२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

खेतीमा आकषर्ण घटेसँगै ‘बेठी’ परम्परा लोप



हिजोआज खेतबारी अधिकांस बाँझोनै देखिन्छ । धान रोपाइँ पहिलेको तुलनामा आधाजस्तै कमी भएको पाइन्छ, जसरी पहिले हुने गर्दथे । धनकुटाका सन्तोष कार्की सानै छदाँ गैरीखेत र सीमखेतमा बेठी लगाएर रोपाइँ गरेको सम्झन्छन् । तर बेठी लगाएर रोपाइँ नगरेको करिव दुई दसक भएको उहाँ बताउनुहुन्छ । घरका सबै जना राजगारीका लागि भन्दै विदेशिए, कोही शहर पसे, त्यसपछि खेती गर्न छाडियाे अनी बेठी परम्परा पनि सँगसँगै लोप भएर गएको उहाँले बताउनुभयो ।

खेती सुरुवात अर्थात रोपाइको दिन खेतमै तामझामका साथ बाजागाजा सहित रमाइलो गरेर रोपाइँ गर्ने प्रचलन छ । रोपाइँ सुरु गर्दा होस या मैजारो गर्दा त्यससमय खेतालालाई समेत पञ्चेवाजा बजाएर मनोरञ्जन दिएर खानाका विभिन्न परिकार खाएर धान रोपाइँ गर्ने गरिन्छ, यसलाई बेठी भन्ने गरिन्छ ।

करिब चार दशकअघिसम्म धनकुटाका गाउँहरुमा नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहित बेठी लगाउँदै धान रोपाइँ गर्ने चलन प्रसस्तै भेटिन्थे । तर, पछिल्लो समय बेठी परम्परा पुरै लोप भएको छ । धनकुटा लगायत आसपासका जिल्लामा जेठबाट रोपाइँ सुरु भएर साउनसम्म हुने गरेको गर्दथे ।

रोपाइँमा पहिलेपहिले जस्तो नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने ‘बेठी’ परम्परा अहिले देख्न पाइदैन । हिजोआज शहरमा बस्ने नयाँ पुस्तालाई मात्र होइन, गाउँमा हुने कृषकका छोराछोरीका लागि समेत ‘बेठी’ शब्द अनौठो बन्न पुगेको छ । गाउँबस्तीका खेतहरुमा नौमती घन्काएर असारे भाका गाउँदै रोपाइँ गर्ने चलन लोप भएपछि नयाँ पुस्ता बेठीका बारेका जानकार नै छैनन् ।

पहिले नै हिलो आली सकेर तयार पारेको पर्याप्त पानी पुग्ने खेत, तयारी अवस्थाको धानको बीउ, दर्जनौँ हलगोरु, सोही अनुपातमा बाउसे, रोपाहार अनि बाजागाजाको टोली भएपछि मात्र बेठीको रौनक सुरु हुन्थ्यो। मानव जीवन र हिलो माटोबीचको सम्बन्धको प्रतीकसमेत बन्दै आएका किसानले माटोको टीका थाप्नुपर्ने बेठीमा दर्जी समुदायले बाजा बजाउने र श्रमिकले आ–आफ्नो भूमिकाअनुसारको खेतमा काम गर्नुपर्ने चलन थियो।

नौमती बाजाको तालमा रमाउँदै असारे गीतको भाका हाल्दै, जोतेको हिलो माटोलाई लेदो बनाउन दाँदे लाउने, हिलो सम्याउने बाउसे, कोही पानीको मात्रा मिलाउने, कोही ब्याडमा बीउ काढ्ने, कसैले गरागरामा बीउका मुठा ओसारिदिने, रोपाहारले आपसमा उछिनपछिन गर्दै लहर मिलाएर बीउ रोपेको दृश्य निकै रोमाञ्चक हुन्थ्यो। सिमेभूमेको पूजा, ठूलो गरामा धान धेरै फलोस् भन्ने कामनासहित भकारी बाँधेर नाचसहित आपसमा हिलो छ्यापाछ्याप गर्दा दिनभरिको सबै थकान मेटिन्थ्यो । यो प्रचलन आजभोली देख्न छाडेको धनकुटा नगरपालिका–२ भीरगाँउका ज्ञानबहादुर थापा बताउनुहुन्छ ।

मुखिया, जिमुवाल, बाबुसाहेव आदिले रोपाइँमा समाजका मानिसलाई बोलाउने गरेपछि ज्याला र अन्य सुविधाको माग हुन थाल्यो । किसानले धनीमानीको क्षणिक रमाइलोको रूपमा बेठी परम्परालाई अथ्र्याउन थाले र क्रमशः समाजबाट बेठी प्रथाको अन्त्य भएको थापाको भनाई छ । बेठी परम्परा विगतमा जुन हिसाबले थालनी गरिए पनि लोपोन्मुख संस्कृति भएकाले पछिल्लो समय यसको संरक्षणको माग समेत उठ्न थालेको छ । परम्परालाइ पुनः जिबित गर्नुको विकल्प नभएको धनकुटा सागुरीगढीका कृषक खेलबहादुर लिम्बु बताउनुहुन्छ ।

धनकुटामा हाल सम्म ३५ प्रतिशत मात्र रोपाइँ

धनकुटामा हालसम्म कुल धान रोपाइँ हुने क्षेत्रफलको ३५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । धनकुटामा कुल सात हजार ९५० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेकोमा हालसम्म दुई हजार ७८२ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र धनकुटाका कृषि प्रचार अधिकृत मनोज यादवले जानकारी दिनुभयो । धनकुटामा कम पानी परेका कारणले ३५ प्रतिशत मात्रै रोपाइँ भएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय