१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

यो हात उठाएर बस्ने समय होइन,युद्धस्तरमा खोप लगाऔं :- डा. शेरबहादुर पुन



डा. शेरबहादुर पुन
सरुवा रोग विशेषज्ञ

पाण्डवहरु १४ वर्ष बनवास समयको एक कालखण्ड जहाँ बिताएका थिए,त्यही ‘पाण्डवखानी’ मा जन्मिएका हुन डा शेरबहादुर पुन । बाउ बाजे लाहुरे, पुनले थामेनन उनीहरुको बिडो । बरु हङकङ्गमा साइन्स टप गरे,उतैबाट रसिया हुँदै जापानबाट पढाई सके । विदेशका थुप्रै अबसर त्यागेर स्वदेशमै केही गर्नुपर्छ भन्ने मनशायले ०५९ सालमा जापानबाट फर्किए नेपाल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा काम प्रारम्भ गरे मेडिकल अफिसरका रुपमा । उनले त्यहाँ रिसर्च युनिट खोल्नुपर्ने माग राखे । धेरै पछि सो युनिट खोलियो पनि,अहिले उनी शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजकको भूमिकामा छन् । डा पुनकै टिमले पहिलो पटक दिसाको कल्चर परीक्षणमा सफलता पायो । ०६७ सालमा नेपाली सेनाको कारण हाइटीमा हैजा फैलिएको आरोप लाग्यो । नेपाली सेनाकै कारण हाइटीमा १० हजार ७५ जनाको ज्यान गएको फ्रान्सेली वैज्ञानिकहरूको आरोप लगाइयो । सो आरोपको खण्डन गर्दै डा. पुनले अमेरिकाको रोग नियन्त्रण तथा रोगथाम केन्द्र (सीडीसी) को जर्नलमा लामो लेख छपाए । अमेरिकी सोसाईटी फर माइक्रोवायोलोजीमा आफ्नो दाबी पुष्टि गर्ने अनुसन्धान रिपोर्ट पठाए । डा. पुनको तर्कले अन्तर्राष्ट्रिय मान्यता पायो । फ्रान्सेली वैज्ञानिकहरूको मिथ्या आरोपलाई डा. पुनको अनुसन्धान रिर्पोटले नेपाली सेना र नेपालको साख जोगाउने काम गर्यो । पुन आफ्नो खोज अनुसन्धानमा चक्मा दिन सक्छन् । उनी सरुवा रोगबारे वस्तुगत विश्लेषण गर्न सक्छन् । मन्त्री,सचिव वा अरुले के भन्ला भन्ने डरले सूचना लुकाउँदैनन् । यही कारण समय समयमा त्यहीँका चिकित्सक,हाकिमका आँखाको तारो बन्ने गर्दछन्,जस्तो यस अघि ओली सरकारका आँखाको तारो बनेका उनी केही समय मन्त्रालयमा तानिएका थिए ।

भारतमा कोरोनाको नयाँ संक्रमण देखिएसँगै कर्फ्यु लगाइएको छ । नेपाल भारत खुला सीमा छ । ओमिक्रोन भेरिअन्टबाट नेपाल कतिको जोखिममा छ ?

विगतका उदाहरण हेर्दा भारतमा संक्रमण फैलिएको महिना दिनभित्रैमा नेपालमा पनि संक्रमण दर बढेको देखिन्छ,खुला सीमानाका कारण पनि । नेपालमा संक्रमण फैलनसक्छ । बिगतमा हामीले दुईवटा लहर भोगिसकेका छौं । विगतलाई हेरेर पनि हामीले सिक्नुपर्ने हो । कोभिडको तेश्रो लहर नफैलियोस भनेर पूर्व तयारीमा रहनुपर्ने अबस्था छ । नागरिक आफैं सचेत हुनु जरुरी छ । पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्ने । खोप युद्धस्तरमा लगाउनुपर्दछ । ओमिक्रोनका कारण मृत्यु हुने कम छन । यद्यपि अहिले पनि हामीकहाँ कोभिडको खोप १८ बर्ष माथिका ५० प्रतिशत नागरिकले मात्र लगाएका छन् । त्यो भन्दा माथिका नागरिकहरुले किन खोप लगाउन चासो देखाइरहेका छन् ? खोप नलगाएका व्यक्ति संक्रमित भएको खण्डमा कोरोना संक्रमण फैलन्छ नै । १८ बर्ष माथिका नै झण्डै आधा जनसंख्याले हामीकहाँ खोप लगाएका छैनन । त्यही कारण जोखिम छ ।

केही अघि एमाले,राप्रपा,काँग्रेस हुँदै अहिले माओवादीको महाअधिवेशन चलिरहेको छ । सभा,सम्मेलन,जुलुस पनि दैनिकजसो देखिन्छ । विश्वका धेरै मुलुकहरुमा ‘ओमिक्रोन भेरियन्ट’ को प्रवेश नै नहोस वा भित्रिएको भए थप नफैलियोस भनेर सतर्कता अपनाएका देखिन्छन् । तर हामीकहाँ सभा,सम्मेलन चलिरहेछ, विना सावधानी । एउटा भाइरोलोजिष्टको नाताले यस्लाई कसरी लिनुहुन्छ ?

दुई वा दुईभन्दा बढी मानिसको जमघट हुनु भनेको कोरोना भाइरस फैलन राम्रो वातावरण हो ।

हाअधिवेशन,सभा,सम्मेलन,जुलुसमा मानिसहरुको बाक्लो जमघट हुने थलो हुन । अहिले पनि दैनिक सयभन्दा बढी संक्रमित देखिरहेका छन्, औसतमा दुईदेखि चार जनासम्म व्यक्ति कोरोनाकै कारण ज्यान गुमाइरहेका छन् । त्यही कारण अहिले पनि हामी जोखिममा छौं । यस्ता सभा,सम्मेलन,जुलुस, अधिवेशन वा महाअधिवेशन कोरोना फैलनका लागि राम्रो वातावरण हो । कोरोना खोप नलगाएका वा लगाउन नपाएका धेरै छन् । त्यही कारण यो हात उठाएर बस्ने समय होइन । बिगतमा हामीले सगालेको अनुभवलाई लिएर अगाडि बढ्नुपर्दछ । नेताहरु भनेको समाज र देशको रोल मोडल हुनुहुन्छ । उहाँहरुले सकेसम्म कमभन्दा कम मान्छे भेला गर्ने,स्वास्थ्य मापदण्ड पालना गर्ने हो भने उहाँहरुको कुरा अन्य सर्वसाधरण र नागरिकहरुले सिक्ने र मान्ने थिए ।

दलहरुको महाअधिवेशन पछि अहिले कोभिड संक्रमितको संख्या बढेको हो ? कस्तो छ तथ्यांक ?

कोभिड संक्रमण तत्कालै देखिदैंन । महाअधिवेशन भर्खर भर्खर सकिएको हो । मेरो अनुमानमा महाअधिवेशनमा सम्मिलितहरु धेरैले खोप लगाएका हुनुपर्दछ । उहाँहरु शहरी क्षेत्र वा खोप उपलव्ध भएकै ठाउँमा हुनुहुन्थ्यो होला भन्ने मेरो अनुमान हो । यदी खोप लगाएका रहेछन भने रुघाखोकी लगायतका लक्षणमात्र देखिनसक्छ । धेरैलाई व्यक्तिगत रुपमा परामर्श दिइरहेको छु । खोप लगाइसकेका वा महाअधिवेशनपछि रुघा,खोकी लगायतका सामान्य लक्षण देखिएकाहरु केही होम आइसोलेसनमा बसेको पाएको छु ।

शुक्रराज अस्पतालमा कोरोना संक्रमितको चाप कस्तो छ?

चाप त्यस्तो देख्दिन । आइसियुमा दुई चार जना बिरामीको संख्या थपघट होला तर केही महिना अघिको झैं भरिभराउको स्थिती अहिले छैन । यसो भन्दै गर्दा पूर्ण रुपमा बेवस्था गर्न पनि भएन । हामी कोभिड संक्रमणको जोखिममा त छौं नै । अघि पनि भने,अहिले पनि दैनिक सयभन्दा बढी संक्रमित भेटिरहेका छन् । औसतमा दुई चार जनाले कोरोनाकै कारण ज्यान गुमाइरहेका छन् । विगतमा हामीले धेरै भोग्यौं । अब थोर मात्र सावधानी अपनाउन सकेको खण्डमा कोरोनाबाट बच्न सक्छौं । खोपका कारण मृत्युदर धेरै कम गर्न सकिन्छ भन्ने विदेश र नेपालकै मामलामा पनि देखिएको छ । कोरोनाको एउटा हर्कत छ, त्यही कारण प्रक्षेपण गर्न गाह्रो छ । यो परिवर्तन भइरहन्छ । आशा गरौं पहिलो वा दोश्रो लहरझैं क्षति हुने दिन आउनेछैन ।

तपाईले पहिल्यै देखि कोरोनाको तेश्रो लहर आएको खण्डमा दोश्रो लहर (डेल्टा)भन्दा वा त उग्र रुप वा नरम रुपमा आउँछ भन्नुहुन्थ्यो । के आधारमा भन्नुभएको थियो ?

आजको मितिसम्म जति पनि अनुसन्धान भएका छन् । ती अनुसन्धानका आधारमा डेल्टाजति ओमिक्रन कडा छैन भन्ने देखिएको छ । प्रारम्भिक नतिजा हेर्दा डेल्टाले जटिल अबस्था ल्याएको हो । आजको मितिमा डेल्टाभन्दा ओमिक्रोन कमजोर देखिन्छ । तर ओमिक्रन बढी फैलनसक्छ । तपाई हामी जो कोहीलाई लाग्नसक्छ । मानौं ओमिक्रोनका कारण सयमा एक जना अस्पताल भर्ना भए । यस्को संक्रमण छिटो हुने हुँदा एक हजार संक्रमित हुँदा दश जना अस्पताल भर्ना हुने भए । एक लाख संक्रमित हुँदा एक हजार अस्पताल भर्ना हुने भए अर्थात अनुपात बढ्दै जानसक्छ । त्यो हेक्का राख्नुपर्दछ । डेल्टाभन्दा ओमिक्रोन कमजोर हुनुको दुईवटा कारण हुनसक्छन्, पहिलो कोरोनाविरुद्धको खोप लगाएको कारण र धेरैभन्दा धेरै प्राकृतिक रुपमा संक्रमित भएका कारण पनि हुनसक्छ । स्वरुपको कुरा गर्ने हो डेल्टाभन्दा पनि ओमिक्रोन म्युटेसेन भएको भन्ने कुरा आएको हो । कम्तिमा ३० भन्दा बढी म्युटेसन भएको भन्ने कुराले शुरुमा विश्व नै तरंगीत भयो त्यतिखेर । मैले चाहिँ शुरुवाती चरणदेखि नै भन्दै आएको थिए कि, वा त नयाँ भाइरस डेल्टाभन्दा उग्र रुपमा आउँछ वा त पहिलाको भन्दा नरम रुपमा । जेनेटिक कोटमा धेरै चेञ्ज भयो भने,उस्को आनीबानीमा परिवर्तन हुनसक्छ । आनीबानी सदैव खराबै हुनुपर्दछ भन्ने छैन । म्युटेसेन भयो भन्दैमा पहिले नै हावाहुरीझैं तर्सिनु पनि त भएन । के थाहा पहिलेकोभन्दा झनै कमजोर भएर आएको पो छ कि ? उदाहरणका लागि छिट्टो दौडेने खेलाडीका दुईवटा छोरा जन्मियो । उस्का दुबै छोरा उजस्तै खेलाडी नै बन्छ भन्ने त हुँदनै ।

खोप लगाएका व्यक्तिहरु पनि किन कोरोना संक्रमित भइरहेका छन् ?

खोप लगाएका व्यक्तिको नाक वा घाँटीसम्ममा संक्रमण गराउन सक्छ तर फोक्सोमै क्षति पु¥याउने सम्भवना कम हुन्छ । खोप लगाउनु भनेको संक्रमित नहुनु होइन कि जटिल अबस्था आउने वा मृत्यु कम गर्दछ भनेर बुझ्नुपर्दछ ।

झण्डै आधा जनसंख्या अझैं पनि खोपबाट बञ्चित छन् तर सरकारले झण्डै एक करोड खोप स्टक राखिरहेको छ । कसरी लिनुहुन्छ ?

हामीकहाँ योजनाको कमि देख्छु । हिजो कोभिडविरुद्धको खोप ल्याउनका लागि दौडादौड गर्नुपर्ने स्थिती थियो । खोप ल्याए पछि छुट्टाछुट्टै केन्द्र खडा गरेर त्यहाँ लगाइदिने मान्छे हुनुप¥र्यो । फेरि, लगाउने मान्छेले विश्वास गर्नुप¥र्यो । मेरो व्यक्तिगत अवलोकनमा हिड्न नसक्ने,तलमाथि गर्न नसक्ने वा खोप केन्द्रसम्म पुग्न नसक्ने बूढाबूढीहरु धेरै छन् । जसमध्य कतिले त खोप लगाउन नपाएरै मृत्युवरण गर्नुपरेको छ । उहाँहरुलाई घर घरमै गएर खोप लगाइदिने व्यवस्था गर्नुपर्दछ । अर्काेथरी खोपप्रति त्यति विश्वास नभएकाहरु पनि देख्छु । कतिपय खोप लगाउन चाहन्छन तर कहाँ वितवरण भइरहेको छ भन्ने केही जानकारी नभएका वर्ग पनि छन् । खोप लगाउने काम चाहिँ युद्धस्तरमा हुनुपर्दछ ।

कोभिडका अझैं कतिवटा थप भेरियन्ट आउन सक्छन् ? यस बिषयमा केही अध्ययन वा अनुसन्धान भएको छ ?

ठ्याक्कै भन्न सकिदैंन । ओमिक्रोन पछि बिस्तारैं हराउन पनि सक्छ वा थप परिस्कृत गर्दै जिनमा म्युटिसियन गरेर पनि आउन सक्छ । यो भन्दा अघि सार्क २००२ मा देखिएर ००४ मा हरायो । त्यस्तै ठूल्ठूला माहामारी दुई वा तीन बर्ष भन्दा बढी गएको देखिदैंन । एचवान एचटु भाइरस त्यस्को पनि दोश्रो लहर कडा देखिएको थियो । बिगतको माहामारी हेर्दा कुनै पनि रोगको माहामारी तीन चार बर्ष लम्बिने देखिदैंन् । कोसभिडको हकमा पनि त्यही हो कतिपयलाई मल्टिपल इन्फेक्सन भइसकेको हुन्छ । हामीमध्ये धेरैले खोप लगाइसकेका हुन्छौं । त्यही कारण धेरै बर्षसम्म जाने देख्दिन । जस्तो अहिले पनि स्वाइन फ्ल्,सिजन सिजनमा आउने गर्दछ । कोभिड पनि त्यस्तै हुनसक्छ ।

भारतका विभिन्न राज्यमा कर्फ्यू,नेपाल खुल्ला छ । फेरि यस्तै महामारी नआउला भन्न सकिन्न । हुनेखाने त उपचारका लागि एअर एम्बुलेन्स मगाएर थाइल्यान्ड,सिङ्गापुर पुग्लान तर हुँदाखाने बर्गले गुमनाम मृत्युवरण गर्नुबाहेक अरु उपाय रहँदैन । यस्तो दृश्य देख्दा एक जना चिकित्सकका मन कतिको पोल्छ ?

मेलै आफ्नो आँखा अगाडि धेरै संक्रमित पुर्लुक्क पुर्लुक्क ढलेको देखेको छु । एउटा स्वास्थ्यकर्मीको नाताले फेरि पनि भन्छु स्वास्थ्यका मापदण्डमा पालना गर्न नभुलौं । सरकार,स्वास्थ्य मन्त्रालय चासो राख्न्ुापर्दछ । खोप लगाउने बिषयमा जनचेतना फैलाउनुपर्दछ । अबश्य एक दिन हाम्रो जीत हुनेछ । तर यस्ता माहामारी फेरि पनि आउन सक्छन् तर लडाईका लागि पहिला तयारी अबस्थामा रहनुपर्दछ । चाहे देश देशबीचको लडाई होस वा रोगसँगकै लडाई हो ।हाम्रोमा पूर्व तयारीको कमि छ ।

सीसीएमसी सुस्तायो भनिन्छ । कसरी लिनुहुन्छ,उस्का गतिविधिलाई ?

सीसीएमसी अहिलेसम्म म गएको पनि छैन,उस्को बारेमा उतिधेरै जानकार पनि छैन । सरकार वा राज्इ सदैव चनाखो रहनुपर्दछ । यो महामारी न त शुरु हो न त अन्त्य । घरीघरी यस्ता माहामारी आउन सक्छन अनेकन रुपमा । त्यस्ता माहामारीसँग लड्नका लागि फरक फरक विज्ञहरु राखेर,सक्रिय,छिटो रेस्पोन्स गर्ने मान्छेको एउटा टिम हुनुपर्दछ । तुरुन्तै निर्णय गर्नसक्ने संस्था चाहिँ हुनुपर्दछ ।हामीकहाँ त माहामारी आइसकेपछि मात्र दौडदौड गर्ने प्रचलन छ ।

स्वास्थ्यप्रति सर्वसाधरणमा कतिको जागरुकता पाउनुभएको छ ?

जस्ले जसरी भोगे र बुझे त्यसरी बुझे कोरोनालाई । एकाथरी केही होइन सबै बकबास भन्नेहरुछन्,अर्काे चाहिँ कोमिड खतरा हो भन्नेछन् । जस्का आफन्तहरु बितेका छन् उनीहरु कोरोना खतरा हो भन्छन् । जो आइसोलेसनमा बसेर अलिअलि तातोपानी खाएर ठीकठाक भए उनीहरु खासै केही होइन भन्छन् । अर्काेतिर अहिलेसम्म संक्रमति भएका छैनन,ती चाहिँ कोरोना भनेको केही होइन,हावा हो भन्ने वर्ग देखिन्छन् । कोभिडको अर्काे लहर आएको खण्डमा यो बर्ग जोखिममा पर्दछ । खोप नलगाउने वर्ग पनि यही होला । अहिले बजारतिर जाँदा,त्यहाँ भीडभाड हेर्दा कहाँ कोरोना छ र ? भन्ने भान हुन्छ । हामीले यहाँ आइसियुमा बसेर हेर्दा कोभिड संक्रमितलाई निमोनिया भएर दुबैं छात्ती संक्रमित भएर खत्तम भएको दैनिक देख्छौं । त्यही कारण कोभिडलाई मान्छेले कसरी हेरें,कसरी भोगे त्यही आधारमा उनीहरुको सोच विकसित भएको पाइन्छ ।यो नेपालमात्र होइन,विश्वकै समस्या हो । कोरोना पूर्ण रुपमा हटिसकेको छैन । यस्का अनेकन लहर र उत्तराचढाव आउने क्रम जारी छ । स्वास्थ्यका न्यूनतम मापदण्ड पूर्ण रुपमा पालना गरौं । सकेसम्म परिवारका सबैले खोप लगाऔं । सरकारले पनि खोप ल्याएर भण्डारण मात्र गर्ने होइन कि जतिसुको चाँडो युद्धस्तरमा खोप लगाऔं । बल्लबल्ल ल्याएको खोप एक्सपाएर हुने स्थिती नआओस । –इकर्मचारीबाट


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय