६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

सुप्रीम विश्लेषण : नेपाली राजनीतिका किंग मेकर प्रचण्ड, १५ वर्षदेखि जता प्रचण्ड उतै पल्लाभारी



काठमाडौं । वि. स. २०४६ सालको जनआन्दोलन चलिरहेको बेला एमाले र कांग्रेसले दरबार गएर तत्कालीन राजा विरेन्द्रसँग सम्झौता गरेर राजतन्त्रसहितको प्रजातन्त्र स्वीकार गरे । जबकी वाम मोर्चाको ठूलो हिस्सा सडकमै प्रदर्शन गरिरहेको थियो । जनआन्दोलनमा सहभागी कांग्रेस र एमालेले घुँडा टेकेपछि आन्दोलन विस्तारै सेलाउदै गयो । तर तत्कालीन अवस्थामा प्रचण्डले नेतृत्व गरेको मशालले राजतन्त्रसहितको प्रजातन्त्र स्वीकार गरेको थिएन । वि. स. २०४८ सालमा चार वटा कम्युनिस्ट पार्टीहरुको बीचमा एकता भई एकता केन्द्र बनेसँगै नेपालको राजनीतिलाई आफ्नो वरिपरी केन्द्रीत गर्न प्रचण्डले दीर्घकालीन योजना बनाईरहेका थिए । २०५१ सालमा प्रचण्डकै नेतृत्वमा दीर्घकालीन जनयुद्ध शुरु भयो । त्यसपछि प्रचण्ड नेपालको राजनीतिमा हावी हुन थाले । नेपालको राजनीति प्रचण्डले चाल्ने स्टेप स्टेपमा केन्द्रीत हुन थाल्यो । उनको नेतृत्वमा शुरु भएको छापामार युद्ध हुँदै रणनीतिक प्रत्याक्रमणको अवस्थामा आईपुगदा प्रचण्ड नेपालको राजनीतिका केन्द्रविन्दु मात्र नभई संसारकै चर्चित नेताका रुपमा प्रसिद्ध बने । परिस्थितिको गम्भीर्यतालाई सहजै बुझ्ने र समयमै पहलकदमी लिने प्रचण्डको क्षमताकै कारण आज पनि प्रचण्ड नेपालको राजनीतिका किंग मेकर ठानिन्छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेपाली राजनीतिका एक गतिशील र डाइनामिक नेता हुन् ।

सशस्त्र युद्धका कमाण्ड मात्रै होइन, जनयुद्धलाई देशही विदेशी शक्ति मिलेर निमिट्यान्न पार्न खोजे पनि आफुले उठान गरेको सशस्त्र युद्धलाई शान्तिमा रुपान्तरण गर्दै तत्कालीन माओवादीलाई देशकै पहिलो पार्टी बनाए । त्यस्तै गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीसमेत बने ।२०६३ सालमा शान्ति वार्तामार्फत शान्ति प्रक्रियामा प्रवेश गरेयता प्रचण्ड नेपालको राजनीतिका किंग मेकर बनेका छन् । प्रचण्ड शान्ति वार्तामा आउँदा शान्ति सम्झौतामा हस्ताक्षर गरी मूलुकमा शाति स्थापना गर्ने कार्यको प्रमूख २ हस्ताक्षरकर्तामध्ये प्रचण्ड मात्रै एक जीवित नेता हुन् । उनका समकक्षी कांग्रेस सभापति गिरीजाप्रसाद कोइराला अहिले छैनन् । गिरीजापछि नेपालको राजनीति प्रचण्डकै मियोमा घुमिरहेको देखिन्छ । प्रचण्ड आफू प्रधानमनत्री हुँदा राजनीतिको उच्च नैतिकता प्रदर्शन गर्दे प्रधानमन्त्री पद परित्याग गर्ने नेता मात्रैमा सिमित भएनन् उनले निर्वाचनमा २ स्थानबाट पराजित भएका एमाले नेता माधव कुमार नेपाललाई संविधानसभाको सभासद बनाउन महत्वपूर्ण भूमिका खेले ।

त्यसैगरी प्रचण्ड नेपालका नेताहरुलाई एकपछि अर्को गरि प्रधानमन्त्री बनाउने सक्षम नेताको रुपमा पनि चिनिन्छन् । प्रचण्डले पहिलो संविधान सभाको निर्माण प्रक्रियामा एमाले (तेस्रो ठूलो दल) का तत्कालिन अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेर प्रधानमन्त्री बनाए । प्रचण्डको सहयोग र प्रस्ताव बिना प्रधानमन्त्री बन्ने स्थिति थिएन । त्यसैगरी प्रचण्डको सहयोग र प्रस्तावमा प्रधानमन्त्री बन्ने अवसर पाएका अर्का नेता हुन् तत्कालिन माओवादी नेता डा. बाबुराम भट्टराई । उनी अहिले माओवादी परित्याग गरी नयाँ शत्तिm हुँदै जनता समाजवादी पार्टीका संघीय अध्यक्ष रहेका छन् । त्यसै गरि प्रचण्डले प्रधानमन्त्री बनाएका अर्का नेता हुन् एमाले अध्यक्ष केपी शर्मा ओली ।

ओलीलाई प्रचण्डले आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएका थिए । दोस्रोपटक पनि ओली प्रचण्डकै सहयोगमा दुई तिहाईसहितका शक्तिशाली प्रधानमन्त्री बने । त्यसैगरी प्रचण्डले प्रधानमन्त्री बनाएका अर्का नेता कांग्रेस सभापति शेर बहादुर देउवा पनि हुन् । प्रचण्डले आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएका एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी प्रधानमन्त्रीबाट हटाएर फेरी आफ्नै प्रस्तावमा कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाएका थिए ।

संविधान बनाउन पार्टी फुट व्यहोरे

तत्कालीन एकीकृत माओवादीमा प्रचण्ड, बैद्य र डा. बाबुराम भट्टराईको बीचमा संविधान बनाउने र शान्ति प्रक्रियालाई पूर्णता दिने विषयमा चर्को मतभेद थियो । बरिष्ठ उपाध्यक्ष मोहन वैद्य, तत्कालीन पार्टी महासचिव बादल, सचिव सीपी गजुरेल र स्थायी समिति सदस्य विप्लवलगायतको ठूलो टिमले प्रचण्डसँग असहमत हुँदै ९१ जना सांसद लिएर पार्टी फुटायो । शान्त्रि प्रक्रियाको सेना समायोजन, संविधान निर्माण र पार्टीको रणनीतिका विषयमा गम्भीर मतभेद रहेको भन्दै पार्टी फुटाईयो तर प्रचण्डले त्यती ठूलो फुटपछि पनि निर्वाचनमा हाम फाले । माओवादी पहिलोबाट तेस्रो पार्टीमा खुम्चियो । तर प्रचण्डले फराकिलो छाती पारे । संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेले । नेपालको संविधान बनेपछि चिडिएको भारतले नेपालमाथि आर्थिक नाकाबन्दी गरेको थियो । असहमति हुँदाहुँदै पनि प्रचण्डले नचाहेको भए दोस्रो पटक पनि संविधान सभाबाट संविधानको निर्माण संभव थिएन । प्रचण्डले देशको भविष्यको बारेमा गम्भीर भएर संविधान निर्माण गर्न खोज्दा पार्टी विभाजन भयो तर प्रचण्डले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने आफ्ना कार्यभार पूरा गरे ।

एमालेसँग एकतामा पनि प्रचण्डको त्याग
लामो समयदेखि नेपालको रानीतिमा हावी भईरहेका प्रचण्डले एमाले र माओवादी केन्द्रको बीचमा एकता हुँदा पनि ठूलो त्याग गरेका थिए । उनले एमालेसँग गठबन्धन बनाउँदा पनि केन्द्रीय समिति र ४० प्रतिशत निर्वाचन क्षेत्रमा चित्त बुझाएका थिए । त्यती मात्रै होईन ओलीलाई पहिलो अध्यक्ष स्विकार गरेका थिए । तर ओलीले आलोपालो अध्यक्ष तथा प्रधानमन्त्री बन्ने भद्रसहमतिको उललंघन गर्दै दुई पटक संसद नै विघटन गरे । त्यसपछि प्रचण्डले ओलीलाई बालुवाटारबाट निकालेर बालकोटको बार्दलीमा पुर्याएर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बन्न सघाएका थिए । त्यसपछि एमालेको ओरालो यात्र लागेको थियो ।

किंग मेकर प्रचण्ड

एमालेको ओरालो यात्रा मात्रै नभई प्रधानमन्त्रीदेखि सबै प्रदेश सरकार गुमाउन पुग्यो । अहिले एमालेले रुचाएका प्रधानन्यायधीश चोलेन्द्र समशेर जबरालाई महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमाले रक्षात्मक बनेको छ । भने अमेरिकी अनुदान (एमसीसी) का विषयमा माओवादी केन्द्रले लिएको अडानले सबै राष्ट्रभक्त जनतालाई प्रचण्ड राष्टवादी, देशभक्त, न्यायका पक्षधर र लेनिनले भनेझै ठोस स्थितिको ठोस विश्लेषण गरि वैज्ञानिक कदम चाल्ने नेता हुने भन्ने प्रष्ट भएको छ । यदि प्रचण्डले अडान नलिएको भए एमसीसी उहिल्यै पास भईसक्ने थियो । प्रचण्डले जुन राजनीतिक स्टेप चाल्छन् नेपालको राजनीति त्यतै ढल्किने गरेको छ । प्रचण्ड चतुर, दीर्घकालीन भीजन भएका कुशल राजनीतिज्ञ मात्र नभई समकालीन नेपाली राजनीतिका सबैभन्दा डायनामिक नेता हुन् । नेपालको राजनीतिको मियो प्रचण्डको हातमा रहने गरेको छ । प्रचण्डले सहयोग गर्दा ओली दुई तिहाई मतसहित शक्तिशाली प्रधानमन्त्री बने तर प्रचण्डले काध थाप्न छोड्दा ओली बालकोट पुगेका छन् । त्यसैले नेपालको राजनीतिमा प्रचण्ड पछिल्लो डेढ दशकदेखि नेपाली राजनीतिका किंग मेकर हुन् भन्ने गरिन्छ । अब पनि प्रचण्ड जता डोर्याए देश उत्रै लम्किने देखिन्छ । प्रचण्ड नेपाली राजनीतिका गेमचेन्जर भूमिकामा रहेका छन् । त्यसैले प्रचण्डलाई जानकारहरुले किंग मेकर भन्ने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस !