८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

राष्ट्रियसभा निर्वाचनमा दलीय ह्वीप उल्लंघन, क्रसभोट हाबी, गठबन्धनमा शंका



काठमाडौं । राष्ट्रियसभामा खाली १९ मध्ये १८ सीट हत्याउन सफल भएपनि चुनावी प्रक्रियामा व्यहोर्नुपरेको घात, अन्तर्घातका घटना पाँच दलीय गठबन्धनका लागि अप्रत्यासित बनेको छ । आगामी तीन चुनावमा समेत गठबन्धनका लागि हौसिएका सत्तारुढ दल र अन्तरपार्टी क्रसभोटको अन्तरकथा भोगेको एमालेका लागि पनि यो ठूलो शिक्षा हो । चुनावमा देखिएको दृश्यले पार्टीभित्र गुट, उपगुटको राजनीति कति हावी छ भन्ने स्पष्ट हुन्छ ।

दलीय हिसाब विपरीत प्रदेश १ कोएक सिटमा भने नेकपा एमालेका उम्मेदवार अप्रत्याशित रूपमा विजयी बने । प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेको यो चुनावमा कतै मत बदर भयो भने कतै गठबन्धन र एमाले दुबैतिर क्रस भोटिङ भयो । क्रस भोटिङ एवं अन्तरघात हुँदा प्रदेश एकबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भए । जित एमालेका सोनाम ग्याल्जेन शेर्पाको नाममा लेखियो । गठबन्धनमा अन्तरघात भएको परिणाम कांग्रेसका गोपाल बस्नेत र एमालेका गुरु बरालबीच बराबर मत आयो । भोट नभई भाग्य बलियो हुँदा सांसद नामको विशेषण बस्नेतका नाममा फाप्यो । मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सबै प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गरेर क्षेत्रीय, वर्गीय, नातागोतामा मत विभाजित भएको देखिन्छ ।

अपवादलाई छाडेर प्रायः धेरैवटा प्रदेशमा गठबन्धनमा सहभागी कम्युनिस्ट उम्मेदवार भन्दा कांग्रेस उम्मेदवारले कम मत पाएका छन् । प्रदेश १ मा धोका पाएको जनता समाजवादी पार्टीले प्रदेश २ मा माओवादी भन्दा बढी भोट पाएको छ । सातै प्रदेशको नतिजा हेर्दा क्रस भोटिङको बाहुल्य बाक्लो छ ।

उति नै मतभार रहेका ठाउँमा गठबन्धनका उम्मेदवारले फरक–फरक मत पाएको तथ्याङ्क हेर्दा सत्तारुढ गठबन्धनमा अनुशासन पालना नभएको स्पष्ट देखिन्छ । प्रदेश सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुखहरूले नै गठबन्धन नहेरी जथाभावी भोट हालेको पाइएको छ । त्यस्तै अरूको भोट पाएर जितेका जनप्रतिनिधि स्वयंको भोट बदर भएको छ । गठबन्धनको सहमतिमा बनेका उम्मेदवारको भोट संख्या नै आकाश जमिन फरक पर्नु दलीय व्हीपले काम नगर्नु हो ।

गठबन्धन दलमा मात्रै होइन, एमालेमा पनि अन्तरघात भएको पाइएको छ । जस्तो– प्रदेश १ मा एमालेकी सुमित्रा भण्डारीले आफ्नै चारजना प्रदेश सांसदको भोट पाउनु भएन । एकीकृत समाजवादीकी जयन्ती राईलाई एमालेले पनि भोट हाले । अन्य प्रदेशमा पनि एमालेको भोट गठबन्धनतिर गएको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस !