५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

सिंहदरबारमा भीड कम, कर्मचारी व्यस्त काम चुस्त



कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेश गर्न यसअघि दिइएका सबै प्रकारका पास रद्द गरेपछि बिहीबार सरकारको मुख्य प्रशासनिक केन्द्रमा हुने काम र मानिसको चाप घटेको छ । कर्मचारीबाहेक अरूले सिंहदरबार प्रवेश गर्न नपाएपछि मन्त्रालयभित्र मात्र होइन, सिंहदरबार परिसरका सडक पनि खालीजस्तै देखिन्थे भने सबै मन्त्रालयका चिया पसलमा पनि खासै भीडभाड थिएन । राजनीतिक भेटघाट र अन्य कामका लागि आउनेहरूको पास रद्द भएपछि मन्त्रालयहरूमा भीड पनि घटेको छ । बिहीबार दिनभरि प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनकराज भट्टको टेबलमा खासै फाइलको चाङ थिएन । सिंहदरबारस्थित उहाँको सचिवालयमा कार्यालयका कर्मचारीबाहेक अरू मान्छे पनि थिएनन् ।

प्रधानमन्त्रीको भेटघाटको तिथिमिति तय, कार्यक्रमको व्यवस्थापन, कर्मचारी सरुवा, योजनामा बजेटका लागि सिफारिस, आयोग, प्रतिष्ठानका कामकारबाही, वैदेशिक भ्रमण, मन्त्रिपरिषद्मा लैजाने प्रस्ताव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धलगायतका दर्जनौँ प्रकृतिका काममा सधैँ व्यस्त हुनुपर्ने प्रधानमन्त्रीको निजी सचिवालयमा दैनिक सयौँ फाइलको चाङ लाग्ने गर्छ । तर बिहीबार भने सचिवालयमा सिंहदरबारभित्र रहेका मन्त्रालयहरूबाट प्राप्त हुने फाइल, चिठ्ठीपत्रबाहेक खासै कामको चाप देखिएन ।

कामको विषय र प्रकृति हेरेर सिंहदरबार र प्रधानमन्त्रीको निवास बालुवाटारसम्म धाउने व्यक्तिहरूको भीड लाग्ने प्रधानमन्त्रीको सचिवालय बिहीबार सुनसानझैँ थियो । अत्यावश्यक सबै खालका फाइलको काम भइरहेको बताउँदै निजी सचिव भट्टले नियमित काम गरेर पनि ‘कोभिडबाट जोगिन्छ कि’ भन्ने महसुस भइरहेको बताउनुभयो ।

कोरोना सर्ने डर कम

आर्थिक रकमान्तर, बजेट निकासा, थप बजेटको व्यवस्थापन, नयाँ योजनालगायतका मागहरू राखेर मन्त्रालयमा आउने फाइलमा सधैँ व्यस्त हुने अर्थमन्त्री जनार्दन शर्माका निजी सचिव धनबहादुर बरुवालले पनि बिहीबार निकै सहज महसुस गरेको अनुभव सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोनाको डर भइरहेका बेला बिहीबार मन्त्रालयमा खासै मान्छे आएनन् । सिंहदरबारभित्रैका फाइल आउने क्रम यथावत् भए पनि सिंहदरबार बाहिरबाट आउने व्यक्तिको प्रवेश रोकिएकाले कोरोना सर्ने डर कम भएको छ ।”

दुुई हजार पास रद्द

सरकारी कर्मचारी, नेपालस्थित विदेशी कूूटनीतिक नियोगका कर्मचारी, अन्तर्राष्ट्रिय सहयोगी तथा दाता संस्थाका कर्मचारी, नेपाल बार एसोसिएसनका सदस्य, सूचना विभागबाट जारी गरिएका पत्रकारहरूलाई परिचयपत्रका आधारमा सिंहदरबारभित्र प्रवेश गराउने व्यवस्था सरकारले गर्दै आएको छ ।

त्यसबाहेक स्थायी, अस्थायी प्रवेश पास तथा परिचय पत्र जारी गरेर र दैनिकजसो सबै मन्त्रालयबाट दक्षिण गेटमा नाम टिपाएर प्रवेश गराउने व्यवस्था हुँदै आएको थियो । दैनिकजसो औसतमा कर्मचारीबाहेक सिंहदरबारभित्र दुई हजार व्यक्ति आवतजावत गर्ने गरेको गृह मन्त्रालयले जनाएको छ ।

सिंहदरबारबाट सञ्चालन हुने अत्यावश्यक कामलाई प्रभाव नपर्ने गरी बिहीबारदेखि गरिएको प्रवेशको कडाइले सिंहदरबारभित्र कोरोनाको प्रसार कम हुने वातावरण सिर्जना भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताउनुभयो । गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाको भनाइमा पनि सिंहदरबारमा देखिने भीडभाड कम भएकाले यसले कोरोना सङ्क्रमण नियन्त्रण गर्न सहज पुग्ने देखिएको छ । उहाँले भन्नुभयो, “खासै महìवपूर्ण काम नभए पनि भेटघाटकै लागि आउने मानिस मन्त्रालयहरूमा आउनबाट रोकिएका छन्, जसले गर्दा सिंहदरबारभित्र कोरोनाको सङ्क्रमण हुने डर निकै कम भएको छ । काममा झन् चुस्तता आएको छ । कोरोना सर्ने चरणमा पुगेका बेला यो व्यवस्था अझै केही समय यथावत् राख्नुपर्ने देखिएको छ ।”

यसअघि प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको कोभिड–१९ निर्देशक समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव पोखेरलले सिंहदरबारको आवागमनलाई नियन्त्रण गर्न सके मुलुकको मुख्य प्रशासनिक निकायमा कोरोनाको प्रभाव कम हुने सुझाव दिनुभएको थियो । सो बैठकपछि बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले सिंहदरबारभित्रको प्रवेशलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो । –साभार- गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस !


रुसले युक्रेनमा आक्रमण गरे चर्को मूल्य चुकाउनु पर्ने नेटोको चेतावनी



एजेन्सी । रुसले युक्रेनको सीमामा ठूलो संख्यामा सैनिक पठाएको र उनीहरुले कुनै पनि बेला युक्रेनमा हमला गर्नसक्ने ह्वाइट हाउसले बताएको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनका लागि स्थिति निकै खतरनाक बनिरहेको जानकारी दिएकी छिन्  ।

उनका अनुसार विदेशमन्त्री एन्टनी ब्लिंकनले मंगलबार यो मुद्दामा आफ्ना समकक्षी सर्गेई लेवरोयसँग चर्चा गरेको र दुबै नेता छिट्नै जेनेभामा भेट गर्नेबारे सहमति बनेकोसमेत बताइन् । 

समाचार एजेन्सी एएफपीका अनुसार यो भेट शुक्रबार हुँदैछ । यसअघि ब्लिंकन युक्रेन र युरोपेली देशका प्रतिनिधिसँग भेटघाट गरिरहेकी छिन् । 

जेन साकीले भनिन्, ‘स्थिति असाध्यै खतरनाक भइरहेको हाम्रो मान्यता छ । हामी अब त्यो चरणमा छौँ जहाँ रुस जुनसुकै बेला पनि युक्रेनमाथि हमला गर्नसक्छ । आफ्ना समकक्षीसँगको छलफलमा विदेशमन्त्रीले यो स्थितिलाई कुटनीतिक तरिकाले हल गर्ने कुरामा जोड दिनेछन् । अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी नागरिकले उनीहरुले आर्थिक प्रतिबन्ध चाहिन्छ कि चाहिँदैन भनेर आफ्नै निश्चित गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस !

रासस र महिला आयोगको बीचमा घरबहालका विषयमा किचलो



काठमाडौं । भद्रकालीस्थित राष्ट्रिय महिला आयोगले भाडामा लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई एक फ्ल्याटको मासिक भाडा १ लाख ५२ हजार तिर्छ । आयोगले स्थापनाकालदेखि बस्दै आएको राष्ट्रिय समाचार समिति (रासस) ले तीनतले भवनको मासिक भाडा भने १ लाख ३८ हजार मात्रै तिर्दै आएको छ, जुन सरकारको प्रचलित घरबहाल दररेटभन्दा सस्तो हो ।

समग्र महिलाको मूलप्रवाहीकरण, समानता र सशक्तीकरणका लागि काम गर्दै आएको संवैधानिक आयोग २०५८ फागुन २३ मा स्थापना भएको थियो । आयोग र राससबीच २०५९ साउनमा भएको द्विपक्षीय सम्झौतामा सुरुमा वार्षिक १० लाख भाडा तिर्ने र नियमअनुसार बर्सेनि १० प्रतिशतका दरले भाडादर वृद्धि हुने सर्त थियो । सम्झौताअनुसार हाल वार्षिक भाडादर १६ लाख ५६ हजार पुगेको छ ।

दुई वर्षअघि काठमाडौं महानगरको वडा नं. ११ ले तत्कालीन महानगरको बहाल कर प्रयोजनका लागि वर्गीकरण गरेको क्षेत्रअनुसार महिला आयोग बस्ने भवन र पार्किङ क्षेत्रको घर भाडा मूल्यांकन गरेर कर तिर्न पत्र पठायो । वडाले २०७६ मंसिर २४ मा गरेको पत्राचारअनुसार आयोग बस्ने भवनको ४ हजार १ सय ८६ वर्गफिट र पार्किङ रहेको २ हजार २ सय ८१ वर्गफिटको मासिक भाडा १ लाख ९० हजारका दरले वार्षिक २२ लाख ८० हजार पर्ने हुँदा सोको १० प्रतिशत कर वडामा बुझाउनुपर्ने उल्लेख गरेको थियो । जबकि त्यतिबेलाको मूल्यांकनभन्दा वार्षिक ६ लाख २४ हजार कम दरमा आयोगले राससलाई भाडा तिर्छ ।

प्रचलित घरबहाल दररेटअनुसार भाडादर परिमार्जन गर्न सम्झौताका लागि आयोगलाई पटक–पटक ताकेता गर्दा पनि सुनुवाइ नगरेपछि राससले गत साउन ८ मा तीन महिनाको समय दिँदै भवन खाली गर्न पत्राचार नै गर्‍यो । यसअघि दुई/दुई वर्षमा नवीकरण गर्ने गरी आयोग र राससबीच बहाल सम्झौता भएको थियो । पछिल्लो सम्झौताको म्याद गत असार मसान्तमा समाप्त भइसकेको छ । भाडादर परिमार्जन गर्न आलटाल गरेपछि घर खाली गर्न पत्राचार गरिएको राससका अध्यक्ष हरिहर अधिकारी श्यामलले बताए ।

प्रतिक्रिया दिनुहोस !

नेपालमा एक हप्तामा ३८ हजार बढीमा कोरोना संक्रमण



काठमाडौं, माघ ४ । पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका हुन् । सबैभन्दा बढी मंगलबार १० हजार २५८ जना नयाँ संक्रमित थपिएका हुन् ।

दैनिक संक्रमित बढिरहेका छन् । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको सङ्ख्या पनि बढिरहेको छ ।

पछिल्लो एक हप्ताको तथ्याङ्कअनुसार पुस २८ गते तीन हजार ७५, पुस २९ गते तीन हजार ५५३, पुस ३० गते पाँच हजार ८७, माघ १ गते चार हजार ६३६, माघ २ गते चार हजार ९६१, माघ ३ गते छ हजार ७३४ सङ्क्रमण थपिएका हुन् ।

यस एकहप्ताको बीचमा सक्रिय संक्रमित हुने सङ्ख्या पनि बढेको छ । पुस २८ गते ११ हजार ६९० सक्रिय संक्रमित रहेकोमा यो सङ्ख्या बढेर आज ३९ हजार ४४ पुगेको छ ।

पुस २८ गते कूल परीक्षण गराएकामध्ये २३.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो भने मंगलबार ४४.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: