काठमाडौँ — यो वर्ष धान उत्पादन झण्डै ५ लाख मेट्रिक टन घटेको छ । गत असोज ३१ र कात्तिक १/२ गते आएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुऱ्याएपछि उत्पादन ४ लाख ९१ हजार ८५ मेट्रिक टन घटेको हो । २०७७/७८को तुलनामा धानको उत्पादन ८.७४ प्रतिशतले कमी आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन उत्पादन भएको थियो । यस आर्थिक वर्ष भने उत्पादन घटेर ५१ लाख ३० हजार ६ सय २५ मेट्रिक टनमा झरेको हो । ‘धान उत्पादन घट्नुको मुख्य कारण बेमौसमी बर्षा नै हो,’ मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले भने, ‘मुख्यत सुदूरपश्चिममा आएको उत्पादन गिरावटले क्षति भयो ।’
तथ्याङ्क अनुसार सुदूरपश्चिममा मात्रै धान उत्पादन ३१.४९ प्रतिशतले घटेको छ । यस्तै, लुम्बिनीमा १८.३८ प्रतिशत, कर्णालीमा ८.७६ प्रतिशत, प्रदेश २ मा ३.२४ प्रतिशत उत्पादन घटेको छ । प्रदेश १ मा शून्य दशमलव ९३ प्रतिशत र वाग्मतीमा शून्य दशमलब ३५ प्रतिशतले घटेको मन्त्रालयले उल्लेख छ ।