१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

रुस, चीन र कोरियालाई अमेरिकाले शत्रु ठान्दा विश्व शान्ति खलबलियो : नेपाल



काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले रुस, चीन र उत्तर कोरियालाई अमेरिकाले शत्रु राष्ट्रका ठान्दा विश्व शान्ति खलबलिँदै गएको जनाएको छ। केन्द्रीय परिषद्को प्रथम बैठकमा अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत ‘राजनीतिक तथा सांगठनिक प्रतिवेदन’ मा अमेरिकाले रुस, चीन र उत्तर कोरियालाई शत्रु राष्ट्रका रुपमा व्यवहार गर्दा विश्व शान्ति खलबलिँदै गएको विश्लेषण गरिएको छ।

अमेरिकाले हिन्द प्रशान्त रणनीतिअनुसार ती तीन राष्ट्रलाई प्रहारको केन्द्र बनाउँदा विश्वलाई युद्धको दिशामा धकेल्दै लगेको पनि प्रतिवेदनमा उल्लेख छ। ‘हिन्द प्रशान्त रणनीतिअनुसार अमेरिकाले रुस, चीन र उत्तर कोरियालाई आफ्ना शत्रु राष्ट्रको रुपमा व्यवहार गर्ने र प्रहारको केन्द्र बनाउने कार्यले विश्व शान्ति खल्बल्याउँदै छ,’ अध्यक्ष नेपालको प्रतिवेदनमा भनिएको छ, ‘विश्वलाई चर्को द्वन्द्व, टकराव र युद्धको दिशामा धकेल्दै छ।’ एकीकृत समाजवादीका नजरमा तिब्बत र ताइवानसम्बन्धी नीतिका कारण चीन र अमेरिकाबीच नयाँ टकराव पैदा गर्ने खतरा उत्पन्न भएको छ।

‘चीनको अभिन्न अंगको रुपमा रहेको तिब्बत र ताइवानसम्बन्धी अमेरिकी नीतिले चीन र अमेरिकाबीच नयाँ टकराव पैदा गर्ने खतरा उत्पन्न भएको छ,’ प्रतिवेदनमा उल्लेख छ। एकीकृत समाजवादीले अफगानिस्तान, इराक, सिरियालगायतका मध्यपूर्वी देशमा एकपछि अर्को धक्का ब्यहोरे पनि आफ्नो हस्तक्षेपकारी कदम कायम राख्न अमेरिका र उसका सहयोगी देशहरु उत्तर एटलान्टिक सन्धि संगठन विस्तारको प्रयत्नमा रहेका पनि आरोप लगाएको छ। ‘त्यसले गर्दा विश्व शान्तिमा खलल पर्न गएको छ। हालै युक्रेनमाथि भएको रुसी आक्रमण पनि क्षेत्रीय प्रभुत्व कायम गर्ने पश्चिमी राष्ट्रहरुको प्रयत्न र रुसी सुरक्षा स्वार्थबीचको टकराव हो,’ प्रतिवेदनमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !