१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

रसुवामा बालबालिकालाई लगाउन ल्याइएको करिब १५ सय डोज खोप फिर्ता



रसुवा, ३० पुस

रसुवामा बालबालिकालाई लगाउन ल्याइएको कोरोनाविरुद्धको करिब १५ सय डोज मोडर्ना खोप फिर्ता पठाइएको छ । जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउन ल्याइएको खोपमध्ये १४ सय ९० डोज स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखामा फिर्ता पठाइएको हो ।

गत ११ देखि १८ पुससम्म जिल्लाको पाँचवटै गाउँपालिकाको ४३ वटा माध्यमिक तहका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । तर तोकिएको लक्ष्यअनुसार प्राप्त तथ्यांकका बालबालिकाले खोप लगाउन नआउँदा खोप फिर्ता गर्नुपरेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए । ‘पुस ११ देखि १३ गतेसम्म खोप अभियान रहेको थियो, हामीले पाँच दिन थप गरेर १८ गतेसम्म खोप अभियान सञ्चालन गर्‍याैं, विवरणअनुसार पाँचवटै गाउँपालिकाका सबै बालबालिका खोप लगाउन आएनन्,’ उनले भने ।

गत बुधबार बाँकी रहेका सबै खोप स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखामा फिर्ता पठाइएको उनले बताए । ‘मोडर्ना खोप एक महिनासम्ममा लगाइसक्नुपर्ने हुन्छ, ४८ सय डोज खोप ल्याइएका थियौ, लक्ष्यअनुसारको विद्यार्थी नआएपछि १४ सय ९० डोज फिर्ता गर्‍याैं, एउटा भाइल खोपले ११ जनासम्मलाई लगाउन सकिन्छ,’ उनले भने, ‘१८ वर्ष माथिका नागरिकलाई लक्ष्यअनुसारको लगाइयो, तर १२ देखि १७ वर्षसम्मका बालबालिकाको तथ्यांकमा लक्ष्यअनुसार लगाउन सकिएन ।’

स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा १२ देखि १७ वर्षसम्मका चार हजार ासत सय ४३ जना बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने लक्ष्य रहेको थियो । जसमध्ये ३४ सय तीनजना बालबालिकाले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् ।

जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका चार सय २७ जना बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको थियो । जसमध्ये दुई सय ४८ जना बालबालिकाले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् । जुन लक्ष्यको ५८ दशमलब शून्य ७ प्रतिशत हो । गोसाइँकुण्ड गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका आठ सय ७० जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा पाँच सय ८८ जना बालबालिकाले मात्र खोप लगाएका छन् । जुन लक्ष्यको ६७ दशमलब ५८ प्रतिशत हो ।

नौकुण्ड गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका १२ सय ७१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा आठ सय ४१ जना बालबालिकाले मात्र खोप लगाएका छन् । जुन लक्ष्यको ६६ दशमलब १६ प्रतिशत हो । त्यसैगरी कालिका गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका १४ सय २४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा ११ सय १६ जनाले मात्र खोप लगाएका छन् । जुन लक्ष्यको ७८ दशमलब ३७ प्रतिशत हो । उत्तरगया गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका सात सय ५१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा ६ सय १० जनाले मात्र खोप लगाएका छन् । जुन लक्ष्यको ८१ दशमलब २२ प्रतिशत हो ।

यो तथ्याकं हेर्ने हो भने जिल्लामा लक्ष्यको तुलनामा ७१ दशमलब ७४ प्रतिशत १२ देखि १७ वर्षसम्मका बालबालिकाले खोप लगाएको पाइएको छ । जुन लक्ष्यको तुलनामा २८ दशमलब २६ प्रतिशत बालबालिकाले भने खोप नलगाएको देखिएको छ । जिल्लामा रहेको पाँचवटै गाउँपालिकाको शिक्षा शाखाबाट विद्यार्थीको विवरण माग गरिएकोमा प्राप्त विवरणअनुसारको विद्यार्थीले खोप नलगाएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए । ‘गाउँपालिकाको शिक्षा शाखाबाट बिद्यार्थी संख्या माग गरेका थियौ, लक्ष्यअनुसारको विद्यार्थीले खोप लगाउनै आएनन्,’ उनले भने, ‘कतिपय भर्ना भएको तर नियमित विद्यालय नआउने गरेको र कतिपय बसाईसराई गरी अन्यन्त्र गएको र अपडेट नभएको भन्ने पाइयो ।’

जिल्लामा मोडर्ना खोप लगाएका बालबालिकामा ज्वरो आएको पाइए पनि खोपले कुनै असर नगरेको उनले बताए । ‘नयाँ खोप हो, कुनै समस्या परेमा समाधानका लागि जिल्लाको पाँच वटा गाउँपालिकामा एक एक जना डाक्टर तोकेका थियौ, एकदिन जति ज्वरो आएको पाइयो यसबाहेक कुनै असर छैन,’ उनले भने,।

जिल्लामा खोप लगाएका बालबालिकालाई २८ दिनपछि पुन: दोस्रो डोजको खोप दिने तयारी भइरहेको उनले बताए । ९ माघबाट दोस्रो डोजको खोप अभियान सुरु गरिने उनको भनाइ छ । स्वास्थ्य कार्यालय रसुवाले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको विवरण मागेको गाउँपालिकाका शिक्षा शाखाहरूले बताएका छन् । ६ देखि १२ कक्षासम्मका विद्यार्थीको विवरण मागे पनि उमेर समूहको नभन्दा विवरणअनुसार नभएको हुनसक्ने गोसाइँकुण्ड गाउँपालिकाको शिक्षा शाखाका प्रमुख धुब्रप्रसाद लामिछानेले बताए ।


प्रतिक्रिया दिनुहोस !


राष्ट्रियसभा निर्वाचनमा दलीय ह्वीप उल्लंघन, क्रसभोट हाबी, गठबन्धनमा शंका



काठमाडौं । राष्ट्रियसभामा खाली १९ मध्ये १८ सीट हत्याउन सफल भएपनि चुनावी प्रक्रियामा व्यहोर्नुपरेको घात, अन्तर्घातका घटना पाँच दलीय गठबन्धनका लागि अप्रत्यासित बनेको छ । आगामी तीन चुनावमा समेत गठबन्धनका लागि हौसिएका सत्तारुढ दल र अन्तरपार्टी क्रसभोटको अन्तरकथा भोगेको एमालेका लागि पनि यो ठूलो शिक्षा हो । चुनावमा देखिएको दृश्यले पार्टीभित्र गुट, उपगुटको राजनीति कति हावी छ भन्ने स्पष्ट हुन्छ ।

दलीय हिसाब विपरीत प्रदेश १ कोएक सिटमा भने नेकपा एमालेका उम्मेदवार अप्रत्याशित रूपमा विजयी बने । प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेको यो चुनावमा कतै मत बदर भयो भने कतै गठबन्धन र एमाले दुबैतिर क्रस भोटिङ भयो । क्रस भोटिङ एवं अन्तरघात हुँदा प्रदेश एकबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भए । जित एमालेका सोनाम ग्याल्जेन शेर्पाको नाममा लेखियो । गठबन्धनमा अन्तरघात भएको परिणाम कांग्रेसका गोपाल बस्नेत र एमालेका गुरु बरालबीच बराबर मत आयो । भोट नभई भाग्य बलियो हुँदा सांसद नामको विशेषण बस्नेतका नाममा फाप्यो । मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सबै प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गरेर क्षेत्रीय, वर्गीय, नातागोतामा मत विभाजित भएको देखिन्छ ।

अपवादलाई छाडेर प्रायः धेरैवटा प्रदेशमा गठबन्धनमा सहभागी कम्युनिस्ट उम्मेदवार भन्दा कांग्रेस उम्मेदवारले कम मत पाएका छन् । प्रदेश १ मा धोका पाएको जनता समाजवादी पार्टीले प्रदेश २ मा माओवादी भन्दा बढी भोट पाएको छ । सातै प्रदेशको नतिजा हेर्दा क्रस भोटिङको बाहुल्य बाक्लो छ ।

उति नै मतभार रहेका ठाउँमा गठबन्धनका उम्मेदवारले फरक–फरक मत पाएको तथ्याङ्क हेर्दा सत्तारुढ गठबन्धनमा अनुशासन पालना नभएको स्पष्ट देखिन्छ । प्रदेश सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुखहरूले नै गठबन्धन नहेरी जथाभावी भोट हालेको पाइएको छ । त्यस्तै अरूको भोट पाएर जितेका जनप्रतिनिधि स्वयंको भोट बदर भएको छ । गठबन्धनको सहमतिमा बनेका उम्मेदवारको भोट संख्या नै आकाश जमिन फरक पर्नु दलीय व्हीपले काम नगर्नु हो ।

गठबन्धन दलमा मात्रै होइन, एमालेमा पनि अन्तरघात भएको पाइएको छ । जस्तो– प्रदेश १ मा एमालेकी सुमित्रा भण्डारीले आफ्नै चारजना प्रदेश सांसदको भोट पाउनु भएन । एकीकृत समाजवादीकी जयन्ती राईलाई एमालेले पनि भोट हाले । अन्य प्रदेशमा पनि एमालेको भोट गठबन्धनतिर गएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा



काठमाडौं । जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

अनुमतिबिना कसैको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने



काठमाडौ । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति÷अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको हो ।

सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले नागरिकलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृहमन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।

सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने उसको ठहर छ ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: