५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

डेल्टा भेरियन्ट भन्दा बढी सङ्क्रामक देखिएको ओमिक्रोनबाट कसरी बच्ने ?



कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ यसअघिको डेल्टा भेरियन्ट भन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराएतापनि सङ्क्रण दर तीब्र रुपमा फैलिने बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्ट जस्तै मानिसमा लक्षण हुने गरेको बताए । उनले भनेका छन्, ‘अहिले गरिरहेका अणुवांशिक अध्ययन (जीन सिक्वेन्सिङ)ले ओमिक्रोन भेरियन्ट बढ्दै गएको देखाएको छ । यो भेरियन्टमा अरु भेरियन्टका तुलनामा जटिलता कम भएपनि सङ्क्रमण गुणात्मक रुपमा धेरै हुने भएकाले जटिल हुने अनुपात बढेर जान्छ ।’

अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले पनि ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण हुने बताइन् । उनले भनेकी छन्, ‘अन्य भेरियन्टले तल्लो श्वासप्रश्वास नली वा फोक्सोमा सङ्क्रमण हुने गर्दथ्यो ।’

ओमिक्रोनले पार्ने असरका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको उनको भनाइ छ । पछिल्लो एक हप्तामा कोरोना सङ्क्रमण विश्वभर एक करोडमा पुष्टि भएको छ । यति धेरै सङ्क्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

ओमिक्रोनले कोरोना खोप लगाएका/नलगाएका दुवैलाई सङ्क्रमण हुन सक्दछ । सङ्क्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गाह्रो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ ।

यस्ता छन् बच्ने उपाय

यसबाट बच्नका लागि कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाउनाका साथै जनस्वास्थ्य मापदण्ड अर्थात भीडभाड नगर्ने, सेनिटाइजरको प्रयोग र हात साबुनपानीले पटक पटक धुनु पर्दछ । सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्नुपर्दछ ।

यस्तै सङ्क्रमणबाट बच्नका लागि सरकारले १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप एक वर्षअघिदेखि नै लगाउन थालेको छ । अहिलेसम्म नेपालमा लक्षित जनसङ्ख्याको ७६.५ प्रतिशतले पहिलो मात्रा र ५६.९ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।

यस्तै कूल जनसङ्ख्याको ५०.२ प्रतिशतले पहिलो मात्रा र ३७.३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढदै गएपछि आगामी माघ १५ गतेसम्म बन्द गर्नुका साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी जस्ता कार्यक्रम बन्द गरेको छ ।

रोकथामको तयारी

सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोमिख हुन नदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । मन्त्रालयका प्रवक्ता डा मिश्राका अनुसार ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम रोक्न अस्पताललाई आवश्यक पर्ने अक्सिजन, सघन उपचार कक्ष (आइसियु), हाई डिपेडेन्सी युनिट ९एचडियु०, भेन्टिलेटर, आइसोलेशन र स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखेको छ ।

उनका अनुसार आइसियु दुई हजार ७९७, भेन्टिलेटर एक हजार आठ र एचडियु तीन हजार ८४६ रहेका छन् । यस्तै अक्सिजन सिलिण्डर १३ हजार ९३९ र अक्सिजन कन्सटे«टर ६९३ रहेका छन् । यसैगरी २५ अक्सिजन टयाङ्कमा १९ वटा र १०७ मध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेका छन् ।

उपत्यकामा दुई हजार ४९४ आइसोलेशन शय्या, ३२४ एचडियु, ४४५ सघन उपचार कक्ष र २५४ भेन्टिलेटर रहेका छन् । मन्त्रालयले समुदायमा ओमिक्रोन भेरियन्ट पत्ता लगाउनका लागि बढीभन्दा बढी एन्टिजेन किटबाट नै परीक्षण बढाउनुका साथै निगरानी बढाएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !


रुसले युक्रेनमा आक्रमण गरे चर्को मूल्य चुकाउनु पर्ने नेटोको चेतावनी



एजेन्सी । रुसले युक्रेनको सीमामा ठूलो संख्यामा सैनिक पठाएको र उनीहरुले कुनै पनि बेला युक्रेनमा हमला गर्नसक्ने ह्वाइट हाउसले बताएको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनका लागि स्थिति निकै खतरनाक बनिरहेको जानकारी दिएकी छिन्  ।

उनका अनुसार विदेशमन्त्री एन्टनी ब्लिंकनले मंगलबार यो मुद्दामा आफ्ना समकक्षी सर्गेई लेवरोयसँग चर्चा गरेको र दुबै नेता छिट्नै जेनेभामा भेट गर्नेबारे सहमति बनेकोसमेत बताइन् । 

समाचार एजेन्सी एएफपीका अनुसार यो भेट शुक्रबार हुँदैछ । यसअघि ब्लिंकन युक्रेन र युरोपेली देशका प्रतिनिधिसँग भेटघाट गरिरहेकी छिन् । 

जेन साकीले भनिन्, ‘स्थिति असाध्यै खतरनाक भइरहेको हाम्रो मान्यता छ । हामी अब त्यो चरणमा छौँ जहाँ रुस जुनसुकै बेला पनि युक्रेनमाथि हमला गर्नसक्छ । आफ्ना समकक्षीसँगको छलफलमा विदेशमन्त्रीले यो स्थितिलाई कुटनीतिक तरिकाले हल गर्ने कुरामा जोड दिनेछन् । अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी नागरिकले उनीहरुले आर्थिक प्रतिबन्ध चाहिन्छ कि चाहिँदैन भनेर आफ्नै निश्चित गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस !

रासस र महिला आयोगको बीचमा घरबहालका विषयमा किचलो



काठमाडौं । भद्रकालीस्थित राष्ट्रिय महिला आयोगले भाडामा लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई एक फ्ल्याटको मासिक भाडा १ लाख ५२ हजार तिर्छ । आयोगले स्थापनाकालदेखि बस्दै आएको राष्ट्रिय समाचार समिति (रासस) ले तीनतले भवनको मासिक भाडा भने १ लाख ३८ हजार मात्रै तिर्दै आएको छ, जुन सरकारको प्रचलित घरबहाल दररेटभन्दा सस्तो हो ।

समग्र महिलाको मूलप्रवाहीकरण, समानता र सशक्तीकरणका लागि काम गर्दै आएको संवैधानिक आयोग २०५८ फागुन २३ मा स्थापना भएको थियो । आयोग र राससबीच २०५९ साउनमा भएको द्विपक्षीय सम्झौतामा सुरुमा वार्षिक १० लाख भाडा तिर्ने र नियमअनुसार बर्सेनि १० प्रतिशतका दरले भाडादर वृद्धि हुने सर्त थियो । सम्झौताअनुसार हाल वार्षिक भाडादर १६ लाख ५६ हजार पुगेको छ ।

दुई वर्षअघि काठमाडौं महानगरको वडा नं. ११ ले तत्कालीन महानगरको बहाल कर प्रयोजनका लागि वर्गीकरण गरेको क्षेत्रअनुसार महिला आयोग बस्ने भवन र पार्किङ क्षेत्रको घर भाडा मूल्यांकन गरेर कर तिर्न पत्र पठायो । वडाले २०७६ मंसिर २४ मा गरेको पत्राचारअनुसार आयोग बस्ने भवनको ४ हजार १ सय ८६ वर्गफिट र पार्किङ रहेको २ हजार २ सय ८१ वर्गफिटको मासिक भाडा १ लाख ९० हजारका दरले वार्षिक २२ लाख ८० हजार पर्ने हुँदा सोको १० प्रतिशत कर वडामा बुझाउनुपर्ने उल्लेख गरेको थियो । जबकि त्यतिबेलाको मूल्यांकनभन्दा वार्षिक ६ लाख २४ हजार कम दरमा आयोगले राससलाई भाडा तिर्छ ।

प्रचलित घरबहाल दररेटअनुसार भाडादर परिमार्जन गर्न सम्झौताका लागि आयोगलाई पटक–पटक ताकेता गर्दा पनि सुनुवाइ नगरेपछि राससले गत साउन ८ मा तीन महिनाको समय दिँदै भवन खाली गर्न पत्राचार नै गर्‍यो । यसअघि दुई/दुई वर्षमा नवीकरण गर्ने गरी आयोग र राससबीच बहाल सम्झौता भएको थियो । पछिल्लो सम्झौताको म्याद गत असार मसान्तमा समाप्त भइसकेको छ । भाडादर परिमार्जन गर्न आलटाल गरेपछि घर खाली गर्न पत्राचार गरिएको राससका अध्यक्ष हरिहर अधिकारी श्यामलले बताए ।

प्रतिक्रिया दिनुहोस !

नेपालमा एक हप्तामा ३८ हजार बढीमा कोरोना संक्रमण



काठमाडौं, माघ ४ । पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका हुन् । सबैभन्दा बढी मंगलबार १० हजार २५८ जना नयाँ संक्रमित थपिएका हुन् ।

दैनिक संक्रमित बढिरहेका छन् । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको सङ्ख्या पनि बढिरहेको छ ।

पछिल्लो एक हप्ताको तथ्याङ्कअनुसार पुस २८ गते तीन हजार ७५, पुस २९ गते तीन हजार ५५३, पुस ३० गते पाँच हजार ८७, माघ १ गते चार हजार ६३६, माघ २ गते चार हजार ९६१, माघ ३ गते छ हजार ७३४ सङ्क्रमण थपिएका हुन् ।

यस एकहप्ताको बीचमा सक्रिय संक्रमित हुने सङ्ख्या पनि बढेको छ । पुस २८ गते ११ हजार ६९० सक्रिय संक्रमित रहेकोमा यो सङ्ख्या बढेर आज ३९ हजार ४४ पुगेको छ ।

पुस २८ गते कूल परीक्षण गराएकामध्ये २३.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो भने मंगलबार ४४.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: