
काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन नायवसुब्बा गणपति झाविरुद्ध विशेष अदालतमा भ्रष्टचारको मुद्दा परेको छ । विभिन्न कार्यालयमा कार्यरत छँदा गैरकानूनी रुपमा अकुत सम्पत्ति कमाएको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज अदालतमा मुद्दा हालेको हो ।
एक वर्षअघि सरकारी जागिरबाट अवकाश पाएका झाको आम्दानी र खर्च हेर्दा दुई करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ ५१ पैसाको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।
आय २ करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ ५६ पैसाबाट समग्र खर्च ४ करोड ८७ लाख ३८ हजार २१ रुपैयाँ ७ पैसा घटाउँदा उनले उक्त रकम भ्रष्टाचारबाट कमाएको देखिन आएको अख्तियारको ठहर छ ।
अख्तियारले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडमा रहेको उनको रकम जफत गर्न निर्देशन समेत दिएको छ । साथै, पत्नी मीनादेवी झा, छोराहरु दिवाकरकुमार झा, शिवाकरकुमार झा र करुणाकरकुमार झाको नाममा रहेको रकम जफत गर्ने प्रयोजनका लागि उनीहरुलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा परेको छ ।