१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

सुप्रीम विश्लेषण : प्रचण्डको एकल क्षमताले टिकेको माओवादी पार्टीको अनिश्चित भविष्य



काठमाडौं । वि. स. २०७१ बैशाख १८ गतेदेखि शुरु भएको तत्कालीन एमाओवादीको विराटनगर सम्मेलनपछि नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पत्रकार सम्मेलनमा भनेका थिए, हाम्रो मूल लाइनमा विवाद भएको होइन, बरु संगठन जस्तो हुनुपथ्र्यो, त्यो हुन सकेन । अध्यक्ष प्रचण्डको स्पष्ट संकेत थियो, पार्टीको संगठन विघटनको स्थितिमा जान थालेको छ । समयमै संगठनलाई व्यवस्थित ढंगले संचालन गर्न सकिएन भने माओवादी पार्टी विघटनको अवस्थामा पुग्छ । सम्मेलनअघि स्वयम् प्रचण्डले यही अवस्था रहेमा पार्टीको विसर्जन कसैले रोक्न नसक्ने भविष्यवाणी गरेका थिए । संगठन निर्माणको चिन्तनभन्दा सामान्य चिन्ता मात्रै देखिन्थ्यो ।

नभन्दै उक्त सम्मेलनमा डा. बाबुराम भट्टराईले मनोनयन प्रक्रिया नै बहिष्कार गरे । भट्टराईको बहिष्कारले वैद्य विप्लवलगायतका नेताहरुले पार्टी विभाजन गरेर लागेको फुटको घाउ सुक्न नपाउँदै माओवादी पार्टीको संगठन विघटनको प्रक्रियाको औपचारिक थालनी गर्यो । एमाओवादीको सांगठनिक समस्याबारे कुनै नयाँ प्रस्ताव पेस गरेको देखिएन । कालान्तरमा नेतृत्वसँग असन्तुष्ट डा. भट्टराईले पनि माओवादी पार्टी फुटाए । तर वैद्य माओवादीबाट बादल, देव गुरुङ र पम्फा भुसाललगायतका नेताहरु पुन मूल घरमै फर्किए तर समय घर्किसकेको थियो । माओवादीले संगठनलाई सुदृढ गर्न सकेन, झन् कमजोर बन्यो, जसको लाभ तत्कालीन एमालेलाई भयो । स्वभावत: कम्युनिस्ट सेन्टिमेन्टका हिसाबले माओवादी पार्टी संकटग्रस्त बनेको अवस्थामा स्थानीय चुनावमा एमालेले भरपूर लाभ उठायो ।

त्यती बेला प्रचण्डले माओवादी पार्टीलाई बचाउन अनेक प्रयत्न गरे । कहिले कांग्रेससँग गठबन्धन गरेर सरकार संचालन गरे त कहिले एमालेसँग । तर पार्टीको अवस्था सुदृढ भएन । संगठनमा निरन्तर क्षयीकरण भईरहेको अवस्थामा केन्द्रीय सदस्य नै चार हजारको संख्यामा पुर्याए तर त्यसले पार्टीको क्षयीकरणको सामाधान गर्नेवाला थिएन । एकातर्फ विप्लवले क्रान्ति गर्ने धम्की दिईरहेका कारण पार्टीको युवा पङ्ती विप्लवतीर आकर्षित भईरहेको थियो भने अर्कातर्फ एमालेजस्तो भीमकाय पार्टीले पनि माओवादीमा जनमत भएका नेताहरुलाई विभिन्न आश्वासन दिईरहेको थियो । यसरी सशस्त्र युद्धको पृष्टभूमिबाट मूलधारमा आउको माओवादीलाई बचाउन प्रचण्डले भरपूर प्रयास गरे तर पार्टीका तल्लो तहका नेताहरुले प्रचण्डलाई काँध थाप्नुको सट्टा विभिन्न मागहरु राख्ने गरिरहेका थिए । त्यही बेला पार्टीका एकलवीर मानिने प्रचण्डले भारी एक्लैले थेग्नै नसक्ने भएपछि एमालेसँग एकता गर्ने निधो गरे । पार्टी एकता पनि भयो तर एमाले पनि ओलीजस्ता दम्भी र एकलकाँटे नेताको वरिपरी घुमिरहेको थियो ।

२०६४ को निर्वाचनमा देशैभरी भारी सिट जितेका कारण ओलीले माओवादीको अस्तित्व स्विकार्ने कल्पनाको विषय थियो । नभन्दै चुनावी गठबन्धनबाट झण्डै एकतापछि दुई तिहाई मत ल्याएको नेकपामा अन्तरसंघर्ष चुलिन थाल्यो । प्रधानमन्त्री बनेपछि ओलीले पार्टी भित्र एकलौटी राज जमाउन थाले । त्यसपछि एमालेमा संस्थापन पक्षबाट पीडित बनेका माधव, झनाथलगायतका नेताहरु प्रचण्डको क्याम्पमा खडा भए । एकातर्फ ओली जबजलाई पार्टीको मूल सिद्धान्त बनाउनु पर्छ भन्ने कुरामा जोड दिन्थे भने अर्कातर्फ माओवादी र एमालेमा लोकप्रिय मानिने युवा पुस्ताका नेताहरु जबजबाट माथि उठेर नयाँ विचार निर्माण गर्नु पर्छ भन्ने पक्षमा थिए । त्यसरी ओली अल्पमतमा परे र एकलौटी रुपमा संसद विघटन गरी अदालतसँगको सेटिङमा एमाले र माओवादीलाई ब्यूताई दिए । एकताको करिब तीन वर्षमै देशकै भीमकाय कम्युनिस्ट पार्टीको विभाजन भयो ।

मुल्यांङ्कनको विधि

माओवादी पार्टीमा सशस्त्र युद्धको धङधङी बढी छ । पार्टीका केन्द्रीय सदस्य तहकै नेताहरु पनि २०५१ देखि २०६३ सम्मको मात्रै हिसाब गर्छन् । उनीहरु कार्यकर्ताको मुल्यांकनको सवालमा द्धन्द्धवादी नभएर अधिभूतवादले ग्रस्त देखिन्छन् । जबकी सशस्त्र युद्ध सकिएको १५/१६ वर्ष भई सक्यो तर नेतृत्व चयनमा नेताहरु रुढिवादले ग्रस्त देखिन्छन् । जसले गर्दा आजको नयाँ पुस्ताले माओवादी पार्टीमा नेतृत्व विकास गर्न पाउने संभावना क्षीण देखिन्छ । फलस्वरुप माओवादी युद्धको बेलाका कार्यकर्ता बाहेक नयाँ अनुहारलाई करिब करिब निषेध गरिएको छ भन्दा फरक पर्दैन ।

२०६४ सालमा ठूलो जनमत प्राप्त गरेको माओवादी २०७० मा आउँदा नराम्ररी खुम्चियो । त्यसको अर्थ २०६४ सालमा माओवादी पार्टीमा ठूलो संख्यामा नयाँ अनुहारले प्रवेश गर्यो तर त्यहाँ उपर्युक्त मुल्याङ्कन र निष्पक्ष सांगठानिक अभ्यास गर्न नपाउँदा २०७० मा बाहिरियो । त्यही कुपमण्डुपताका कारण माओवादी केन्द्रबाट नयाँ पुस्ता निरन्तर कटिरहेको छ । यो त भयो माओवादीको कार्यकर्ताको मुल्यांकनको विधि । अब कुरा गरौँ माओवादी भित्रको आन्तरिक लोकतन्त्रको बारेमा । माओवादी केन्द्रले लेनिनवादी पद्धतिलाई आफ्नो आदर्श मान्ने गर्दछ तर व्यवाहारमा भने निषेध गरिरहेको छ । आन्तरिक निर्वाचनलाई निषेध गर्दा पार्टीमा क्षमतावान नेताहरुले उचित न्याय पाउन सकेका छैनन् । त्यही कारण पुराना पुस्ताका नेताहरुले परिवर्तित परिवेशमा हुर्किरहेको नयाँ पुस्तालाई लिड गर्न सकिरहेको छैन । त्यो कारणले पनि माओवादी कमजोर बनिरहेको छ ।

पार्टी हुँदा हुँदै पनि एक्लै प्रचण्ड

विशाल संगठन रहेको एमालेको अध्यक्ष बनेर चलाउने उदेश्य राखेका प्रचण्ड विभाजनपछि आफ्नै मूलघरलाई सुदृढ पार्ने प्रयत्नमा छन् । तर प्रचण्डका दुख भने उही पुरानै । माओवादी आन्दोलनको शीर्ष नेतृत्वका हिसाबले अहिले पनि प्रचण्ड आन्दोलनको केन्द्र विन्दु मै छन् र परिस्थिति पनि प्रचण्डको फेबरमा छ । हिजो आन्दोलनप्रति गद्दारी गरेको भन्दै क्रान्तिका गफ लडाउने विप्लव आज ओली र बादलले तह लगाई दिएपछि भिजेको विरोलोजस्तै निरिह बनेका छन् । त्यसकारण विप्लवमा रहेका क्षमतावान र माओवादी आन्दोलनप्रति गौरव गर्ने युवाहरु माओवादी केन्द्रमै फर्किन थालेका छन् । दोस्रो हिजो विशाल संगठन भएको एमाले पार्टी विभाजन भएर दुई टुक्रामा विभक्त छ । त्यस्तै रेलदेखि पानी जहाज हुँदै घर घरमा ग्यासको चुलो पुर्याउने र राष्ट्रवादको चर्को नारा लगाउने ओलीको नक्कली राष्टवाद आज उदाङ्गिएको छ । तसर्थ माओवादीलाई हिजोको भन्दा केही सहज भए पनि २०६४ को आफ्नो शक्ति पुन आर्जन गर्न भने फलामको चिउरसा चपाउनु सरह हुने छ ।

तर देशभरी संगठन भएको तेस्रो ठूलो पार्टी हुँदाहुँदै पनि प्रचण्ड माओवादी पार्टीमा एक्ला नेता हुन् भन्दा पनि फरक पर्दैन । हिजो पनि निर्णायक ठाउँमा एक्लै हावी रहने प्रचण्ड आज पनि पार्टीमा एक्ला नेता जस्तै छन् । हुन त प्रचण्डको पार्टीमा स्थायी समिति छ । केन्द्रीय समिति हुँदै स्थानीय संगठन पनि छन् तर सबै हुँदा हुँदै पनि प्रचण्ड एक्लै छन् । सबै नेताले सधै प्रचण्डसँग असन्तुष्टि मात्रै राख्ने गर्दछन् । स्थानीय कार्यकर्तादेखि स्थायी समिति सदस्यसम्म सबैले प्रचण्डले केही गरेनन् भनेर आलोचना मात्र गर्छन् तर आफुले गर्नु पर्ने कर्तव्यको बोध गर्दैनन् । उनीहरुले संगठनलाई गौण र पार्टीबाट पद तथा द्रव्यको अपेक्षा गर्छन् ।

प्रचण्डसँग माग मात्रै, काँध थाप्ने कोही छैनन्

माओवादीका शीर्ष नेताहरु प्रचण्डसँग माग मात्रै राख्छन् । कसैले पद माग्छन्, कसैले मन्त्री त कसैले राजनीतिक नियुक्ति । तर संकट पर्दा कुनामा लुक्छन् । प्रचण्डले प्रत्येक पटक सरकारमा नयाँ नयाँ अनुहारका मन्त्री बनाउँछन तर सबै असफल मात्र । एक दुई अनुहार बाहेक अरु सब असफल । यती मात्रै होईन, संगठनलाई सुदृढ गर्न पनि प्रचण्डले सर्कुलर पठाउनै पर्छ । तह अनुसार नेताहरु आफ्नो सापेक्षतामा संगठन निर्माण गर्दैनन् । बरु द्रव्य प्राप्तिको बाटो खोजिरहन्छन् । जसको उदाहरण बरालिएर एमालेमा पुगेका बादल र टोपबहादुरहरुलाई लिन सकिन्छ । त्यस्तै दोस्रो पुस्तामा पनि संगठनलाई सही ढंगले परिचालन गर्ने नेतृत्वको अभाव छ । एमालेमा शंकर पोखरेलजस्ता युवाहरु नेतृत्व तहमा पुगिसकेका छन् । कांग्रेसमा पनि गगन र विश्वप्रकाशहरु नेतृत्वमा पुगिसके भने राजावादी पार्टीमा पनि राजेन्द्र लिङ्देनहरु शीर्ष नेतृत्वमा पुगिसके । तर माओवादीमा भने तमाम सीमाका बाबजुद आश लाग्दा एक आध नेताहरु कोही जातीय मनोविज्ञानले ग्रस्त भएको आरोप भोगिरहेका छन् त कोही आफ्नो निर्वाचन क्षेत्र मै कैद भएको आरोप भोगिरहेका छन् । पम्फा भुसाल र देव गुरुङजस्ता क्षमता भएका नेताहरु बारम्बार पार्टी विभाजन गरेको मार खेपिरहेका छन् ।

तसर्थ हिजो प्रचण्डसँग रहेका नेताहरु बैद्य, बाबुराम, बादल र विप्लवलगायतका नेताहरु आज प्रचण्डको खेदो गरिरहन्छन् । प्रचण्डपछि नेतृत्व गर्ने नयाँ पुस्ता माओवादीमा तयार हुन सकेको छैन । सबैलाई समेटेर पार्टीलाई नेतृत्व गर्ने दोस्रो पुस्ता तयार नभईसकेको अवस्थामा माओवादी आन्दोलन विघटनको अवस्थामा पुग्ने खतरा छ । ओलीले गैर संवैधानिक तरिकाले २ पटक संसद विघटन गर्दा पनि एमालेको संगठनले काँध थापेको थियो । संगठन लथाङ्गि पार्दा पनि कांग्रेसले देउवालाई काँध थापेको छ तर प्रचण्डलाई भने संकट पर्दा नेताहरु उनाकुना लागछन् । पद माग्ने बेलामा कमिलाको झैँ ताँती लाग्छन् । यसरी सांगठानिक र क्रान्तिकारी उत्तराधिकारी उत्पादनका हिसाबले माओवादीको अनिश्चित भविष्यको संकेत गरिरहेको छ । अब प्रचण्डले पार्टीलाई हाक्न सक्ने भनेको बढीमा एक डेढ दशक हो । अहिलेकै अवस्थामा माओवादी रहिरहे, माओवादी नसुध्रिए माओवादी आन्दोलन इतिहासको पानामा सीमित रहने खतरा छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय