१३ पुस, काठमाडौंः नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ। काठमाडौंमा जारी आठौं महाधिवेशनबीच आज (मंगलबार) पार्टी स्थायी समितिको बैठकको बैठक बोलाइएको हो।
बैठक बिहान ११ बजे महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानकै भवनमा बस्ने गरि बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए। स्थायी समिति बैठकमा विधानमा व्यवस्था गरिएको पदाधिकारी संख्या, त्यसमा विभिन्न क्लस्टरको सहभागिता, राजनीतिक प्रतिवेदन र संशोधित विधानलगायत बन्दसत्रमा उठेका विषय कसरी प्रभावकारी ढंगले सम्बोधन गर्ने विषयमा छलफल हुने उनले बताए।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार बन्दसत्रमा ४५ पृष्ठको राजनीतिक प्रतिवेदन पढेर सुनाएका थिए। सो प्रतिवेदन अध्ययन गरेर सुझाव दिन २५ समूह बनाइएको छ। जसले त्यसबारे आफ्नो धारणा राख्नेछन्। यही पुस ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन १५ गते सम्पन्न हुने बताइएको छ।