४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

भोजभतेरमा नेवारी पहिरन हाकुपटासी



भोजभतेर तथा पार्टीमा जाँदा कस्तो लुगा लगाउने प्रश्नमा वेस्टर्न वा नयाँ डिजाइनका पहिरन लगाउनुपर्छ भन्ने उत्तर आउँछ । तर भक्तपुरका नेवारी समुदायका युवती तथा महिला भने आफ्नो संस्कृतिलाई बचाउनुपर्ने उद्देश्यका साथ कुनै पनि भोजभतेर वा पार्टीमा जाँदा हाकुपटासी (कालो फरिया) लगाउने फेसन चलेको छ ।

अहिले भोजका लागि विभिन्न डिजाइनका लुगा भए पनि भक्तपुरका महिला भोजमा सजिनका लागि वर्षमा एक जोर हाकुपटासी खरिद गर्ने बताउनुहुन्छ । गत वैशाखमा विवाह भएकी मुना सुवालले भोजका लागि हाकुपटासी लगाउनुपर्ने नियम रहेको बताउनुभयो ।

सबै महिला तथा दिदीबहिनी हाकुपटासीमा सजिएपछि आफूले पनि लगाउनुपर्ने बताउँदै यसले लुगा खरिद गर्न पैसा पनि जोगिनुका साथै आफ्नो संस्कृति र परम्पराको पनि संरक्षण हुने उहाँको अनुभव छ । हामी महिलाको बानी एउटा भोजमा लगाएको लुगा अर्को ठाउँमा लगाउनु हुन्न भन्छौँ र विभिन्न डिजाइनका लुगा खरिद गर्न लागिपर्छौं तर हरेक पार्टीमा जान हाकुपटासी लगाएपछि अन्य लुगा खरिद गर्न नपर्ने सुवालले बताउनुभयो ।

यहाँका महिलाहरू प्रायःजसो भोजमा हाकुपटासी लगाउने गरेकी २२ वर्षीया शर्मिला प्रजापति भन्नुहुन्छ, “सबैले एकै पहिरन लगाएपछि सबै समान भएको महसुस हुन्छ ।” उहाँले भाइको व्रतबन्धमा हाकुपटासी ड्रेस कोड बनाएको थियो । सानो बच्चादेखि वृद्धसम्म लगाउँदा सबै राम्रो देखिएको थियो, प्रजापतिले खुसी हुँदै सुनाउनुभयो ।

भक्तपुरमा कपडा पसल सञ्चालन गर्नुभएका हरि श्रेष्ठले अहिले जिल्लामा विदेशीभन्दा नेपाली कपडाको माग भएको बताउनुभयो । उहाँका अनुसार पहिले नेपाली कपडा बाध्यताले प्रयोग गरिन्थ्यो तर अहिले फेसनले प्रयोग गर्ने गरेका छन् । श्रेष्ठ भन्नुहुन्छ, “केही वर्षअगाडि केटाकेटी विदेश जानका लागि कपडा सिलाउन तथा भाडामा लिन आउँथे तर अहिले ट्रेन्ड बदलिएको छ । अहिले लुगा भाडामा लिनुको सट्टा आफूलाई मनपर्ने डिजाइनमा सिलाउने गरिएको पाइन्छ ।” हाकुपटासी अहिले सारीका रूपमा मात्र नभएर वान पिस, लेहेङ्गा, गाउन, टप्स, ब्लाउज कुर्ताका रूपमा पनि लगाउने गरिएको उहाँले बताउनुभयो ।

पहिला आफैँले तानमा बुनेको कपडाको हाकुपटासी लगाउँथ्यौँ तर अहिले कालो सारीमा रातो बोडर राखेर लगाइने गरिन्छ । पछिल्लो समय युवकयुवतीमा विदेशी लुगा किन्ने मोह बढेको छ तर पछिल्लो समय भने हाकुपटासी ट्रेन्डका कारण युवतीमा विदेशी लुगाको मोह घटेको देखिन्छ । काठमाडौँमा भने हाकुपटासी भाडामा लिएर लगाउने ट्रेन्ड चलेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय