५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

कोरोना नियन्त्रणका लागि कसैले पनि तेरो पार्टी, मेरो पार्टी नभनी सबै एक हुनुपर्छः प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एक जुट हुनुपर्ने बताउनुभएको छ ।नेकपा एमालेका नेताहरुको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणका लागि सबै एकजुट हुनुको विकल्प नरहेको बताउनुभएको हो ।उहाँले महामारी नियन्त्रणका लागि कसैले पनि तेरो पार्टी, मेरो पार्टी नभनी सबै एक हुनुपर्ने बताउनुभएको हो ।प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रमक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताउनुभयो ।

आफूले सरकारको नेतृत्व गरेपछि कोभिडविरुद्धको खोप लगाउने संख्या बृद्धि भएको बताउँदै उहाँले सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउनेगरी सरकार अघि बढेको पनि बताउनुभयो ।शनिबार नेकपा एमालेका नेता सुवास नेम्वाङ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा सरकारले चाल्नुपर्ने कदम र सुझावसहितज्ञापनपत्र बुझाएको छ ।


प्रतिक्रिया दिनुहोस !


रासस र महिला आयोगको बीचमा घरबहालका विषयमा किचलो



काठमाडौं । भद्रकालीस्थित राष्ट्रिय महिला आयोगले भाडामा लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई एक फ्ल्याटको मासिक भाडा १ लाख ५२ हजार तिर्छ । आयोगले स्थापनाकालदेखि बस्दै आएको राष्ट्रिय समाचार समिति (रासस) ले तीनतले भवनको मासिक भाडा भने १ लाख ३८ हजार मात्रै तिर्दै आएको छ, जुन सरकारको प्रचलित घरबहाल दररेटभन्दा सस्तो हो ।

समग्र महिलाको मूलप्रवाहीकरण, समानता र सशक्तीकरणका लागि काम गर्दै आएको संवैधानिक आयोग २०५८ फागुन २३ मा स्थापना भएको थियो । आयोग र राससबीच २०५९ साउनमा भएको द्विपक्षीय सम्झौतामा सुरुमा वार्षिक १० लाख भाडा तिर्ने र नियमअनुसार बर्सेनि १० प्रतिशतका दरले भाडादर वृद्धि हुने सर्त थियो । सम्झौताअनुसार हाल वार्षिक भाडादर १६ लाख ५६ हजार पुगेको छ ।

दुई वर्षअघि काठमाडौं महानगरको वडा नं. ११ ले तत्कालीन महानगरको बहाल कर प्रयोजनका लागि वर्गीकरण गरेको क्षेत्रअनुसार महिला आयोग बस्ने भवन र पार्किङ क्षेत्रको घर भाडा मूल्यांकन गरेर कर तिर्न पत्र पठायो । वडाले २०७६ मंसिर २४ मा गरेको पत्राचारअनुसार आयोग बस्ने भवनको ४ हजार १ सय ८६ वर्गफिट र पार्किङ रहेको २ हजार २ सय ८१ वर्गफिटको मासिक भाडा १ लाख ९० हजारका दरले वार्षिक २२ लाख ८० हजार पर्ने हुँदा सोको १० प्रतिशत कर वडामा बुझाउनुपर्ने उल्लेख गरेको थियो । जबकि त्यतिबेलाको मूल्यांकनभन्दा वार्षिक ६ लाख २४ हजार कम दरमा आयोगले राससलाई भाडा तिर्छ ।

प्रचलित घरबहाल दररेटअनुसार भाडादर परिमार्जन गर्न सम्झौताका लागि आयोगलाई पटक–पटक ताकेता गर्दा पनि सुनुवाइ नगरेपछि राससले गत साउन ८ मा तीन महिनाको समय दिँदै भवन खाली गर्न पत्राचार नै गर्‍यो । यसअघि दुई/दुई वर्षमा नवीकरण गर्ने गरी आयोग र राससबीच बहाल सम्झौता भएको थियो । पछिल्लो सम्झौताको म्याद गत असार मसान्तमा समाप्त भइसकेको छ । भाडादर परिमार्जन गर्न आलटाल गरेपछि घर खाली गर्न पत्राचार गरिएको राससका अध्यक्ष हरिहर अधिकारी श्यामलले बताए ।

प्रतिक्रिया दिनुहोस !

नेपालमा एक हप्तामा ३८ हजार बढीमा कोरोना संक्रमण



काठमाडौं, माघ ४ । पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका हुन् । सबैभन्दा बढी मंगलबार १० हजार २५८ जना नयाँ संक्रमित थपिएका हुन् ।

दैनिक संक्रमित बढिरहेका छन् । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको सङ्ख्या पनि बढिरहेको छ ।

पछिल्लो एक हप्ताको तथ्याङ्कअनुसार पुस २८ गते तीन हजार ७५, पुस २९ गते तीन हजार ५५३, पुस ३० गते पाँच हजार ८७, माघ १ गते चार हजार ६३६, माघ २ गते चार हजार ९६१, माघ ३ गते छ हजार ७३४ सङ्क्रमण थपिएका हुन् ।

यस एकहप्ताको बीचमा सक्रिय संक्रमित हुने सङ्ख्या पनि बढेको छ । पुस २८ गते ११ हजार ६९० सक्रिय संक्रमित रहेकोमा यो सङ्ख्या बढेर आज ३९ हजार ४४ पुगेको छ ।

पुस २८ गते कूल परीक्षण गराएकामध्ये २३.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो भने मंगलबार ४४.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !

वीरगञ्ज भन्सारबाट ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन



वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन गरेको छ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज भन्सारले लक्ष्यभन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको हो ।

भन्सार विभागले साउनदेखि पुससम्मका लागि १ खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य तोकेको थियो । कार्यालयले सो अवधिमा कुल १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । ‘अघिल्लो आर्थिक वर्ष २०७७/७८ को समीक्षा अवधिको तुलनामा ३२ अर्ब रुपैयाँ बढी राजश्व संकलन गरेका छौं,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने, ‘पुस महिनामा लक्ष्य अनुसार राजश्व संकलन भएन, तर पनि अन्य महिनामा लक्ष्यभन्दा बढी असुली भएको कारण ६ महिनाको लक्ष्य भेटेका छौं ।’

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: