१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

नियम संशोधन गरेर सुरक्षण मुद्रण केन्द्रमा पुन: पौडेल नियुक्त



सरकारले विवादास्पद छविका विकल पौडेललाई फेरि सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै पौडेललाई एक पटकका लागि सुरक्षण मुद्रण केन्द्रमा पुनः नियुक्त गरिएको जानकारी दिए ।

पौडेललाई फेरि कार्यकारी निर्देशक बनाउन मन्त्री कार्कीले नियम नै संशोधन गराएका छन् । सुरक्षण मुद्रण विकास समिति गठन आदेश संशोधन गरेर कार्कीले पौडेललाई विना प्रतिस्पर्धा सोझै पुन: नियुक्ति दिलाउने बन्दोबस्त गरेका थिए ।

मूल आदेशको दफा ६ संशोधन गरेर सरकारले आवश्यक देखेमा एक पटकका लागि कार्यकारी निर्देशकको पदावधि एक पटकका लागि थप गर्न सक्ने उल्लेख गरिएको छ ।

मन्त्री कार्कीले यसअघि पौडेल निकटकै सुनिल पौडेललाई नेपाल टेलिकममा प्रबन्ध निर्देशक बनाउन पनि पदपूर्तिसम्बन्धी निर्देशिका संशोधन गराएका थिए । विरोधका बाबजुद सुनिल पौडेललाई टेलिकममा प्रवेश गराएपछि कार्कीले विकल पौडेललाई सुरक्षण मुद्रण केन्द्रमै थप समय काम गर्न दिने गरी नियुक्त गरेका हुन् ।

स्रोतका अनुसार सुरक्षण मुद्रणका नयाँ ठेक्का लगाउने जिम्मेवारी सहित पौडेललाई पुन : नियुक्ति दिइएको हो । सुरक्षण मुद्रण केन्द्रले गरेको यसअघिको ठेक्कामा मिलेमतो भएको थियो । विवादास्पद रुपमै ठेक्का लगाएर किनिएका मेसिनहरु अहिले त्यसै थन्किएका छन् ।


प्रतिक्रिया दिनुहोस !