१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

मेलौलीमा रहेकाे तस्वदेही प्रहरी कार्यालय (क) श्रेणीमा स्तरोन्नति गर्ने गृह मन्त्रालयकाे निर्णय



बैतडी, ३० पुस

बैतडीको मेलौलीमा (क) श्रेणीको इलाका प्रहरी कार्यालय स्थापना हुने भएको छ । मेलौली नगरपालिका र जिल्ला प्रशासन कार्यालय बैतडीको सिफारिसका आधारमा मेलौलीमा रहेको तस्वदेही प्रहरी कार्यालय स्तरोन्नति गर्न गृह मन्त्रालयले निर्णय गरेको हो ।

२०१६ सालमा स्थापना भएको प्रहरी कार्यालयले हालसम्म तल्लोसोराड क्षेत्रका तीन स्थानीय तहहरू मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा शान्ती सुरक्षा प्रदान गर्दै आएको छ । इलाका प्रहरी कार्यालय(क) वर्गमा स्तरोन्नति भएमा प्रहरी निरीक्षकको समेत दरवन्दी हुनेछ । प्रहरी कार्यालयलाई स्तरोन्नति गर्न विगतदेखि बैतडीका सरोकारवाला निकायले माग गर्दै आएका थिए ।

मेलौली नगरपालिकाका साथै तल्लोसोराड क्षेत्रका राजनीतिकर्मीहरूले बेलाबेलामा इप्रकाको स्तरोन्नतिका लागि पहल गर्दै आएको नेपाली कांग्रेसका प्रदेश सदस्य तेजबहादुर चन्दले बताए । पटक पटक लिखित र मौखिक पहल गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले उक्त प्रहरी कार्यालयलाई स्तरोन्नतिका लागि निर्देशन दिएको नेता चन्दले बताए ।

यसअघि मेलौली-५ घर भएका एमालेका केन्द्रीय सदस्य तथा बैतडी इन्चार्ज पुरनसिंह दयाल सभासद् भएका बखतदेखि प्रहरी कार्यालय स्तरोन्नतिको माग गर्दै आएका थिए ।

विगतमा (ख)श्रेणीका रूपमा रहेको तस्वदेही इलाका प्रहरी कार्यालयलाई स्तरोन्नति गर्न गत वर्षको फागुनमा जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको बताइएको छ । उक्त निर्णय र सिफारिसका आधारमा संरचना निर्माण गर्न पत्र प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । ७६ हजारभन्दा बढी जनसंख्या रहेको तल्लो सोराड क्षेत्रको मेलौली र पुर्चौडी हाटमा इप्रका निर्माण गर्ने निर्णय गरिएको उनले बताए ।

इलाका प्रहरी कार्यालयको स्तरोन्नति भएमा तल्लो सोराडवासीलाई घर नजिकै प्रशासनिक सेवा लिन सहज हुने मेलौली नगरपालिकाका नगर प्रमुख कृष्णसिंह नायकले बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय