११ जेष्ठ २०७९, बुधबार
 |   Wed May 25 2022
Logo

युभेन्ट्सलाई हराउँदै इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि



एजेन्सी । कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको छ । गएराति भएको खेलमा युभेन्ट्सलाई अतिरिक्त समयमा ४-२ गोल अन्तरले पराजित गर्दै इन्टर च्याम्पियन बनेको हो ।इन्टरलाई उपाधि दिलाउनको लागि इभान पेरिसिसले दुई तथा निकोलो बरेल्ला र हकान चलहानोग्लुको समान एक गोल गरे । युभेन्ट्सका एलेक्स सान्द्रो र डुसान भ्लाहोभिचले समान एक गोल गरे । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको सातौं मिनेटमा निकोलो बरेल्लाले गोल गर्दै इन्टरलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल थप्दै युभेन्ट्सले खेलमा अग्रता लिन सफल भएको थियो । युभेन्ट्सको लागि ५०औं मिनेटमा एलेक्स सान्द्रो र ५२औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गरेका थिए ।८०औं मिनेटमा हकान चलहानोग्लुले पेनाल्टीमार्फत गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । त्यसपछि निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।९९औं मिनेटमा इभान पेरिसिसले पेनाल्टीमा गोल गर्दै खेललाई इन्टरलाई खेलमा ३-२ ले अघि बढाए । १०२औं मिनेटमा पेरिसिसले गोल गर्दै इन्टरलाई च्याम्पियन बनाए ।


प्रतिक्रिया दिनुहोस !