१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

मुलुककै अब्बल अमरसिंह मावि, जहाँ उच्च वर्ग र नेतासम्म केटाकेटी पढाउन लालायित हुन्छन्



पोखरा । नेपाल चिकित्सा आयोगले हालै लिएको चिकित्सा शास्त्रको प्रवेश परीक्षामा सुजल पौडेलले १ नम्बरमा नाम निकाले । १९ हजारले आवेदन दिंदा पौडेलले १८०.७५ अंक ल्याएर पहिलो र्‍यांकमा पर्न सफल भए । उनी पोखराको अमरसिंह माविको उत्पादन हुन् । हरेक साल देशकै उत्कृष्ट सामुदायिक विद्यालयमा दहरिँदै आएको अमरसिंह मावि, पोखरामा नामै काफी छ । दुखै गरेर भए पनि धेरै अभिभावक निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउन चाहान्छन् । तर, अमरसिंह यस्तो विद्यालय हो, जहाँ गरिब जनतादेखि उच्च वर्ग र नेतासम्मले पढाउन लालायित हुन्छन् ।

पोखराको अमरसिंह शिक्षामा जसरी अब्बल छ, यसको स्थापना पनि उस्तै गर्विलो र ऐतिहासिक छ । पहिलो र दोस्रो विश्व युद्धमा हराएका गोर्खालीहरुको रहलरपहल रकमबाट पुनर्निर्माण कोष खडा गरिएको थियो । त्यही कोषबाट पोखरामा पनि एउटा स्कुल र अस्पताल खोल्ने निधो भयो । त्यसको अगुवा थिए, मेजर वीरसिंह गुरुङ ।

कोष सञ्चालन गर्न गठित बोर्डको तत्कालीन पश्चिमाञ्चल अफिसरसमेत थिए, वीरसिंह । उनकै अगुवामा पोखरा रामघाटमा २०१३ साल चैत ११ गते स्थापना भयो, सोल्जर्स बोर्ड भोकेसनल जुनियर हाई स्कुल । त्यही नै बेला गुरुङकै नेतृत्वमा सोल्जर बोर्ड अस्पताल पनि खुलेको थियो । त्यही अस्पताल अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ ।

वीरसिंहको पहल र स्थानीय घिमिरेहरुले जग्गा दान गरेपछि खुलेको सोल्जर्स बोर्ड भोकेसनल जुनियर हाई स्कुल पोखराकै पुरानोमध्येको एक हो । पूर्व सैनिक परिवारका छोराछोरीका निम्ति भनिए पनि यो स्कुलमा सर्वसाधारणका छोराछोरी पनि पढ्न पाउँथे । अमरसिंह स्कुलले पोखराको शैक्षिक विकासमात्र नभएर यहाँको भौतिक विकासमासमेत महत्वपूर्ण योगदान पुर्याएको छ । २०२४ सालमा अमरसिंह माविमा परिणत भएको यो स्कुल पोखराकै महत्वपूर्ण र ऐतिहासिक मानिन्छ । पहिले यसको अध्यक्ष अञ्चलाधीश हुन्थे, पछि जिल्ला सभापति ।

अहिले अमरसिंहमा २ हजार ९५० विद्यार्थी अध्ययनरत छन् । अंग्रेजी माध्यमबाट पढाइ हुने अमरसिंह २०७५ र २०७६ मा ११ र ११ को परीक्षामा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय भएर ३ लाख नगदसहित प्रधानमन्त्रीबाट पुरस्कृत भयो । श्रवणशक्ति नभएकाहरुका लागि आवासीय व्यवस्था छ । ६० जना त्यस्ता विद्यार्थी अहिले अमरसिंहमा अध्ययनरत छन् । पहिले बोर्ड फस्ट हुने अमरसिंहकै विद्यार्थी पनि थिए अहिले ४ जीपीए ल्याएने विद्यार्थी पनि यहीँका छन् थिए ।


प्रतिक्रिया दिनुहोस !