१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

ढुंगा सिँगारेर बनाएको घाङ्च ल्हुम पार्क, पाँच महिनामै पुगे साढे १४ हजार पर्यटक



तनहुँ, १५ पुस

जंगलबीचका अग्ला अग्ला चुच्चे ढुंगा, जसको केही समय अघिसम्म कुनै महत्व थिएन । सायद यी ढुंगा फोरेर घरको गाह्रोमा हाल्न मिल्ने भइदिएको भए उहिल्यै चोइटिन्थ्यो होला । बढी चुच्चो भएकै कारण फुटाएर गाह्रो लगाउन नमिल्ने यी ढुंगा अस्तित्वविहीन जस्तै थिए । यति मात्रै हाेइन चुच्चे ढुंगाकै कारण वस्तुभाउ चराउन र घाँस दाउरा गर्न समेत स्थानीयहरू पुग्दैन थिए ।

भिमाद नगरपालिका-९ मोहोरियास्थित दुङ्दुकाे सामुदायिक वनमा पर्ने यही अग्ला र चुच्चे ढुंगा अहिले पर्यटक तान्ने माध्यम बनेका छन् । झाडी फाँडेर तिनै ढुंगा सिंगारिएको छ । अहिले यहाँ उद्यान अर्थात पार्क बनाइएको छ । पार्कको नामाकरण गरिएको छ घाङ्च ल्हुम । घाङ्च ल्हुम भनेको मगर भाषामा अग्लो ढुंगा हो । मगर बस्ती मोहोरियाको काखमा साजसज्जाले चिटिक्क बनाईएको ढुंगे बगैँचा घाङ्च ल्हुम भाइरल गन्तव्य बनेकाे छ ।

केही समयअघिसम्म घाङ्च ल्हुमको न अस्तित्व थियो न अपेक्षा नै । मोहोरियावासी जंगलको झाडीमा लुकेको घाङ्च ल्हुम हेर्न पर्यटक आउलान भन्ने कल्पना समेत थिएन । जताततै ढुंगैढुंगा छन्, ढुंगा हेर्नलाई पनि पर्यटक आउलान् र ?

ढुंगालाई साजसज्जा गरेर पार्क बनाएपछि घाङ्च ल्हुममा हजारौँ पर्यटक पुगेका छन् । गत साउनमा निर्माणधीन घाङ्च ल्हुम पक्षी तथा वनस्पती उद्यानको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पर्यटक पुग्न थालेका थिए । पर्यटकको ताती लाग्न थालेपछि १८ साउनदेखि घाङ्च ल्हुम प्रवेशमा टिकटकाे व्यवस्था भयाे । त्यस दिनदेखि हिजाे बुधबारसम्ममा घाङ्च ल्हुममा साढे १४ हजार पर्यटक आइसकेकाे दुङ्दुमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खड्कबहादुर थापाले जानकारी दिए । घुम्न आएका पर्यटकले काटेको टिकटबाट मात्रै दुई लाख ९० हजार दुई सय ६० रुपैयाँ आम्दानी भइसकेकाे छ ।

कल्पना नै नगरेको संख्यामा पर्यटक आएको थापा बताउँछन् । उनका अनुसार जिल्लाबाहिरबाट समेत पर्यटक आउन थालेका छन् । घुम्न आउनेको ताँतीले गाउँलेलाई दंगै बनाएको छ । उनी भन्छन्, ‘हामी यहीँ हुर्कियौँ, यहीँ गाई बाख्रा चराएर हिँड्यौँ । पहिले झाडी थियो आउन पनि डर लाग्ने ठाउँ । यस्तो बन्ला भनेर कहिल्यैँ कल्पना समेत गरिएन् । चिटिक्कको पार्क बनेर घुम्न आउनेको ताँती लागेपछि हामी त दंगै पर्‍यौँँ ।’ पछिल्लो तीन वर्षको प्रयासमा डर लाग्ने जंगलको ढुंगा आकर्षक पार्कमा परिणत भएको उनको भनाइ छ ।

गण्डकी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट मातहातको कार्यालय डिभिजन वन कार्यालय तनहुँले आर्थिक बर्ष २०७७/०७८ मा पार्क बनाएको हो । २० लाख रुपैयाँ लगानीमा पार्क बनाएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । पार्क निर्माणमा स्थानीयले १० प्रतिशत लागत साझेदारी व्यहोर्दै श्रमदान गरेका थिए ।

पार्कमा चराका लागि गुँड बनाइएको छ । ढुंगाको खोपिल्टोलाई संरक्षण गरेर चराचुरुङ्गीले पानी पिउन मिल्ने स-साना पोखरी निर्माण गरिएको छ । गिद्धको आकृति र चुच्चोबाट पानीको फोहोरा झर्ने संरचना निर्माण गरिएको छ । घाङ्च ल्हुम परिसरमा ढुंगा चिनेर चिटिक्कको पैदल मार्ग बनाइएको छ । गमलामा रोपिएका फूल फुलेर ढकमक्क हुँदा मनमोहक देखिएको छ ।

छोटो समयमा घाङ्च ल्हुममा हजारौँ पर्यटक आउनुलाई सामाजिक सञ्जालको पावर ठान्छन् वडाध्यक्ष इमानबहादुर थापा । ‘यदि सामाजिक सञ्जालमा प्रचारप्रसार हुदैन्थ्यो भने घाङ्च ल्हुममा यति धेरै पर्यटक आउने थिएनन् होला,’ उनले सुनाए । पछिल्लो समय भने पर्यटक बिस्तारै घट्दो छ । कारण चिहानडाँडाबाट पार्कसम्मको पुग्ने सडकको दुरावस्था । कालोपत्रे गर्नलाई ठेक्का लगाएको चिहानडाँडादेखि मोहोरियासम्मको सडक निर्माण समयमै सम्पन्न नहुदाँ पर्यटकलाई सास्ती भएकाे वडाध्यक्ष थापा बताउँछन् । २.३ किलोमिटर सडक ठेक्का लगाएको दुई बर्षसम्म पनि कालोपत्रे हुन सकेको छैन ।

ढुंगा सिँगारेर आकर्षक पार्क बन्नुको जस मोहोरियावासी गण्डकी प्रदेशसभा सदस्य किरण गुरुङलाई दिन्छन् । गुरुङ गण्डकीका पूर्व अर्थमन्त्री पनि हुन् । अर्थमन्त्री हुँदा उनले घाङ्च ल्हुम पक्षी तथा वनस्पति उद्यान निर्माणमा बजेट विनियोजन गरेका थिए । ढुंगा सिँगारेर पार्क बनाउने अवधारणा गुरुङै भएको स्थानीय बाबुराम राना बताउँछन् । मोहोरियाको ढुंगामा पर्यटक तान्ने शक्ति देखेर पार्कको अवधारणा अगाडि सारेको पूर्वमन्त्री गुरुङ बताउँछन् । अब दुङ्दुमा सामुदायिक वन क्षेत्रलाई वनस्पति उद्यानको रुपमा विकसित गर्ने योजना रहेको उनले बताए ।

पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट १५ किलोमिटर पर पर्छ मोहोरियाको घाङ्च ल्हुम । पाँच महिनामा यहाँ १४ हजारभन्दा बढी पर्यटक घुम्न आए पनि गाउँलेले भने प्रत्यक्ष लाभ उठाउन सकिरहेका छैनन् ।

a


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय