१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

सुप्रीम विश्लेषण : एमसीसी विवादमा अमेरिकी धम्कीपछि बदलिए प्रचण्ड र माधव, देउवालाई सहज !



काठमाडौं । लामो समयको रससाकस्सीपछि अमेरिकी अनुदान सहयोग (एमसीसी) आईतबार संसदमा टेबुल भयो । तर संसद बाहिर भने एमसीसी विरुद्ध आगो बलिरहेको छ । एमसीसी विरुद्ध जनता सडकमा आगो बालिरहेका छन् तर नेपाली कांग्रेस भने एमसीसी पास गर्न नाभीदेखिको बल लगाईरहेको छ । सरकारमा रहेका दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायत संसदीय प्रक्रियाभन्दा बाहिर रहेका आधा दर्जन बढी पार्टीहरु पनि एमसीसीको विरोधमा उभिएका छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको विरोधका कारण यो अघि एमसीसी टेबुल हुन पाएको थिएन । सरकार र प्रधानमन्त्री देउवा अमेरिका, सत्ता गठबन्धन भित्र रहेका दल र सडकमा उर्लिरहेको तीन ठाउँको चेपुवामा परेका थिए । जनदबाब, प्रचण्ड र माधव नेपाललगायतका नेताहरुको विरोध थेग्न गाह्रो भईरहेको बेला अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लूले फोन गरेपछि प्रधानमन्त्री देउवालाई एमसीसी अघि बढाउन निक्कै सहज भयो ।

लूले एमसीसी बारे तत्काल निर्णय नलिए वा एमसीसी फिर्ता भए अमेरिकी अनुदान सहयोग चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने बताएपछि नेपालको राजनीतिमा तरंग छायो । १३ असोजमा देउवा र प्रचण्डले एमसीसी अनुमोदनका लागि वातावरण बनाउन ४/५ महिना समय मागेर एमसीसीलाई पत्र पठाएका थिए । तर सत्तारुढ गठबन्धनमै एमसीसीबारे साझा धारणा बन्न नसकेको बेला लूले फोनबाटै धम्की दिएपछि प्रचण्ड र माधव नेपाल बदलिएको नेपालको राजनीतिक बजारमा चर्चा हुन थालेको छ । सहायक विदेशमन्त्री लूले प्रचण्डलाई एमसीसी सम्झौतामा संशोधन हुन नसक्ने बताएका थिए । नेताहरुका अनुसार एमसीसी सम्झौता संसदबाट अनुमोदनका लागि दबाव दिने क्रममा अमेरिकी अधिकारीहरुले यसअघि चिनियाँ हस्तक्षेप भनेर बुझ्नेदेखि नाकाबन्दी लगाउनेसम्मको धम्की दिने गरेका थिए ।

लू त्यतीमा मात्रै रोकिएनन्, उनले एमसीसी फिर्ता भए अमेरिकी अनुदान सहयोग चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने चेतावनी समेत दिए । सहायकमन्त्री लुसँगको फोन सम्वादका क्रममा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आफू एमसीसी सम्झौता संसदमा टेबल गर्न आतुर रहेको तर कम्युनिस्टहरुले अघि बढ्न नदिएका कारण एमसीसी राजनीतिक मुद्दा बनेको उनको भनाइ थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरुले अरुबाट प्रभावित भएर निर्णय नगर्ने, तर एमसीसीबारे जनमत विभाजित रहेको बताएका थिए ।

अमेरिकी धम्कीपछि प्रचण्ड र माधव नेपाल केही लचिलो भएको प्रष्ट देखिन्छ । लूको फोन आउनुभन्दा पहिला प्रचण्ड र माधव नेपाल एमसीसीलाई सहमति बिना टेबुल गर्न नहुने पक्षमा थिए तर लूको फोनवार्तापछि भने उनीहरु एमसीसी टेबुल गर्न सहमत भए । त्यही सहमति पछि सरकारले एमसीसीलाई संसदमा टेबुल गर्यो । तर अमेरिकी सहायक विदेशमन्त्री लूको फोनवार्ता बाहिरिएपछि चीनले पनि अमेरिकी धम्कीपूर्ण कूटनीतिको प्रतिरोध गर्ने धम्की दिईसकेको छ ।

यद्धपी चीनको धम्कीले एमसीसीलाई नत टेबुल हुनबाट रोक्न सक्यो नत माधव र प्रचण्डलाई एमसीसी विरुद्ध घुँडा डटेर उभ्याउन नै सक्यो । अहिले विश्वका दुई महाशक्ति राष्ट्र अमेरिका र चीनको भूराजनीतिक चेपुवामा नेपाल परेको विश्लेषण हुन थालेको छ । एमसीसी टेबुल भएपछि पास होला कि नहोला भन्ने चौतर्फी चासोको विषय बनेको छ । जे भए पनि एमसीसीका विरुद्ध दह्रो रुपमा उभिएका माधव र प्रचण्ड भने अमेरिकी धम्कीपछि आफ्नो अडानबाट भने धर्मराएकै हुन् भन्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय