६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

सुप्रीम विश्लेषण : रुसी हमलाको २ दिनमै वार्ताका लागि तयार युक्रेन, नेटो सदस्य बन्ने सपना चकनाचुर !



एजेन्सी । रुसले आक्रमण थालेको तीन दिनमै युक्रेन शान्तिपूर्ण वार्ताका लागि तयार भएको छ । आक्रमणको दोस्रो दिनमै रुसी सेना राजधानी किएभ छिर्न थालेपछि युक्रेन रूसी राष्ट्रपति पुटिनको शर्त स्वीकार गर्न तयार भएको छ । शनिबार युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आफू रुससंग वार्ता गर्न तयार रहेको बताएका हुन् । यो संगै युक्रेनमाथिको रुसी हमला रोकिने अपेक्षा गरिएको छ । रुसी आक्रमणको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरिएको छ । त्यस्तै संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले निन्दा प्रस्ताव पास गरेपछि रुसले भीटो प्रयोग गरेर खारेज गरिदिएको छ । युक्रेनको पश्चिमाहरु संगको हिमचिम रुचाएको छैन । पूर्वी युरोपमा अमेरिकी नेतृत्वको नेटोको सैन्य गतिविधिले आफ्नो देशको सुरक्षामा खलल आउने र युक्रेन नेटोको हतियार बनेको रुसको आरोप छ ।

युक्रेनमा रुसी आक्रमण किन ?

किएभस्थित बोरिस्पेल अन्तर्राष्ट्रिय विमानस्थलसहित युक्रेनका सहरनजिकै अवस्थित विमानस्थल र सैन्य मुख्यालयमा सबैभन्दा पहिले आक्रमण भयो। त्यसपछि ट्याङ्क र सैनिकहरू पूर्वोत्तर युक्रेनभरि प्रवेश गरे। उनीहरू पूर्वी लुह्यान्स्कनजिकै रहेको १४ लाख जनसङ्ख्या भएको खार्कीभ सहरमा छिमेकी बेलारुसबाट प्रवेश गरे भने दक्षिणतर्फ क्राइमियाबाट प्रवेश गरे।

प्यारासूटको सहाराले झर्ने सैनिकहरूको समूहले किएभनजिकैको एउटा प्रमुख हवाई शिविर कब्जा गरे। रुसी सैनिकहरू युक्रेनका ठूला बन्दरगाह सहरहरू ओडेसा र मारिऊपोलमा पनि अवतरण गरे।

के चान्छन पुटिन ?

आधुनिक युक्रेनबाट लगातार भइरहेको खतराका कारण रुसले “सुरक्षित, विकसित र अस्तित्वमा रहेको” महसुस गर्न नसकिरहेको पुटिनको तर्क छ । उनले आफ्नो लक्ष्य ‘दुर्व्यवहार र नरसंहारको सिकार भएका मानिसहरूलाई बचाउनु’ रहेको दाबी गरेका थिए। पुटिनका भनाइमा उनी युक्रेनको “असैनिकीकरण र गैर-नात्सीकरण” गर्न चाहन्छन्।

नेटो सदस्यबन्नबाट रोक्न युक्रेनमा आक्रमण ?

जर्मनीले “पुटिनको युद्ध” भन्ने गरेको यो लडाइँमा अहिले नै सैनिक र गैरसैनिक गरी कैयौँको मृत्यु भइसकेको छ। यो आक्रमणले युरोपका नेताहरूका लागि सन् १९४० यताकै सबैभन्दा खराब क्षणमा पुर्‍याएको छ। रुस युक्रेनसंग चिडिनुको मुख्य कारण युक्रेनको नेटोसंगको सम्बन्ध नै हो । रुसले आफ्नो देशको लागि सुरक्षा खतरा ठान्ने गर्दछ ।

राष्ट्रपति पुटिनले आंशिक रूपमा नेटोको पूर्वतर्फको विस्तारलाई आक्रमणको कारणको रूपमा दोष दिएका छन्।युक्रेनले नेटोमा सामेल हुनको लागि उपयुक्त समय पर्खिरहेको छ।

रुसी उपविदेशमन्त्रीले युक्रेन कहिल्यै नेटोको सदस्य नबनोस् भन्ने सुनिश्चित गर्नु आफ्ना लागि अनिवार्य भएको बताइसकेका छन्। गत वर्ष राष्ट्रपति पुटिनले रुसी र युक्रेनीहरूलाई “एउटै राष्ट्र” भनेर वर्णन गर्दै लामो लेख लेखेका थिए।

उनले त्यसमा डिसेम्बर १९९१ मा भएको सोभियत सङ्घको पतनलाई “ऐतिहासिक रुसको विघटन” भनेर वर्णन गरेका थिए। उनले आधुनिक युक्रेनलाई पूर्ण रूपमा कम्युनिस्ट रुसले बनाएको र अहिले पश्चिम नियन्त्रित कठपुतली राज्य भएको दाबी गरेका थिए। यदि युक्रेन र रुसको वार्ता भए युक्रेनको नेटो सदस्य बन्ने बाटो बन्द हुनेछ ।

युक्रेनलाई नेटोको असहयोग

युक्रेनलाई आफ्नो सदस्यता दिने वचन दिएको नेटोले युक्रेनलाई असहयोग गरेको छ । युक्रेन नेटोको सदस्य बन्ने देखेपछि रुस सैन्य आक्रमणमै उत्रिएपछी नेटो मौन बसेको छ ।यद्यपि नेटोले लडाकु विमान तयारी अवस्थामा राखेको भए पनि पश्चिमी साझेदारहरूले आफूहरूले सशस्त्र सैनिकहरू युक्रेनभित्र नपठाउने स्पष्ट पारिसकेका छन्। त्यसको साटो उनीहरूले सल्लाहकारहरू, हतियारहरू र फील्ड अस्पतालका लागि सहयोग गर्ने भनेका छन्।

यसैबेला ५,००० नेटो सैनिकहरू बाल्टिक देश पोल्यान्डमा खटिएका छन्। थप ४,००० सैनिकहरू रोमानिया, बल्गेरिया, हङ्गेरी र स्लोभाकियामा पठाइनेछ। यद्यपि पश्चिमले रुसको अर्थतन्त्र, उद्योग र व्यक्तिहरूलाई निसानामा पारेको छ।

ईयूले पुँजी बजारमा रुसी पहुँचलाई प्रतिबन्ध लगाउने र उसका उद्योगलाई नवीनतम प्रविधिमा जोड्ने प्रक्रियाबाट हटाउने वाचा गरेको छ। ईयूले रुसले विद्रोही नियन्त्रित युक्रेनी क्षेत्रलाई मान्यता दिने कुराको समर्थन गर्ने ३५१ जना सांसदमाथि प्रतिबन्ध लगाइसकेको छ।

जर्मनीले रुस र युरोपेली कम्पनीहरू दुवैको ठूलो लगानी भएको रुसको नोर्ड स्ट्रीम टू ग्यास पाइपलाइनको अनुमोदनलाई रोकिदिएको छ।

रुस भन्छ-युक्रेन कब्जा गर्ने मनसायले हमला गरिएको होइन

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफू शान्तिपूर्ण वार्ताका लागि तयार रहेको बताएपछी रुसले आफ्नो वार्ता टोलि मिनिस्क पठाउने पुटिनका प्रेस सल्लाहकार दिमित्री पेस्कोभले बताकस छन् । त्यस्तै वार्षा पनि संभावित भेन्यु हुन सक्ने बताएका छन् । यसरी अरुको जुक्ति क्षणिक हुन्छ भन्ने उखान झै पश्चिमाहरुको उक्साहटमा लागेको युक्रेनलाई नेटोले धोका दिएपछि वार्ता गर्न तयार भएको छ । रुसलेपनी आफ्नो युक्रेन कब्जा गर्ने मनशाय नरहेको स्पष्ट बताईसकेको छ । यसरी युक्रेनले आफ्नो छिमेकमा रहेको शक्तिशाली राष्ट्रको सुरक्षा संवेदनशीलतालाई ख्याल नगर्दा ठूलो क्षति ब्यहोरी रहेको छ । आफ्नै छिमेकीमाथी परको मित्र ल्याइ छुरा धस्ने युक्रेनी शासक जेलेन्स्कीको सपना चकनाचुर भएको छ । भने जेलेन्स्कीलाई उचाल्ने पश्चिमाहरुले धोका दिएर युक्रेनी संकटको रमिते बनेर हेरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय