
काठमाडौं । यस पटकको स्थानीय तह निर्वाचनका लागि प्रतिमतदाता न्यूनतम ४ हजार ६५१ रुपैयाँ खर्च हुने देखिएको छ । यस्तो खर्च कुल मतदाता संख्यालाई आधार बनाएर सरकारले निर्वाचनका लागि गर्ने खर्च र राजनीतिक पार्टी तथा तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले समेत गर्ने खर्च जोडेर आएको हो । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचन २०७९ मा भाग लिन योग्य बालिग मताधिकार प्राप्त मतदाताको कुल संख्या १ करोड ७७ लाख ७२३ छ । जुन अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा करिब २० प्रतिशतले बढी हो ।
यस पटकको स्थानीय तह निर्वाचनका लागि सरकारले १६ अर्ब रुपैयाँ बराबरको बजेट खर्च गर्दैछ । निर्वाचनमा सहभागी राजनीतिक पार्टी तथा तिनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले समेत गर्ने खर्च यसमा जोड्दा यस पटकको स्थानीय तह निर्वाचनमा कम्तीमा पनि ८२ अर्ब ४८ करोड ११ लाख रुपैयाँभन्दा माथि खर्च हुने देखिन्छ ।