१४ असार २०७९, मंगलवार
 |   Tue Jun 28 2022
Logo

बैद्य, बाबुराम, बादल र विप्लवले मलाई खुईल्याउन खोज्दा माओवादी क्षतविक्षत हुन पुग्यो : प्रचण्ड



काठमाडौं । अहिले देशमा माओवादी आन्दोलन पुन धुर्विकरणको अवस्थामा पुग्न थालेको छ । हामी पुन धुविकृत हुनुका विकल्प छैन । हामी विगतमा टुटफुट भयौ । हामी फुट्नु हुन्थेन । फुट्यौ कमजोर भयौँ । प्रतिक्रियावादीहरुले ग्राउण्ड कब्जा गरे । हामीलाई जनताले तपाईहरु नै हो, देशको नेतृत्व गर्नुस् भनेर देश बनाउने ठाउँमा पुर्याए । देश नै हाम्रो जिम्मा लगाए । जे गर्नु हुन्छ गर्नुस् । राम्रो गर्नुस् भने । देश भरी जनताले हामीलाई भारी मतले जिताए । हामीले जनताले दिएको जिम्मेवारी पुरा गर्न सकेनौ । हामीले जनताको पक्षमा काम गर्न सकेनौ । कमजोरी हाम्रो रह्यो । मैले त महाधिवेशनको डकुमेन्टमा पनि स्पष्ट भनेको छु । हामीले वि. स. २०६५ पछि आफ्नो धरातल छोड्यौ, विर्सियौ । कमजोरी हाम्रो रह्यो । जनताले विश्वासलाई पूरा गरेको भए आज हामी यति रक्षात्मक अवस्थामा पुग्थेनौ ।

जनताले त्यती ठूलो मतका साथ हामीलाई जिताए । तर हामीले जनताको पक्षमा काम गर्नेभन्दा पनि आफु भित्रै लडाईँ शुरु गर्यौ । म पहिलो पटक प्रधानमन्त्री बन्दा पार्टी भित्रको कलहले प्रधानमन्त्री बनेको महशुस नै गर्न पाएन । नौ महिना कसरी बित्यो रुथाहै भएन । हामीले जित्यौ । जितेपछि जनताका पक्षमा काम गर्नु भन्दा पनि आरोप प्रत्यारोपमा उत्रियौ । जनताले दिएको अभिमतलाई हामीले बुभ्न सकेनौ । प्रचण्ड प्रतिक्रान्तिकारी भए भन्न थालियो । नेतृत्वलाई घेराबन्दी गर्न थालियो । आन्तरिक कलहले नौ महिना बितेको थाहै भएन । एकातर्फ बैद्य जी उफ्रिन थाले । अर्कातर्फ बाबुराम जी । त्यसपछि सीपी जी, बादल जी र विप्लव जीको कचकच । हुँदा हुँदै खरिपाटी भेलासम्म त विवाद उत्कर्षमा पुग्यो । देशलाई समाजवाद लैजाने भन्दा पनि गाली गलौच र आरोप प्रत्यारोपको हिलो छ्यापाछ्याप गर्यौ । त्यसपछि त संविधान बन्न नपाउँदै पार्टी पनि विभाजन भयो ।

त्यो लडाईँ कुनै विचार र राजनीतिमा असहमति भएर होईन । त्यो दुई लाईन संघर्ष पनि थिएन । केही पात्रहरुको उक्साहटमा मूल नेतृत्वको विरुद्ध विष ओकल्न थालियो । अहिले त स्पष्ट भयो नि । वैद्य जी क्रान्ति गर्छु भन्नु हुन्थ्यो । तर अहिले उहाँको अवस्था हेरौँ । उहाँ अहिले लेखपढ गरेर बस्नु भएको छ । बाबुराम जीले पनि नयाँ गर्छु भन्नु भयो । उहाँको अवस्था के छ अहिले छर्लङगै देख्न सकिन्छ । सबभन्दा बढी त बादल जी । उहाँको नेतृत्वलाई हेर्ने बुझाई के रहेछ भन्ने हामीले देख्यौ । एमालेको कित्तामा जानु भयो । अरु कयौँ साथीहरु बाहिरिनु भयो फेरी माओवादीमै फर्किनु भयो ।

हामीले क्रान्ति गर्यौ । तर साथीहरुले उक्साहटमा क्रान्ति गर्छु भन्ने सपना देखे । क्रान्ति लहडमा हुँदैन । क्रान्तिका लागि वस्तुगत अवस्था परिपक्क हुनु पर्दछ । यहाँ त क्रान्ति गर्ने भन्दा पनि नेतृत्वलाई खुईल्याउनका लागि क्रान्ति गर्ने भन्न थाले । माओवादी जनयुद्ध वास्तममा महान् थियो । त्यो महान् जनयुद्धले प्रचण्डको निर्माण भएको हो । प्रचण्ड कुनै व्याक्ति थिएन । आन्दोलन थियो । एउटा विशेष आन्दोलनबाट स्थापित भएको नेतृत्वलाई साथीहरु खुईल्याउन सम्पूर्ण शक्ति प्रयोग गर्न थाले ।

आन्दोलनबाट स्थापित नेतृत्वालाई कमजोर पार्न खोज्दा आन्दोलनमा ठूलो क्षती हुन्छ भन्ने कुरा साथीहरुले बुझ्न सकेनन् । टुटफुट नभएको भए अहिलेको भन्दा प्रगतिशील संविधान बन्थ्यो । प्रगतिशील शासकीय स्वरुप हुन्थ्यो । हामी पनि बलिया हुन्थ्यौ । अहिले जस्तो कमजोर हुदैनथ्यौ । अहिले त स्पष्ट भई हाल्यो नि । फुटेर गएकाहरु पनि अब यहाँबाट केही हुँदैन है भनेर पुनस् माओवादी केन्द्र मै फर्किन थालेका छन् । यति मात्रै भएन, यो स्थानीय चुनावपछि त माओवादीको मुलधार भनेकै माओवादी केन्द्र मात्रै हो भन्ने स्पष्ट भईसक्यो । माओवादी आन्दोलन अहिले पनि प्रचण्ड वरिपरी नै केन्द्रीत हुँदैछ भन्ने छर्लङगै भयो ।

फेरि पनि माओवादी आन्दोलन बलियो बनाउनुको विकल्प छैन । त्यसका लागि सबै पार्टीहरुमा रहेका क्रान्तिकारी कमरेडहरुलाई पुन मुल घरमा फर्किनका लागि आह्वान गर्नु पर्दछ । पार्टीमा फर्कन चाहने कमरेडहरुलाई पार्टीमा उचित जिम्मेवारी दिनु पर्दछ । फेरी हामी देशकै पहिलो शक्ति बन्न सबै कमरेडहरु आ(आफ्नो ठाउँबाट डटेर लाग्न जरुरी छ ।

कुराकानीमा आधारित प्रचण्डको विचारको सम्पादित अंश ।


प्रतिक्रिया दिनुहोस !