१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सधैं बर्खामा कपन : नहरमा झैँ ढलको पानी बग्छ, जुत्ता हातमा बोकेर हिँड्छन् पैदलयात्री



काठमाडौँ । हरेक वर्ष बर्खा सुरु भएसँगै कपनका विभिन्न स्थान डुबानमा परेको खबर बारम्बार सुन्ने गरिन्छ । वर्षेनी यो समस्या कपनवासीका लागि नियति नै बन्न पुगेको छ । कपन क्षेत्रदेखि गोपीकृष्ण, मिलनचोक, भृकुटीचोक, तेन्जिङचोकलगायतको क्षेत्र हरेक वर्ष डुब्ने गरेको छ । विकासको नाममा स्काभेटर प्रयोग गर्दा हरेक वर्ष जताततै यी क्षेत्रमा ठूला-ठूला खाल्डा र जताततै भत्किएको छ ।

कहिले सडक, कहिले ढल, कहिले खानेपानीको नाममा कपनबासीले अव्यवस्थित ढलसँगै आएको बाढीको समस्या बेर्होदै आइरहेका छन् । अव्यवस्थित ढल र ढलसँगै बग्ने पानीको मात्रा धेरै भएपछि ढलको बिर्को भत्किएर जताततै दुर्गन्धितसमेत हुँदै आएको छ । मिलनचोक, गोपीकृष्ण हल सरस्वतीनगरलगायत आसपास क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेका छन् । वर्षासँगै आउने बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरेका हुन् ।

वर्षासँगै बगेको पानीको उचित कटान नहुनु तथा ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारणले पनि यस क्षेत्र जलमग्न बन्ने गरेको हो । पानी परेपछि चाबहिलको मालपोत कार्यालय नजिक ढल भत्किएर सडकबाट पानीको मुस्लो निस्कने गरेको छ । त्यहाँ नहरमा झैँ पानी बग्ने गरेको छ । मालपोत कार्यालयले नै यो दुर्दशा वर्षौंदेखि खेप्दै आइरहेको छ । कालोपत्र गरेको सडक ढलको पानीले भत्काइसकेको छ । कपन प्रवेश गर्ने गोपीकृष्णसँगैको सडकको मुखैमा ठूला–ठूला खाल्डो बनेका छन् ।

त्यतिमात्रै होइन वर्षासँगै आउने भेलका कारण मिलनचोकले धेरै मोटरसाइकल, साइकल र टेम्पो बगाएको छ । धेरैले तरकारी, कपडा, जुत्ताचप्पलको व्यवसाय गर्दै आएका ठेलगाडा पनि बगाएको छ । मिलनचोकमा पानि परेपछि सडक र पसलबाट खोलो नै बग्ने गरेको छ । स्थानीयवासी सडकसमेत पार गर्न सक्दैनन् ।

हरेक वर्ष यस क्षेत्रमा बाढी आउने गरेको भए पनि नजिकैको स्थानीय सरकारले सो विषयमा थाहा पाएर पनि नपाएझैं गर्ने गरेको स्थानीयवासीको आरोप छ । यहाँको यो समस्या समाधानका लागि कहिले उचित र छिटो काम होला भन्ने दिनगन्दै कपनवासी पर्खिरहेका छन् । सडकमा भएका ठूल्ठूला खाल्डासमेत भरिएर आउने बाढीका कारण मोटरसाइकल तथा अन्य सवारी साधनसमेत धेरै पटक दुर्घटनामा पर्ने गरेका छन् । भृकुटीचोकदेखि मिलनचोकमा प्राय यो घटना देखिने स्थानीयवासी हरिशरण दुलाल बताउछन् ।

घुँडासम्म आउने ढलको पानीमा सर्वसाधारण पैदल हिँड्न बाध्य छन् । हातमा जुत्ता बोकेर पैदल हिँड्नुपर्ने अवस्था छ । कतिपयलाई त सोही बाढीले बगाउने पनि गर्दछ । कपनवासीले यस्तो समस्या वर्षौंदेखि खेप्दै आएका हुन् । ठूलो पानी पर्दा सडकमा खोला नै बग्छ । पानी र हिलोले पुरेको खाल्डो कता छ भनेर थाहा नपाउँदा धेरैपटक साना केटाकेटी, वृद्धवृद्धा तथा युवासमेत खाल्डोमा चुर्लुम्म डुब्ने गरेका छन् ।

कपनको सडक हुँदै गुड्ने मोटरसाइकल, साइकल, स्कुटरमा यात्रा गर्नेलाई त निकै समस्या छ । कता खाल्डो छ भन्ने थाहा नपाउँदा दुर्घटनासमेत हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !