१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

४७६ दिनपछि खुल्यो रेलको ‘घुम्टो’, ईनर्वादेखि कुर्थासम्म सफल परीक्षण



जनकपुर । सीमावर्ती ईनर्वा रेल्वे स्टेशनमा थन्काइराखिएको नेपाल रेल्वेको दुई सेट रेलको घुम्टो ४७६ दिनपछि हटाइएको छ । त्रिपाल ओढाइराखिएको उक्त रेलको शनिबार ईनर्वादेखि कुर्थासम्म गुडाएर परीक्षणसमेत गरिएको छ। सम्बद्ध प्राविधिकहरूले रेलको परीक्षण सफल भएको जानकारी दिएका छन् । उक्त रेल २०७७ साल असोज ३ गते भारतीय कम्पनी कोंकन रेल्वे कार्पोरेशनका मेकानिकल विभागका प्रमुख दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण भएको साढे १४ महिनादेखि दुवै थान रेल सेट सशस्त्र प्रहरीको सुरक्षामा ईनर्वामा राखिएका थिए । एक वर्षे वारेन्टीसहित नेपाल रेल्वेले भारतीय कम्पनीसँग उक्त रेल सेट ८४ करोड ६५ लाखमा खरिद गरेको थियो । साढे १४ महिनादेखि रोकेर राखिएका रेल सेटको इन्जिन, ब्याट्री, चक्का, नाइनल, पिस्टन, जेनरेटर, मोबिल आदिमा खराबी आए नआएको जाँच गर्न परीक्षण गरिएको महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । रेल सञ्चालनको सम्पूर्ण तयारी पूरा भइसकेकोले फेब्रुअरी मध्यसम्म नियमित रेल सेवा सञ्चालन हुने महाप्रबन्धक झाले बताएका छन् ।

प्राथमिक चरणमा रेल सञ्चालन गर्न तथा नेपाली प्राविधिकहरूलाई तालिम दिन भारतको कोंकन रेल्वे कार्पोरेशन र नेपाल रेल्वेबीच डेढ वर्षअघि तत्कालीन महाप्रबन्धक गुरुप्रसाद भट्टराईकै पालामा समझौता भएको थियो । समझौता अनुसार कोंकन रेल्वे कार्पोरेशनले २६ सदस्यीय चालकसहितका प्राविधिक टोली उपलब्ध गराउने तथा सोही टोलीले रेल सञ्चालनमा सहयोग गर्नुका साथै नेपाली प्राविधिकलाई तालिम दिने उल्लेख छ ।

रेल्वे कम्पनी श्रोतबाट प्राप्त जानकारी अनुसार प्राविधिक सहयोग गरेवापत भारतीय कम्पनीलाई २२ करोड भारतीय रुपैयाँ भुक्तानी गर्नु पर्ने छ । जसको पहिलो किस्ता भारतीय कम्पनीलाई भुक्तान गरिसकिएको महाप्रबन्धक झाले बताए ।


प्रतिक्रिया दिनुहोस !