धनगढी । सुदूरपश्चिमबासीहरुले आजकाे दिनलाई ‘पुषे १५’ काे नाममा मनाउने गर्छन् । स्थानीय मौलिक पर्वका रुपमा पुषे पन्ध्र पर्व मनाउँदै आएकाे पाइन्छ । आज सबैभन्दा लामाे र चिसाे रात हुने मान्यताअनुसार साँझदेखि राति अबेरसम्म मीष्ठान्न परिकार बनाई खाँदै एकआपसमा भेला भएर रमाइलाे गरी मनाउने चलन छ । बातै अर्थात लाेककथाहरु सुन्ने/सुनाउने गरी राति अबेरसम्म रमाइलाे गर्दै जाग्राम बस्ने गर्छन ।
आजको दिन तरुल, सखरखण्ड, फर्सी, पिँडालु, चाखु/सख्खर र माडा लगायत परिकार खाँदै जीउ तताउने गरिन्छ । त्यस्तै आजको दिनमा वनपूजा पनि गरिन्छ । प्राय: गाउँठाउँमा वनमै गएर सेल, पुरी, झँजे (चामलको पिठोबाट बनाईने परिकार) आदि मिष्ठान्न पक्वानहरु पकाएर दिनभरि नै रमाइलाे गर्ने गरिन्छ । साथै आज वनजङ्गलमा काम नगर्ने र वञ्चरो, हँसिया, बनारो (घाँसपात, दाउरा बान्ने रसी) लगायतका सामाग्रीको पूजा समेत गरिन्छ ।
याे चाड पनि सूर्यकाे माेसनसँगै सम्बन्धित छ । पुष १५ पछि दिन लामाे हुँदै जाने र रात छाेटिँदै जाने तथा सूर्यकाे उत्तरायण गति सुरु भएर धरतीमा तापमान बढ्दै जाने विश्वास गरिन्छ ।