१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

जिपी अस्पतालमै प्लान्ट जडान, अक्सिजन उत्पादन सुरु



तनहुँ, १ माघ

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्टबाट उत्पादन समेत थालिएको छ । मंगलबारदेखि अस्पताल परिसरमा जडान गरिएको प्लान्टबाट उत्पादन सुरु भएको अस्पतालका कार्यकारी प्रमुख डा. रामकुमार श्रेष्ठले बताए ।

उनकाअनुसार प्लान्टबाट दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । ‘अस्पतालको आवश्यकता अनुसार उत्पादन गरिरहेका छौं,’ उनले भने । अस्पतालमै अक्सिजन उत्पादन थालेपछि पोखराबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब अक्सिजन आवश्यक पर्ने विरामीका आफन्त अक्सिजन खोज्दै हिँड्नुपर्ने छैन ।

दोस्रो लहरको कोरोना तीव्र गतिमा फैलिएर संक्रमणदर उच्च विन्दुमा पुगेको बेला देशभर अक्सिजनको हाहाकार भएपछि संघीय सरकारको स्वास्थ्य मन्त्रालयले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न बजेट पठाएको थियो । तर प्लान्ट जडानमा ढिलाई गरियो । अस्पताल नजिक रहेको विद्युतको ट्रान्सफर्मरको क्षमता बढाउनुपर्ने भएकाले अक्सिजन जडानमा तीन महिना ढिलाई भएको कार्यकारी प्रमुख डा. श्रेष्ठ स्वीर्काछन् । ‘ट्रान्सफर्मरको क्षमताले नधान्ने भएपछि टेन्डर प्रकृयामा जानुपर्ने भयो । टेन्डर गरेर नयाँ ट्रान्सफर्मर जडान गर्दा अक्सिजन प्लान्टमा निर्माणमा झण्डै तीन महिना ढिलाई भएको थियो’, उनको प्रस्टोक्ति छ । दुई करोड १८ लाख रुपैयाँमा अक्सिजन प्लान्ट निर्माण भएको हो ।

जिपीमा जिल्लाका स्थानीय तहले कोरोना संक्रमितका लागि छुट्टै आइसोलेसन भवन बनाइदिएका छन् । कोरोनाको ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएपछि जिपीले आइसोलेसनलाई तयारी अवस्थामा राखेको छ । सरसफाई र मर्मत सम्भार गरेर आइसोलेसनलाई तयारी अवस्थामा राखेको अस्पतालका कोरोना फोकल पर्सन प्रदीप पौडेलले बताए । असोज तेस्रो सातादेखि आइसोलेसन रित्तो थियो । ‘लामो समय संक्रमित आइसोलेसनमा आएका छैनन् । ओमिक्रोन भेरियन्ट फैलन थालेपछि मर्मत र सरसफाई गरेर तयारी अवस्थामा राखेका छौं । संक्रमित आएको खण्डमा आइसोलनमा राख्नेछौं,’ पौडेलले भने ।

उनकाअनुसार ३० बेडको आइसोलेसन छ । प्रत्येक बेडमा अक्सिजनको व्यवस्था गरिएको छ । आइसोलेसनमा पाँच बेड आईसीयू र तीन बेड भेन्टिलेटर छ । यहाँको आइसोलेसनमा पहिलो चरणको कोरोनामा २७७ संक्रमितले सेवा लिए । दोस्रो चरणमा २२२ जना संक्रमितले सेवा लिएको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


राष्ट्रियसभा निर्वाचनमा दलीय ह्वीप उल्लंघन, क्रसभोट हाबी, गठबन्धनमा शंका



काठमाडौं । राष्ट्रियसभामा खाली १९ मध्ये १८ सीट हत्याउन सफल भएपनि चुनावी प्रक्रियामा व्यहोर्नुपरेको घात, अन्तर्घातका घटना पाँच दलीय गठबन्धनका लागि अप्रत्यासित बनेको छ । आगामी तीन चुनावमा समेत गठबन्धनका लागि हौसिएका सत्तारुढ दल र अन्तरपार्टी क्रसभोटको अन्तरकथा भोगेको एमालेका लागि पनि यो ठूलो शिक्षा हो । चुनावमा देखिएको दृश्यले पार्टीभित्र गुट, उपगुटको राजनीति कति हावी छ भन्ने स्पष्ट हुन्छ ।

दलीय हिसाब विपरीत प्रदेश १ कोएक सिटमा भने नेकपा एमालेका उम्मेदवार अप्रत्याशित रूपमा विजयी बने । प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेको यो चुनावमा कतै मत बदर भयो भने कतै गठबन्धन र एमाले दुबैतिर क्रस भोटिङ भयो । क्रस भोटिङ एवं अन्तरघात हुँदा प्रदेश एकबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भए । जित एमालेका सोनाम ग्याल्जेन शेर्पाको नाममा लेखियो । गठबन्धनमा अन्तरघात भएको परिणाम कांग्रेसका गोपाल बस्नेत र एमालेका गुरु बरालबीच बराबर मत आयो । भोट नभई भाग्य बलियो हुँदा सांसद नामको विशेषण बस्नेतका नाममा फाप्यो । मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सबै प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गरेर क्षेत्रीय, वर्गीय, नातागोतामा मत विभाजित भएको देखिन्छ ।

अपवादलाई छाडेर प्रायः धेरैवटा प्रदेशमा गठबन्धनमा सहभागी कम्युनिस्ट उम्मेदवार भन्दा कांग्रेस उम्मेदवारले कम मत पाएका छन् । प्रदेश १ मा धोका पाएको जनता समाजवादी पार्टीले प्रदेश २ मा माओवादी भन्दा बढी भोट पाएको छ । सातै प्रदेशको नतिजा हेर्दा क्रस भोटिङको बाहुल्य बाक्लो छ ।

उति नै मतभार रहेका ठाउँमा गठबन्धनका उम्मेदवारले फरक–फरक मत पाएको तथ्याङ्क हेर्दा सत्तारुढ गठबन्धनमा अनुशासन पालना नभएको स्पष्ट देखिन्छ । प्रदेश सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुखहरूले नै गठबन्धन नहेरी जथाभावी भोट हालेको पाइएको छ । त्यस्तै अरूको भोट पाएर जितेका जनप्रतिनिधि स्वयंको भोट बदर भएको छ । गठबन्धनको सहमतिमा बनेका उम्मेदवारको भोट संख्या नै आकाश जमिन फरक पर्नु दलीय व्हीपले काम नगर्नु हो ।

गठबन्धन दलमा मात्रै होइन, एमालेमा पनि अन्तरघात भएको पाइएको छ । जस्तो– प्रदेश १ मा एमालेकी सुमित्रा भण्डारीले आफ्नै चारजना प्रदेश सांसदको भोट पाउनु भएन । एकीकृत समाजवादीकी जयन्ती राईलाई एमालेले पनि भोट हाले । अन्य प्रदेशमा पनि एमालेको भोट गठबन्धनतिर गएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा



काठमाडौं । जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

अनुमतिबिना कसैको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने



काठमाडौ । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति÷अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको हो ।

सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले नागरिकलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृहमन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।

सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने उसको ठहर छ ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: