११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

नवनिर्वाचित हर्क राईले चाले पहिलो ‘एक्सन’



धरान । धरान उपमहानगरपालिकाको प्रमुख (मेयर) पदमा नवनिर्वाचित हर्कराज राई (साम्पाङ्ग) ले काम थालनी ‘एक्सन’ गरेका छन् । मेयरको सपथ ग्रहण गरेको भोलिपल्ट (आज मंगलबार) मेयर साम्पाङ्गले स्थानीय कर प्रणालीलाई वैज्ञानिक एवं व्यवस्थित तुल्याउन राजस्वसम्बन्धि कार्यदल गठन गरेका छन् ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खतिवडाद्वारा जारी टिप्पणी र आदेशमा स्थानीय तहलाई सुम्पिएका कर र गैर करका राजस्वका श्रोतहरुको पहिचान, दरहरुको निर्धारण, करको दायरा विस्तार गरी वैज्ञानिक स्थानीय कर प्रणालीको विकास गर्न राजश्व सम्बन्धी कार्यदल गठन गर्ने निर्णय भएको छ ।

कार्यदल गठन गर्ने निर्णयमा भनिएको छ ‘नेपालको संविधानले स्थानीय तहलाई प्रदान गरेको एकल अधिकारको सूची भित्रका कार्यहरु सञ्चालन गर्न स्थानीय तहलाई सुम्पिएका कर तथा गैर कर राजश्वका स्रोतहरुको पहिचान दरहरुको निर्धारण, करको दायरा विस्तार गरी वैज्ञानिक स्थानीय कर प्रणालीको विकास गर्न राजश्व सम्बन्धी कार्यदल गठन गर्ने निर्णय भएको छ ।’

कार्यदलको संयोजकमा नगर उपप्रमुख रहेका छन् । सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित अर्थशास्त्री, सुनसरी उद्योग वाणिज्य संघको प्रतिनिधि छन् ।


प्रतिक्रिया दिनुहोस !