२२ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 8 2022
Logo

के हो त श्रावणमा हरियो चुरा र मेहेन्दीको धार्मिक महत्व ?



साउन महिना सुरु भएसँगै हरियो चुरा पोते किन्ने र मेहेन्दी लगाउने महिलाको चहलपहल बढेको छ। पछिल्लो समय देखावटी र फेसनका रुपमा साउनमा पहिरन नै हरियो लगाउने प्रचलन बढ्दो छ। स–साना बालिका, युवती, अधबैंसे नारी हुन् वा वृद्ध महिला, यतिबेला सबैको नाडीमा काँचका हरिया चुरा र हत्केलाभरि मेहेन्दीमा सजिएको देख्न पाइन्छ।

त्यसो त चुराको इतिहास इजिप्टबाट सुरु भएको हो। इजिप्टबाट सुरु भएको चुरा लगाउने प्रचलनलाई व्यवसायको रुपमा नेपालमा मुस्लिमहरुले भिœयाए। अहिले मुसलमान मात्रै होइन, जो कसैले चुराको व्यापार गर्छन्। नेपालमा आउने चुरा सबै भारतबाट आउँछन्। हरियो चुरा लगाउने संस्कृति पनि भारतीयहरुले नै नेपालमा भिœयाएका हुन्। नेपालमा न चुरा बन्छ, न यो नेपालीको संस्कृति थियो। इजिप्टबाट चुरा लगाउने चलन सुरु भए पनि पछिल्लो समय नेपालीहरुले चुरा आफ्नै संस्कृति जसरी अँगालेका छन्।

अझ गजबको संस्कृति त के छ भने हिन्दू धर्मावलम्बीमा महिलाले चुरा लगाउनुलाई विवाहिता भएको संकेत दिन्छ। नयाँ पुस्तालाई न चुराको इतिहाससँग मतलब छ। न यो संस्कृतिको बारे। उनीहरुलाई चुरा लगाउन पाए भयो। पछिल्लो पुस्ताले चुरा लगाउनुलाई फेसनको रुपमा ग्रहण गर्न थालेको छ। साउन महिना सुरु भएयता हातभरि विभिन्न आकृतिको मेहेन्दी। दुवै हातमा हरियो चुरा ।

हिन्दू धर्ममा विवाहिता महिलाले मात्रै चुरा लगाउने प्रचलन छ। धर्म निरपेक्ष नेपालमा अन्य धर्मका युवतीलाई भने बिहेवारी नगर्दै चुरा, पोते, टीका लगाउन बन्देज छैन। साउन महिनामा भने हिन्दू धर्मावलम्बीका अविवाहिता युवतीलाई पनि चुरा लगाउन सांस्कृतिक रुपमा छुट छ।

संस्कृति धान्ने चलन होस् वा फेसनको बहाना। बेलाबेलामा आउने नयाँपनलाई यहाँका युवती र महिलाले जिन्दगी रमाइलो बनाउने बताउँछन्। विवाहिता महिलाले मात्र लगाउँदै आएको चुरा अविवाहिताले समेत लगाउन थालेपछि चुरा व्यापारीलाई फाइदै छ। सबैले नाडीभरि चुरा र हातभरि मेहेन्दी लगाएको देखेपछि नलगाउनेहरुले पनि अरुको सिको गर्दै चुरा र मेहेन्दी लगाउन थालेका छन्।

विवाहिताहरुले प्रायः रातो चुरा र पोते लगाउने चलन भए पनि साउन महिनामा हरियो चुरा र साडी लगाएर सोमबार शिवको व्रत बस्छन्। विवाहिता महिला आफ्नो पतिको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै साउनको सोमबार व्रत बस्छन्। युवतीहरु भने खोजेजस्तै श्रीमान्को कामना गर्दै व्रत बस्ने चलन छ। ‘व्रत बसेपछि खोजेजस्तै श्रीमान् पाइन्छ भन्ने विस्वास रहेको छ।

साउन शिवजीको महिना भएकाले शिवजीका भक्तले साउन महिनामा हरियो चुरा र मेहेन्दी लगाउने गरेको बताउँछन्। ‘शिवजीलाई सबैभन्दा बढी मन पर्ने बेलपत्र। बेलपत्रको रङ हरियो भएकाले शिवभक्त भएका महिलाले हरियो चुरा लगाउने गर्छन्,’ ‘साँस्कृतिक कुरा एकातिर छ। अहिले त नयाँपन केमा आउँछ, त्यही लगाएर नयाँ पुस्ता फेसनेबल हुन खोज्छन्।’

साउन महिनामा हरियो चुरा, पोते लगाउने प्रचलन फेसनको रुपमा विकास भइरहेको छ। विवाहिता, अविवाहिता मात्र हैन, बच्चादेखि वृद्धासम्म हातभरि हरियो चुरा लगाउने फेसन बनेको छ। कलेजमा पढ्ने छात्राहरुले समेत हातभरि मेहेन्दी र नाडीभरि हरियो रंगको चुरा लगाउने फेसन चलेको छ। उनीहरुमध्ये धेरैलाई हरियो चुरा र मेहेन्दी लगाउनुको धार्मिक एवं सांस्कृतिक महत्व थाहा छैन।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: