६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

राष्ट्रियसभा : त्रिविमा प्रश्नपत्रसम्बन्धी भएको बेथिति रोक्न सरकारको ध्यानाकर्षण



राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा ‘पार्वती’ले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्रसम्बन्धी भएको बेथिति रोक्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार राष्ट्रियसभाको शून्य समयमा बोल्नुहुँदै सांसद पार्वतीले त्रिभुवन विश्वविद्यालयको गत वर्षको स्नातकोत्तर परीक्षा र यस वर्षको परीक्षामा एउटै प्रश्न दोहोरिएको विषय बाहिर आएकाले यस्तो खालको बेथिति सरकारले रोक्नुपर्ने कुरामा जाेड दिनुभएकाे हाे ।

स्नातकोत्तर र स्नातक परीक्षामाको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुबैमा छापिने व्यवस्था गर्न माग राख्नुभयाे ।

सांसद अनिता देवकोटाले संविधानले व्यवस्था भए बमोजिम तीन नै तहको सरकार गम्भीर भएर नचलेको बताउनुभयो । तीन तहका सरकारबीच अन्तरसम्बन्ध रहे पनि सहकारिता, सहअस्थित्व र समन्वय सिद्धान्तमा चलेकाे उहाँको भनाइ छ ।

संविधान रक्षाको लागि नागरिकलाई केन्द्रविन्दुमा राखेर राज्य सञ्चालन गर्दा तीनै तहकाे सरकारको ध्यान आवश्यक रहेकाे औँल्याउनुभयो।

सांसद खिमलाल देवकोटाले मुलुकमा सरकार नै नभएको आभास भइरहेको बताउनुभएको छ । उहाँले सरकार नभएको जस्तै देखिएको भन्दै ललितपुरको भैँसेपाटीको पाँच सय मिटर सडक लथालिङ्ग भएर ६ वर्षदेखि हिलाम्मे हुँदा समेत ध्यान नगएकोमा दुःखेसाे पाेख्नुभयाे ।

उहाँले ६ वर्षसम्म सांसदहरुको कुरा उठाउँदा समेत बन्न नसक्नुको कारण भौतिक पूर्वाधार मन्त्रीले संसदमा जवाफ दिन माग राख्नुभयो ।

त्यस्तै, सांसद नन्दा चपाईंले शिशु अवस्थामा हुर्कँदै गरेको सङ्घीयतामाथि प्रश्न उठ्ने गरी प्रदेश सरकारले काम गरेको बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीको बुबाआमाको नाममा प्रतिष्ठान खोलेर साे कोषमा बजेटमार्फत् रकम जम्मा गर्नु दुःखद भएको बताउनुहुँदै सरकारले साे कार्य रोक्न माग गर्नुभयो ।

सांसद प्रकाश पन्थले आदिकवि भानुभक्त आचार्यको जन्मस्थान तनहुँको चुदिँरम्घालाई सरकारले उपेक्षा गरेको बताउनुभयो ।

यसैगरी, सांसद पन्थले आदिकवि भानुभक्त आर्चायको जन्मस्थल तनहुँको चुदिँरम्घा आन्तरिक तथा साहित्यिक पर्यटकको प्रचुर सम्भावना भएका भन्दै सरकारको प्राथकितामा राख्न आग्रह गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय