिट भिसाको समस्या अहिलेदेखि मात्रै नभएर विगतको दिनमा पनि रहेको बताए । भिजिट भिसाको आवरणमा युवा तस्करी भइरहेको बारे सम्बन्धीत सरोकारवालाहरु जानकार भए पनि कडाई गर्न नसकिएको उनको भनाइ छ । ‘यो समस्याको समाधानका लागि सरकार, व्यवसायी तथा कामदार पनि इमान्दार हुन पर्छ । साथै, समस्या समाधानका लागि डिप्लोमेटिक पहल आबश्यक छ,’ उनले भने ।

यसबारे सबै जानकार भए पनि कुनै समस्याको समाधान गर्न चासो नदेखाएको भन्दै एकजुट भएर काम गर्नुपर्ने बताए । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसियसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले अज्ञानीभन्दा सबैभन्दा बढी जाने नेपाली भिजिट भिसामा जाने गरेको बताए । भिजिट भिसामा जाँदा व्यवसायीहरु पनि मारमा पर्ने र श्रमिकहरूले पनि समस्यामा पर्दा कुनै सरकारले प्रदान गर्ने सेवा सुविधा नपाउने उनले जिकिर गरे । ‘श्रम स्वीकृति लिएर गएका श्रमिकले मृत्यु वा अंगभंग भएमा ७ लाख पाउने र बिरामी भए स्वास्थ्य खर्चबापत राहत पाउनेछ,’ उनले भने ।

उनका अनुसार भिजिट भिसामा धेरै समस्या स्वीकार्दै उक्त समस्या समाधानका लागि सरकार, व्यवसायीलगायत कामदारसमेत उत्तरदायी भएर सचेत हुनुपर्छ । साथै, भिजिट भिसामा पठाई मोटो रकम उठाउने व्यापार बन्द गर्नुपर्ने उनको भनाइ छ ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाले कामका लागि भिजिट भिषामा जाँदै नजान आग्रह गरे । ‘अहिले नेपालीहरुको संस्कृति नै जस्तो भइसकेको छ भिजिट भिसामा जाने तर उहाँहरुको उद्देश्य भनेको काम गर्ने र पैसा कमाउने नै हो । यसरी जाँदा उहाँहरुले दुःख पाउनु भएको छ ,’ उनले भने ।

सरकारले म्यानपावर कम्पनीहरुका एजेन्ट खारेज गरे पनि एजेन्टमार्फत नै काम भइरहेको अध्यक्ष रानाले बताए । सरकारले कार्यविधि नै बनाएर भिजिट भिसामा कडाई गर्नुपर्ने उनले उल्लेख गरे । वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले भिजिट भिसामा एनआरएनएले नै लैजाने गरेको बताए ।

‘जुन म्यानपावरले भिजिट भिसामा पठाउँछ त्यो दलाल हो । आफन्त र सरकारका विभिन्न तहका कर्मचारीको सेटिङ हो । र अर्को भारतको बाटोमार्फत पनि युवाहरु भिजिट भिसामा जाने गरेका छन्,’ कार्यक्रममा बोल्दै तामाङले भने । लामो यात्रा ९० दिन र छोटो ३० दिनका लागि जाने गरेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !