१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

एक वर्ष बढी समयदेखि पारिश्रमिक नपाएको भन्दै रुकुमका पत्रकारहरु आन्दोलनमा



रुकुम । रुकुम पश्चिममा पारिश्रमिक नपाएको भन्दै पत्रकारहरु आन्दोलित भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिकाबाट सञ्चालनमा रहेको रेडियो नयाँ नेपालले पारिश्रमिक नदिएको भन्दै रेडियोमा काम गरेका पत्रकारहरु श्रमजीवी-पत्रकार संघ, नेपाल संघर्ष समितिकाे नाममा आन्दोलित भएका हुन् । पहिलो चरणको आन्दोलन अन्तरगत आज विरोध र्याली निकालिएको हो । नगरपालिकाको राडी बजारमा पिडित पत्रकारहरुले र्याली निकालेका हुन् । श्रमजीवी-पत्रकार संघ, नेपालको अगुवाइमा भएकाे आन्दोलनमा नेपाल पत्रकार महासंघ र विभिन्न पत्रकार संघ संगठनहरुले पनि ऐक्यवद्धता जनाएका छन् ।

विरोध र्यालीमा पिडित पत्रकार सहित जिल्ला स्थित अन्य पत्रकारहरुको सहभागिता रहेको थियो । राडी बजार परिक्रममा गरेर र्याली रेडियो नयाँ नेपाल अगाडी पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बोल्दै पिडित पत्रकारहरुले आफुहरुले पाउनुपर्ने पारिश्रमिक तत्काल उपलब्ध गराउन रेडियो प्रशासन तथा संचालक समितिलाई माग गरेका छन् । त्यस्तै कार्यक्रममा सहभागी पत्रकार महासंघका अध्यक्ष तथा अन्य संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुले पनि तत्कालै पारिश्रमिक उपलब्ध गराउन माग गरेका थिए । साथै समस्याका बारेमा नगर प्रमुख रवि केसीलाई पनि जानकारी गराईएको छ । नगर प्रमुख केसीले समस्या समाधानका लागि पहल गर्ने प्रविद्धता जनाएका छन् । पहिलो चरणको आन्दोलन अन्तरगत असार ९ गते सामाजिक सञ्जाल मार्फत रेडियो व्यवस्थापनको भण्डाफोर गर्ने, असार १२ गते रेडियोमा १ घण्टा धर्ना र नारावाजीको कार्यक्रम रहेको संघर्ष समितिका संयोजक सत्य बटालाले जानकारी दिए ।

त्यति गर्दा पनि माग पुरा नभए दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने उनले बताए । रेडियोमा काम गरेका ६ जना पत्रकारहरुले १ वर्षभन्दा बढी समय देखिको पारिश्रमिक पाउन बाँकी रहेको उनीहरुको भनाई छ । बारम्बार पारिश्रमिकको माग गर्दा पनि नपाएपछि बाध्य भएर आन्दोलित हुनु परेको उनिहरुले बताएका छन् । करिब १० लाख पारिश्रमिक पाउन बाँकी रहेको पिडितहरुको भनाई छ । संघले गत महिना बाँकी बक्यौता भुक्तानी गर्न पत्रमार्फत ध्यानाकर्षण गराएकाे थियाे । व्वस्थापक मानबहादुर चदाराले संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीलाई बाँकी रहेकाे पारिश्रमिक नदिने भन्दै धम्काएपछि गत शुक्रवार ३ दिनकाे अल्टिमेटमसहित पुन: ध्यानाकर्षण गराएकाे थियाे । पहिलाे चरणाकाे दबाबबाट पनि मागहरु सुनुवाइ नभए दाेश्राे चरणकाे सशक्त आन्दाेलन घाेषणा गरिने संघका अध्यक्ष जैसीले जनाए ।


प्रतिक्रिया दिनुहोस !