काठमाडौं, १७ पुस
नवौं राष्ट्रिय पोसाक दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय पोसाक दिवस मनाइएको हो । राष्ट्रियताको पहिचानका लागि एउटै पोसाक हुनुपर्छ भन्ने उद्देश्यका साथ २०६९ सालदेखि राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको हो ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका सचिव श्याम बजगाईंले ०६९ सालमा काभ्रेबाट कार्यक्रमको सुरुवात गरिएको बताए । ‘सरकारले २०६८ सालदेखि राष्ट्रिय पोसाक हटेको थियो । अहिले राष्ट्र राष्ट्रिय पोसाक विहीन छ । नेपालको राष्ट्रिय पोसाक चाहिन्छ भन्ने मागसहित पोसाक दिवस मनाउन थालिएको हो,’ उनले भने । पुस १७ गते विदेशी नयाँ वर्ष मनाउने गरेकाले हामीले हाम्रो आफ्नै पहिचान छ भन्ने बुझाउनका लागि यही मितिमा नै राष्ट्रिय पोसाक दिवस मनाउन थालेको उनको भनाइ छ ।

शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रको जातीय पोसाकलाई अपमान नगरिएको बताए । उनले नेपाली पहिचानका लागि राष्ट्रिय पोसाक आवश्यक रहेको जनाए । ‘हामीले हाम्रो धरोहरलाई बचाउनका लागि नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ । नत्र आयातित संस्कृति भित्रिन्छन्,’ उनले भने ।

कार्यक्रममा शताब्दी पुरुष जोशीलाई राष्ट्रिय धरोहर २०७८ द्वारा सम्मान गरिएको छ । उनलाई ११ हजार १०० नगदसहित सम्मान गरिएको हो । यसैगरी, कार्यक्रममा पोसाक दिवसमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरूलाई समेत सम्मान पत्र र कदरपत्र प्रदान गरिएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष राजानन्द माण्डव्यले ६३ जिल्ला सञ्जाल फैलिएको जानकारी दिए । उनले विदेशमा बसिरहेका नेपालीहरूले पनि राष्ट्रिय पोसाक दिवस उत्तिकै महत्त्वका साथ मनाइरहेको बताए ।

सांस्कृतिक तथा पर्यटनमन्त्री प्रेम बहादुर आलेले राष्ट्रिय पोसाकको महत्त्व बुझाउँदै आवश्यक रहेको औंल्याए । उनले राष्ट्रिय पोसाकलाई आधिकारिकता दिनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइरालाले राष्ट्रिय पोसाकको अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
