१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

दुनै–मरिम्ला सडक निर्माणका लागि थप बजेट स्वीकृत



जाजरकोट, ५ माघ

भेरी करिडोर अन्तर्गत दुनै मरिम्ला सडक निर्माणका लागि अर्थमन्त्रालयले थप बजेटका लागि सहमति दिएको छ । उपल्लो डोल्पाका थप बजेट लागि अर्थमन्त्रालयले सहमति दिएको अर्थमन्त्री शर्माको निजी सचिवालयका कृष्ण केसीले जानकारी दिए ।

एक अर्ब २० करोड बजेट निर्माणका लागि सडक डिभिजन चौरजहारीमा पुगिसकेको सडक डिभिजन चौरजहारीका प्रमुख धुर्वकुमार झाले बताए । बाँकी दुई अर्ब १५ करोड रुपैयाँ अर्थमन्त्रालयले सडकको लागि सहमति दिएको छ । भेरी करिडोर अन्तर्गतको यो सडक भारतको रुपैडिया जमुना नाकादेखि डोल्पाको धो मोरिम्ला नाका हुँदै उत्तरी चीनको सीमा जोड्न त्रिदेशीय मार्गको रुपमा रहेको छ ।

भेरीकोरिडोर अन्तर्गतको ट्रयाक खोल्न बाँकी रहेको दुनै–लासिक्याप–धो सडक खण्डको डीपीआरको एक अर्ब २० करोड बजेट कार्यान्वयन भइरहेको र दुई अर्ब १५ करोड बजेट अर्थमन्त्रालयले भौतिक पूर्वाधर मन्त्रालयलाई गत पुस महिनाको दोस्रो साता मन्त्रीस्तरीय निर्णयबाट सहमति दिएपछि दिइसकेको छ ।

बजेटको सुनिश्चितासँगै दुनै–लासिक्याप–धो सडक खण्ड बन्ने निश्चित भएसँगै उपल्लो डोल्पाका स्थानीयबासी खुसी भएका छन् ।
अर्थमन्त्रालयले भौतिक पूर्वाधर मन्त्रालयलाई बजेट सहमतिसँगै सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने डोल्पोबुद्द गाउँपालिका–१ का अध्यक्ष ग्याल्पो थापा भोटेले बताए ।

सरकारले भेरी करिडोर नामाकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्दै त्रिदेशीय पारवहन सेवामा समेत सजिलो हुने भएकाले पनि छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय मार्गलाइ महत्वका साथ हेरिएको छ । भेरी करिडोर सम्पन्न भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग भेरी करिडोर बन्नेछ ।

कर्णेल विश्ववन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी करिडोर अन्तर्गतका जाजरकोट –डोल्पा सडक निर्माण कार्य २०६५ मा सुरु भएको थियो । ट्याक औपनसँगै सेनाले उक्त ११८ किलोमिटर सडक २०७६ सालमै भौतिक पूर्वाधार मन्त्रालयलाइ हस्तान्तरण गरिसकेको छ ।

दुबैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको कुल ११० किलोमिटरमध्ये नेपालतर्फ ६० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक बन्न बाँकी छ । दुनैदेखि–धोसम्मको सडक निर्माण भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग भेरी करिडोर बन्नेछ । डोल्पा सदरमुकाम दुनैसम्म सडक सञ्जालले जोडिए पनि पुल नबन्दा सवारीसाधन आवतजावतमा निकै समस्या छ ।

बेलिबृज निमार्णको काम भने जारी छ । देशको उत्तर सीमाको सुरक्षा गरिरहेको माथिल्लो डोल्पाका तीन गाउँपालिका भित्रका जनताहरूले नेपालतर्फ सडकको सुविधा नहुँदा वषौंदेखि नागरिकता र सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम दुनैसम्म तीन दिन पैदाल यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ । सम्पूर्ण खाद्य र अन्य सामनहरू महँगो मूल्यमा उपभोग गरिरहेको छ ।

दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक निर्माण त्यति सहज छैन । चट्टानै चट्टानले बनेका ठूला पहाडका कारण निर्माण कार्यमा ढिलाइ हुने देखिन्छ । स्थानीयका अनुसार अहिले यो बाटो मान्छेलाई नै जीवन हत्केलामा राखेर यात्रा गर्नुपर्ने बताउँछन् ।

डोल्पा जडिबुटीको भण्डार भएकोले भेरी करिडोर अर्थात त्रिदेशीय मार्ग निर्माण भएपछि कर्णाली प्रदेश लगायत देशकै समृद्धिमा टेवा पुग्नेमा दुईमत छैन । केही वर्षअघि नेपाली सेनाले जाजरकोट–दुनै सडकखण्ड निर्माणपछि लासिक्याप, धो सडकखण्ड पनि नेपाली सेनाले नै बनाउनुपर्ने उपल्लो डोल्पाका जनताको माग थियो । तर, जनताको अपेक्षा विपरीत सेनालाई डोल्पाबाट षड्यन्त्रपूर्वक फिर्ता गरेपछि दुनै धो सडक निर्माण ओझेलमा परेको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय