११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

नयाँ परिचयपत्र लिन आउनेलाई मतदाता शिक्षा अनिवार्य



स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ। त्यसका लागि नयाँ मतदाता परिचय पत्र लिन आउने नागरिकलाई अनिवार्य मतदानसम्बन्धी शिक्षा दिएर पठाउने गरेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र मतदान स्थलमा अनिवार्य लिएर जानुपर्ने व्यवस्थाका कारण मतदाता शिक्षा लिन सजिलो भएको हो। निर्वाचन आयोगका अनुसार वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले स्थानीय निर्वाचनमा मतदान गर्न पाउने छन्।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार, मतदाता परिचय पत्र लिन आउने र पहिलो पटक निर्वाचनमा भाग लिनेलाई निर्वाचन अधिकृतको कार्यालयले मतदाता शिक्षा दिएर पठाउने गरेको छ।

विगतको अभ्यासमा निर्वाचन मिति घोषणा भएको मितिलाई आधार मान्ने गरी यस पटक पनि स्थानीय तहको निर्वाचनमा १९ वर्ष उमेर पुग्ने मिति निर्वाचनको ठीक अघिल्लो दिनलाई निर्दिष्ट गरिएको छ। यसरी गर्दा थप दुई लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने छन्।

पहिलेदेखि मतदान गर्दै आएका मतदातालाई विभिन्न राजनीतिक दलले घरदैलो अभियानमै धेरै कुरा सिकाएका छन्। उहाँले भन्नुभयो, ‘‘नयाँलाई परिचयपत्रसँगै मतदानका लागि शिक्षा दिने काम हुँदैछ, अरुले धेरै कुरा जानेकै हुन्छन्, तर पनि मतदाता शिक्षासम्बन्धी अधिकारीले आफू खटेको ठाउँमा शिक्षा दिइरहनु भएको छ।’’ यो निर्वाचनमा पहिलेको जस्तो मतदाताका लागि मतदान शिक्षा कार्यक्रम राखिएको छैन।

सही तरिकाले मतपेटिकामा मतपत्र खसाउने काम नै मतदान हो। स्थानीय चुनावमा प्रतिनिधि छनोट गर्नका लागि मतपत्रमा मतसङ्केत गरी तोकिएको मतपेटिकामा मतपत्र खसाउने गरिन्छ। निर्वाचनमा कस्तो मत सदर र कस्तो मत बदर भन्ने कुराले धेरै विवाद सिर्जना हुन्छ। तर, त्यो विवाद कम गर्न र सदर/बदर मतका बारेमा केही मूलभूत व्यवस्था कानुनमा नै उल्लेख गरिएको छ।

मत बदर कम गर्न दल तथा उम्मेदवार थप सतर्क हुनुपर्ने भएको छ। प्रत्येक मतदाताको घर–घरमै पुगेर शिक्षा दिने व्यवस्था नभएका कारण आफूले मतदान गर्ने दल तथा उम्मेदवारबारे मतदाता पनि सजग हुनुपर्ने छ।

मत बदर हुने अवस्था :

मतदाताले मत सङ्केत गर्दा विचार पुर्याएर मतदान गर्नुपर्छ अन्यथा मत बदर हुन्छ। मतपत्र बदर हुने अवस्था :

-सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,

-औंठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत सङ्केत गरेमा,

-मत सङ्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,

-उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको,

-उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत सङ्केत गरिएको,

-कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएको,

-निर्वाचित गर्नुपर्ने सङ्ख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा–छुट्टै मत सङ्केत गरिएको,

-मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,

-आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,

-मतपेटिका भन्दा बाहिर राखिएको,

-जाली मतपत्र।

निर्वाचनको सन्दर्भमा मतदाताले देहायका कर्तव्य पूरा गर्नुपर्छ :

-मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने।

-निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक सहयोग पुर्याउने।

-मतदानमा प्रतिकूल असर पार्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र आफू पनि कुनै होहल्ला वा हूलदङ्गामा नलाग्ने।

-मतदानको दिन कुनै दल वा उम्मेदवारको नाम, निर्वाचन चिह्न वा सङ्केत भएको पहिरन, परिचयपत्र र ब्याच नलगाउने।

-मतदानको दिन सवारी साधन प्रयोग गरी आवत जावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने कार्य नगर्ने। तर, शारीरिक रूपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताका लागि मतदान अधिकृतले तोकिदिएको सवारी साधन प्रयोग गर्न सकिने।

-आचारसंहिता उल्लङ्घन भएको देखिएमा निर्वाचन आयोग, निर्वाचन अधिकृत वा निर्वाचनमा खटिएका कर्मचारीलाई जानकारी गराउनु पर्नेछ।

-कसैले पनि अर्को मतदाताको नामको मतपत्र बुझिलिन वा अर्काको नामबाट मतदान गर्न हुँदैन। एउटै निर्वाचनका लागि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन।

-कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौँडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन। यदि गरेमा कानून बमोजिम कारबाही हुनेछ।

निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा :

-शीर्षककै आधारमा वा मन परेकै आधारमा लाइक, सेयर र कमेन्ट नगरौं,

-सूचनाको विश्वसनीयता जाँच गरौँ,

-निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउन्ट सञ्चालन नगरौं,

-निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पीच) दिने जस्ता कार्य नगरौं,

-कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी/गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट नगरौँ,

-कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्ने तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण नगरौँ।


प्रतिक्रिया दिनुहोस !