१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

कर्मचारीलाई कोभिड भएपछि गाउँपालिकाको सेवा बन्द



खोटाङ । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि खोटाङको जन्तेढुंगा गाउँपालिकाको कामकाज बन्द गरिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण देखिएपछि शुक्रबारदेखि गाउँपालिका अन्तर्गतका स्वास्थ्य सेवा बाहेकका सेवा २ माघसम्म बन्द गरिएको गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले बताए ।

हाल गाउँपालिकाका अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्दै एन्टीजेन परीक्षण भइरहेको छ । ३ माघदेखि कर्मचारीलाई कार्यालयमा आउँदा कोभिड–१९ विरुद्ध लगाएको खोप कार्ड तथा एन्टीजेन परीक्षण गरेको रिपोर्ट अनिवार्य गरिएको छ । यस्तै, गाउँपालिका अन्तर्गतका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले पनि साथमा खोप कार्ड अनिवार्य लिएर आउनु पर्ने गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


राष्ट्रियसभा निर्वाचनमा दलीय ह्वीप उल्लंघन, क्रसभोट हाबी, गठबन्धनमा शंका



काठमाडौं । राष्ट्रियसभामा खाली १९ मध्ये १८ सीट हत्याउन सफल भएपनि चुनावी प्रक्रियामा व्यहोर्नुपरेको घात, अन्तर्घातका घटना पाँच दलीय गठबन्धनका लागि अप्रत्यासित बनेको छ । आगामी तीन चुनावमा समेत गठबन्धनका लागि हौसिएका सत्तारुढ दल र अन्तरपार्टी क्रसभोटको अन्तरकथा भोगेको एमालेका लागि पनि यो ठूलो शिक्षा हो । चुनावमा देखिएको दृश्यले पार्टीभित्र गुट, उपगुटको राजनीति कति हावी छ भन्ने स्पष्ट हुन्छ ।

दलीय हिसाब विपरीत प्रदेश १ कोएक सिटमा भने नेकपा एमालेका उम्मेदवार अप्रत्याशित रूपमा विजयी बने । प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेको यो चुनावमा कतै मत बदर भयो भने कतै गठबन्धन र एमाले दुबैतिर क्रस भोटिङ भयो । क्रस भोटिङ एवं अन्तरघात हुँदा प्रदेश एकबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भए । जित एमालेका सोनाम ग्याल्जेन शेर्पाको नाममा लेखियो । गठबन्धनमा अन्तरघात भएको परिणाम कांग्रेसका गोपाल बस्नेत र एमालेका गुरु बरालबीच बराबर मत आयो । भोट नभई भाग्य बलियो हुँदा सांसद नामको विशेषण बस्नेतका नाममा फाप्यो । मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सबै प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गरेर क्षेत्रीय, वर्गीय, नातागोतामा मत विभाजित भएको देखिन्छ ।

अपवादलाई छाडेर प्रायः धेरैवटा प्रदेशमा गठबन्धनमा सहभागी कम्युनिस्ट उम्मेदवार भन्दा कांग्रेस उम्मेदवारले कम मत पाएका छन् । प्रदेश १ मा धोका पाएको जनता समाजवादी पार्टीले प्रदेश २ मा माओवादी भन्दा बढी भोट पाएको छ । सातै प्रदेशको नतिजा हेर्दा क्रस भोटिङको बाहुल्य बाक्लो छ ।

उति नै मतभार रहेका ठाउँमा गठबन्धनका उम्मेदवारले फरक–फरक मत पाएको तथ्याङ्क हेर्दा सत्तारुढ गठबन्धनमा अनुशासन पालना नभएको स्पष्ट देखिन्छ । प्रदेश सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुखहरूले नै गठबन्धन नहेरी जथाभावी भोट हालेको पाइएको छ । त्यस्तै अरूको भोट पाएर जितेका जनप्रतिनिधि स्वयंको भोट बदर भएको छ । गठबन्धनको सहमतिमा बनेका उम्मेदवारको भोट संख्या नै आकाश जमिन फरक पर्नु दलीय व्हीपले काम नगर्नु हो ।

गठबन्धन दलमा मात्रै होइन, एमालेमा पनि अन्तरघात भएको पाइएको छ । जस्तो– प्रदेश १ मा एमालेकी सुमित्रा भण्डारीले आफ्नै चारजना प्रदेश सांसदको भोट पाउनु भएन । एकीकृत समाजवादीकी जयन्ती राईलाई एमालेले पनि भोट हाले । अन्य प्रदेशमा पनि एमालेको भोट गठबन्धनतिर गएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा



काठमाडौं । जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सिके राउतको ज्यान मार्ने धम्की दिने मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय गौर (रौतहट) जाहेरी दरखास्त दिएका छन् ।पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाने अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध राज्यविरुद्धको कसूरमा अनुसन्धान गरि कैद र जरिवाना तोक्न जाहेरी दर्ता दिएका हुन् ।

नेता कर्णले हुलाकमार्फत् जाहेरी दिएका छन् । उनले जाहेरीमा भनेका छन्, ‘बहालवाला मन्त्रीको अभिव्यक्तिले दुई समुदायबीच द्वन्द्व सृजना भई सोबाट जातिय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक दंगा फैलाउने दुई समुदायबीच राष्ट्रिय एकतामासमेत असर पर्ने भएकाले अन्यायी मन्त्रीको अभिव्यक्ति मुलुकी अपराध संहिता २०७४ को दफा ४९ (४) विरुद्ध रहेकाले ऐ. सहितको दफा ५ (ग) बमोजिम हदैसम्मको कैद र जरिवानासमेत गरि पाउँ ।’मन्त्री यादवले ५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्ने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् ।

मन्त्री यादवको उक्त अभिव्यक्तिपछि नेता कर्णले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन खोजेका थिए । तर, प्रहरीले जाहेरी लिन नमानेपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत नेता कर्णले जाहेरी पठाएका हुन् ।कर्णले बिहीबार नै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि ज्ञापन पत्र पठाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: