१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

रिक्सा चालकको हत्या आरोपमा पाँचजना पक्राउ



Man in handcuffs

वीरगञ्ज । यही पुस २२ गते पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वीरगञ्ज–३ छप्कैया बस्दै आएका मियाँको हत्या भएको अनुसन्धानपश्चात खुल्न आएको हो । आपसी झगडा हुँदा फलामको रिन्चले टाउकामा प्रहार गरेर मियाँको हत्या गरिएको प्रहरीले जनाएको छ ।

मियाँको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बिहारको पूर्वी चम्पारण, मोतीहारी–६ घर भई हाल वीरगञ्ज छप्कैया बस्ने ई–रिक्सा चालक सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका–५ बस्ने निकेश पटेल, बिहारको मुङ्गेरका घर भई वीरगञ्ज छप्कैया बस्ने सपन मण्डल, भारत बिहार घर भई वीरगञ्ज छप्कैया बस्ने नाजिर हुसैन र छप्कैया बस्ने बाबर हुसैनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले अनुसन्धानका क्रममा मियाँको हत्या भएको खुल्न आएको र हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिएको बताउनुभयो । मृतक मियाँ र पक्राउ परेका मण्डल एउटै घरमा डेरा गरी बस्दै आएका थिए ।

उनीहरुबीच केही दिनअघि झगडा भएपछि मण्डलले मियाँको हत्या गरी फालिदिने भनी धम्की दिएका थिए । मण्डलले सुनिललाई भेटी मियाँको हत्या गर्न रु ५० हजार दिएको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ । मियाँको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिए पनि एक जना भारतीय नागरिक फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


मुलुकलाई आर्थिक सम्वृद्धितर्फ डोर्‍याउनुपर्छ : उपेन्द्र यादव



जनकपुरधाम, १३ माघ

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्लदोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अव आर्थिक सम्वृद्धिको बाटोमा मुलुकलाई डोर्‍याउनुपर्ने बताएका छन् ।

धनुषाको लक्ष्मिनियामा बिहीबार सेन्ट्रल अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अधिकार प्राप्त हुन अझै बाँकी रहे पनि विगतका आन्दोलनबाट प्राप्त संघीय व्यवस्थालाई मजबुत बनाई अब आर्थिक सम्वृद्धितर्फ अगाडी बढ्नुपर्ने बताए ।

आर्थिक बिना सम्वृद्धि प्राप्त नहुने बताउँदै अध्यक्ष यादवले भने, ‘सम्वृद्धिसँगै गरिबी, बेरोजगारी जस्ता समस्या समाधान हुन्छ । त्यसकारण अव आर्थिक सम्वृद्धितर्फ अगाडी बढ्नुपर्ने समय आएको छ ।’ निजी क्षेत्र र सहकारी क्षेत्रको सहयोगले पनि मुलुकलाई आर्थिक सम्वृद्धिको बाटोमा अगाडी बढाउन सकिने उनले बताए ।

विकासशील मुलुकलाई अगाडी बढाउन निजी क्षेत्र र सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने गरेको पनि बताए । ‘नेपालमा भाषा, अनुहार, जातजाति, धर्म सांस्कृतिक, समुदाय, परम्पराका हिसाबले विभेद अझै जारी नै रहेको छ,’ उनले भने, ‘यी विभेदलाई चिर्दे अगाडी बढ्नु अहिलेको आवश्यकता हो ।’ समाज परिवर्तनको लागि शिक्षा र स्वास्थ्य महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष यादवले भने, ‘समाज शिक्षित भएको खण्डमा गरिबी, बेरोजगारी जस्ता समस्या बिस्तारै बिस्तारै समाप्त हुँदै जान्छ र देश सम्वृद्धिको बाटोमा अगाडी बढ्छ ।’

सेन्ट्रल अस्पतालका अध्यक्ष विजय झाले आफूहरूले सेन्ट्रल अस्पताललाई मुलुककै नमुना अस्पतालको रूपमा विकास गर्ने योजना बनाएको बताए । अस्पताल सञ्चालन गर्ने आफ्नो पुरानो सपना रहेको बताउँदै झाले अहिले सरकारबाट सय शय्याको अनुमति पाए पनि थप एक सय शय्याको लागि फाइल अगाडी बढाई सकेको बताए ।

अस्पतालमा एनआइसीसु, आइसीयु, ओपिडी, क्यान्सर सम्बन्धी रोगको उपचार, ल्यसपोकोपि तथा अन्य रोगको सहुलियत मूल्यमा उपचार गरिने उनले बताए ।

यसैबीच, कार्यक्रममा सेन्ट्रल अस्पतालका अध्यक्ष विजय झाले जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनले जसपाको सिद्धान्त र उपेन्द्र यादवको विचारबाट प्रभावित भएर आफू जसपामा प्रवेश गरेको बताए ।

कार्यक्रममा प्रदेशका पूर्व मन्त्री ज्ञानेन्द्रकुमार यादव, जसपाका केन्द्रीय सदस्य महाजन यादव, प्रदेश सांसद चमेलीदेवी दास, लक्ष्मिनिया गाउँपालिका अध्यक्ष विन्देश्वर यादवलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !

अनुमतिबिना कसैको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने



काठमाडौ । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति÷अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको हो ।

सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले नागरिकलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृहमन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।

सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने उसको ठहर छ ।

प्रतिक्रिया दिनुहोस !

काठमाडौंको कीर्तिपुरमा एक जना मृत अवस्थामा फेला



काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा एक जना मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका अनुसार कोठामा गएराति सुतेका रामेछापका ३६ वर्षीय शंकर खत्री मृत अवस्थामा भेटिएका हुन् ।

खाना खाएर सुतेका खत्रीले आज विहानसम्म ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो । कोठामा भित्रबाट चुकुल लगाइएको प्रहरीले जनाएको छ ।

खत्री नगरपालिकाको नयाँ भवनमा रंग लगाउने काम गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: