१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

वैदेशिक रोजगारबाट फर्केका युवाहरु तरकारी खेतीमा आकर्षित भएपछि तरकारीमय ठोका गाउँ



धनकुटा नगरपालिका ४ ठोकाका श्रवण कुमार आठपहरिया बारीमा रहेका काउली, खोर्सानी टिपेर बेच्ने तयारीमा छन। ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ,’ काउली काट्दै गरेका आठपहरियाले भने, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु।’

आठपहरियालाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ। तरकारी बेचेर यो वर्ष ७ लाख घर भित्रिने उनको अनुमान छ। अहिले उनले ६ रोपनी बारीमा तरकारी खेती गरेका छन। आठपहरिया मात्रै होइन, ठोकाका अधिकांश कृषकले सिजन अनुसारको तरकारी बाली लगाउने गरेका छन।

केही क्षेत्रफलमा अकबरे खोर्सानी लगाउँदै आएका सोही ठाउँका सुजन आठपहरियाको परिवारले छ महिनाको अवधिमा ७ लाखको अकबरे खोर्सानी बेचिसकेको छ। ‘विक्री नहुने सम्भावना नै छैन,’ उनले भने, ‘बारीमै अकबरे खोर्सानी उठाउन आउँछन।’

श्रवण र सुजनजस्ता वैदेशिक रोजगारीबाट फर्केका धनकुटाको ठोकाका युवाले गाउँ नै तरकारीमय बनाएका छन। ठोकाका अधिकांश युवा वैदेशिक रोजगारबाट फर्केर अरुलाई प्रोत्साहन गर्दै तरकारी खेती गरिरहेका हुन। धनकुटामा बैदेशिक रोजगारबाट फर्केका युवा कृषि कर्ममा लाग्ने चलन बढ्न थालेको छ। तरकारी खेतिमा लागेर धनकुटाको ठोकाका युवाले गाउँलाई नै तरकारीमय बनाएका छन। युवाले आलु, काउली, बन्दा, प्याज, टमटर, अकबरे खुर्सानी लगायत तरकारी उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेका छन। विदेशमा हुने कमाइ भन्दा तरकारी खेतीबाट यहीँ राम्रो आम्दानी हुने गरेको उनीहरुको अनुभव छ।

तरकारी विक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ। खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन।

विदेशको रोजगारी छोडेर स्वदेशमै अर्गानिक तरकारी खेतीमा धनकुटाको ठोकाको युवाको आकर्षण बढ्न थालेको छ। व्यवसायिक रुपमा तरकारी खेतीबाट मनग्ये आम्दानी हुन थालेपछि आकर्षण बढेको हो। छोटो समयमा राम्रो आम्दानी हुन थालेपछि विदेशिन लागेका युवा पनि तरकारी खेतीमा आकर्षित हुन थालेका छन। रसायनिक विषादी प्रयोग गरेका तरकारीले स्वास्थ्यमा प्रतिकुल असर परेकोले विदेशबाट फर्केका युवाले अर्गानिक तरकारी खेतीमा ध्यान दिएको कृषक अगमशेर आठपहरियाले बताए। रसायनिक विषादी प्रयोग बन्द गरेर वनस्पतीका पातहरुबाट बनाइएको जैविक विषादी प्रयोग गरिरहेको उनको भनाइ छ।

धनकुटा नगरपालिका वडा नं. ४ ले ठोका क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि खेती गर्नेको संख्या बढेको छ। धनकुटा नगरपालिका–४ का वडाध्यक्ष जमशेर आठपहरियाका अनुसार ठोकाका स्थानीय किसानले तरकारी बेचेर मात्रै वार्षिक एक करोड रुपैयाँभन्दा बढी गाउँ भित्र्याउने गरेका छन।

‘कृषि पकेट क्षेत्र कार्यक्रम मार्फत वडाले केही बजेट विनियोजन गरेको छ।’ वडाध्यक्ष आठपहरियाले भने, ‘त्यस्तै कृषि ज्ञान केन्द्रबाट मिनिटिलर टनेल लगायतका सामग्री वितरण भएको छ। यसले कृषकको आम्दानी झन बढ्ने अनुमान छ।’

ठोकाका अधिकांश स्थानीयले तरकारी खेती गरिरहेका छन। किसानले उत्पादन गरेका तरकारी धनकुटा बजारसहित तराईका विभिन्न जिल्लामा पुग्ने गरेको छ। किसानले उत्पादन गरेको तरकारी लिन व्यापारीहरु गाडी लिएर गाउँमै आउने गरेको वडाध्यक्ष आठपहरियाले बताए।


प्रतिक्रिया दिनुहोस !


राष्ट्रियसभा निर्वाचनमा दलीय ह्वीप उल्लंघन, क्रसभोट हाबी, गठबन्धनमा शंका



काठमाडौं । राष्ट्रियसभामा खाली १९ मध्ये १८ सीट हत्याउन सफल भएपनि चुनावी प्रक्रियामा व्यहोर्नुपरेको घात, अन्तर्घातका घटना पाँच दलीय गठबन्धनका लागि अप्रत्यासित बनेको छ । आगामी तीन चुनावमा समेत गठबन्धनका लागि हौसिएका सत्तारुढ दल र अन्तरपार्टी क्रसभोटको अन्तरकथा भोगेको एमालेका लागि पनि यो ठूलो शिक्षा हो । चुनावमा देखिएको दृश्यले पार्टीभित्र गुट, उपगुटको राजनीति कति हावी छ भन्ने स्पष्ट हुन्छ ।

दलीय हिसाब विपरीत प्रदेश १ कोएक सिटमा भने नेकपा एमालेका उम्मेदवार अप्रत्याशित रूपमा विजयी बने । प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेको यो चुनावमा कतै मत बदर भयो भने कतै गठबन्धन र एमाले दुबैतिर क्रस भोटिङ भयो । क्रस भोटिङ एवं अन्तरघात हुँदा प्रदेश एकबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भए । जित एमालेका सोनाम ग्याल्जेन शेर्पाको नाममा लेखियो । गठबन्धनमा अन्तरघात भएको परिणाम कांग्रेसका गोपाल बस्नेत र एमालेका गुरु बरालबीच बराबर मत आयो । भोट नभई भाग्य बलियो हुँदा सांसद नामको विशेषण बस्नेतका नाममा फाप्यो । मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सबै प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गरेर क्षेत्रीय, वर्गीय, नातागोतामा मत विभाजित भएको देखिन्छ ।

अपवादलाई छाडेर प्रायः धेरैवटा प्रदेशमा गठबन्धनमा सहभागी कम्युनिस्ट उम्मेदवार भन्दा कांग्रेस उम्मेदवारले कम मत पाएका छन् । प्रदेश १ मा धोका पाएको जनता समाजवादी पार्टीले प्रदेश २ मा माओवादी भन्दा बढी भोट पाएको छ । सातै प्रदेशको नतिजा हेर्दा क्रस भोटिङको बाहुल्य बाक्लो छ ।

उति नै मतभार रहेका ठाउँमा गठबन्धनका उम्मेदवारले फरक–फरक मत पाएको तथ्याङ्क हेर्दा सत्तारुढ गठबन्धनमा अनुशासन पालना नभएको स्पष्ट देखिन्छ । प्रदेश सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुखहरूले नै गठबन्धन नहेरी जथाभावी भोट हालेको पाइएको छ । त्यस्तै अरूको भोट पाएर जितेका जनप्रतिनिधि स्वयंको भोट बदर भएको छ । गठबन्धनको सहमतिमा बनेका उम्मेदवारको भोट संख्या नै आकाश जमिन फरक पर्नु दलीय व्हीपले काम नगर्नु हो ।

गठबन्धन दलमा मात्रै होइन, एमालेमा पनि अन्तरघात भएको पाइएको छ । जस्तो– प्रदेश १ मा एमालेकी सुमित्रा भण्डारीले आफ्नै चारजना प्रदेश सांसदको भोट पाउनु भएन । एकीकृत समाजवादीकी जयन्ती राईलाई एमालेले पनि भोट हाले । अन्य प्रदेशमा पनि एमालेको भोट गठबन्धनतिर गएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा



काठमाडौं । जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

अनुमतिबिना कसैको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने



काठमाडौ । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति÷अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको हो ।

सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले नागरिकलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृहमन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।

सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने उसको ठहर छ ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: