१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

जघन्य आपराधिक घटनामा संलग्नहरु भारत लुक्दा प्रहरीलाई पक्राउ गर्न सकस



कैलाली । केही महिना यता भएका जघन्य अपराधका घटनामा संलग्नहरु भारत पस्दा प्रहरीलाई अपराधी पक्राउ गर्न सकस भएको छ । खुला सीमाका कारण नाकामा विनाअवरोध ओहोर दोहोर गर्न पाउने भएपछि भारतमा अपराध गरेर नेपालमा लुक्ने र नेपालमा अपराध गरे भारतमा लुक्ने गरेका छन् ।

कैलालीमा पछिल्लो समय घटेका जघन्य आपराधिक घटनामा संलग्नहरु भारत लुक्दा प्रहरीलाई पक्राउ गर्न सकस भएको छ ।

कैलालीको टीकापुर नगरपालिकामा भएको भुपेन्द्र बडुवाल हत्या प्रकरण होस या कैलाली कै जानकी गाउँपालिकामा भएको अर्जुन दास हत्या प्रकरणमा संलग्न भारत पस्दा प्रहरीलाई पक्राउ गर्न र अनुसन्घान गर्न समस्या भएको हो ।

नेपाल–भारत खुल्ला सीमा नाकाका कारण अपराधिलाई लुक्न सजिलो हुने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद जोशीले बताउनुभयो ।

सीमा नाकामा भारत मजदुरी गर्न जानेको तथ्यांक राख्ने गरेको बताउँदै उहाँले नजिकका भारतीय बजारमा किनमेल गर्न जानेहरुको व्यवस्थापन नहुँदा समस्या हुने गरेको बताउनु भयो ।

खुला सीमाका कारण नेपालमा अपराध गरेर अपराधीहरु खुलेआम भारत छिर्ने र भारतका अपराधी नेपाल छिर्ने गरेको बताउँदै नेपाल–भारत पत्रकार मञ्चका अध्यक्ष दिलबहादुर छन्त्यालले सीमामा परिचय पत्र देखाएर नाम ठेगाना लेख्नेसम्म व्यवस्था नहुनुले अपराधीलाई भारत लुक्न जान सहज भएको बताउनुभयो ।

सीमामा सिसी क्यामेरा जडान गरेर आउने जानेको अभिलेखीकरण राखेमा अपराधीलाई समात्न सहज हुने उहाँको भनाइ छ । विशेषगरी बेरोजगार युवाहरू लागू औषध कारोबार तथा अन्य अपराधमा संलग्न हुने गरेका छन् ।

अपराध गरेर सहजै भारत लुक्न जान सकिने मनोविज्ञानले युवाहरु अपराधमा संलग्न हुने क्रम बढेको हो । त्यसैले सीमामा नियन्त्रण र निगरानी बढाउन सम्बन्धित निकायले विशेष ध्यान दिन जरुरी छ ।


प्रतिक्रिया दिनुहोस !