८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

निर्वाचन आयोगको निर्णयप्रति बाजुरामा आन्दोलन, महान्यायाधिवक्ताका भाईलाई जिताउन खोजेको आरोप



कैलाली । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयप्रति विरोध सुरू भएको छ । असार ३० गतेको स्थानीय तहको निर्वाचनमा मतदानको क्रममा धाँधलीको कुरा उठेपछि भएको भन्दै निर्वाचन आयोगले बिहीबार पुन: मतदान गर्ने निर्णय गरेको थियो । जनमतविरुद्ध निर्वाचन आयोग निर्णय गरेको भन्दै एमालेले अनिश्चितकालका लागि सडक अवरुद्ध गरेको छ ।

अहिले बाजुरा प्रवेश गर्ने एक मात्र सडक साफे मार्तडी अवरुद्ध गरिएको एमाले बुढीगंगा नगर अध्यक्ष नरेन्द्र थापाले बताए । देशभर नभएको निर्णय आयोगले बुढीगंगा नगरपालिकामा गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

‘देशका सबै स्थानमा भएजस्तै गरी यहाँ निर्वाचन भएको हो । मतगणना गर्नुपर्नेमा आयोगले पुन मतदान गर्ने निर्णय गर्‍यो यो गलत हो’ उनले भने ‘जनमतविरुद्ध निर्णय फिर्ता नहुँदासम्म हामी आन्दोलन जारी राख्छौँ ।’

महान्यायाधिवक्ता खम्ब खातीका दाजु रङ्ग खाती कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका छन् । उनलाई विजयी गराउने उद्देश्यले निर्वाचन आयोगले निर्णय गरेको थापाको आरोप छ ।

एमालेले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने भएको छ । एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज कर्ण थापाले आयोगको निर्णय न्यायोचित नभएको भन्दै अदालत जाने बताए ।


प्रतिक्रिया दिनुहोस !