१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

नेपाली सेनाले दु:ख दिने भन्दै क्याम्प राख्ने निर्णयको विरोधमा उत्रिए रुकुमपूर्वका स्थानीय



रुकुमपूर्व । ढोरपाटन शिकार आरक्षले रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ६, बयलडाँडामा आर्मी क्याम्प राख्न खोजेपछि त्यसको विरोध गर्दै आएका स्थानीयले धर्ना स्थगित गरेका छन् । आर्मी क्याम्प बसेपछि वनजंगलमा आफूहरुको सम्बन्ध नरहने र आर्मीले भने अनुसार चल्नुपर्ने भन्दै स्थानीय यही जेठ १५ गतेबाट धर्नामा बसेका थिए । स्थानीय, जनप्रतिनिधि र ढोरपाटन आरक्षका प्रतिनिधिबीचको छलफलमा २४ गते गाउँपालिकास्तरीय सर्वपक्षीय बैठक बस्ने र सोही बैठकले गर्ने निर्णय अनुसार अघि बढ्ने मौखिक सहमतिपछि स्थानीयले धर्ना फिर्ता लिएको छलफलमा सहभागी ढोरपाटन शिकार आरक्षका सहायक वार्डेन अविनास थापामगरले जानकारी दिए ।

मंगलबार बिहानबाट साँझ अबेरसम्म बयलडाँडामा आरक्षको टोली र पुथा उत्तरगंगा ५ र ६ नम्बर वडाका हालका तथा निवर्तमान वडाध्यक्षहरुसँग छलफल गरिएको थियो । छलफलमा केही पार्टीका प्रतिनिधि र स्थानीय पनि सहभागी थिए । पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ६ को बयलडाँडामा ढोरपाटन शिकार आरक्षले आर्मी क्याम्प बनाउन भनेर यही जेठ १२ गते राति डोजर लगाएर जमिन खन्न सुरु गरिएको थियो । त्यसलगत्तै जेठ १३ गतेको दिन वडामा रहेको सामुदायिक वन सरोकार समितिले त्यसको विरोध गर्दै विज्ञप्ती निकालेको थियो । १३ गतेकै दिन तकसेरामा आर्मी क्याम्प राख्ने पक्षमा रहेका र विरोध जनाएकाहरुसँगै सम्बन्धित सरोकारवाला पक्षसँग छलफल गर्दा पनि कुनै सहमति हुन सकेन ।

सो छलफलबाट सहमति नजुटेपछि १५ गते साँझबाट स्थानीयले धर्ना नै सुरु गरेका थिए । त्यसै दिन आरक्षबाट सहायक वार्डेन थापामगर र दुर्गा बक्स गुल्मका उपसेनानीसहितको टोली बयलडाँडामा आएको थियो । सो टोलीलाई बयलडाँडा प्रवेश गर्न पनि स्थानीयले केहीबेर अवरोध गरेका थिए ।

आर्मीले दुःख दिने चिन्ता

पुथा उत्तरगंगाको वडा नम्बर ६ मा डिम्मुरगैरा र मयाङ दुई ठूला गाउँ छन् । यस ठाउँमा बहुमत नागरिकको सहमतिविना आर्मी क्याम्प किन राख्न लागियो भन्ने कुरामा स्थानीयले विरोध जनाउँदै आएका छन् । आरक्षको आर्मी क्याम्प वयलडाँडामा राखियो भने वनजंगल, जडिबुटीसँग हाम्रो सम्बन्ध हुँदैन भन्ने बुझाइ नागरिकमा छ । स्थानीय धनबहादुर सेनले भने, ‘अहिलेसम्म हामीले भोगचलन र आफैं संरक्षण गर्दै आएको वनजंगलमा आर्मीको क्याम्प बस्ने बित्तिकै उसको सिफारिस र अनुमतिमा चल्नुपर्ने हुन्छ, हामी त्यो चाहँदैनौ । अहिले जसरी चलिरहेका छौं, हामी यही अवस्थामा रहन चाहन्छौं ।’

यही आर्मी क्याम्प पहिले वडा नम्बर १३ मा राख्न खोजिएको थियो । त्यस ठाउँमा नागरिकले विरोधको संकेत देखाएपछि ६ नम्बर वडाको बयलडाँडामा राख्न लागिएको पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले बताए । उनले थपे, ‘जनतामा आरक्षको आर्मी क्याम्प बसे यसले दुःख दिन्छ भन्ने बुझाइ परेको छ । जनताले बुझेको जस्तो दुःख आरक्षले दिँदैन, किनकी आरक्ष पनि सरकारको एउटा अंग हो । तर अहिले जती खुल्लमखुल्ला वन, जंगल, जडिबुटी स्थानीयले उपभोग गर्न पाएका छन् त्यो चाहिँ पछि हुँदैन । किनकी सरकारको, आरक्षको आफ्नै नियम, कानुन, मापदण्ड छ । यस प्रकारको नियम, कानुनले जनताको जीवनमा अहिले र पछिको स्थितिमा भने प्रभाव पार्ने नै गर्छ ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय