१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

नेपाल भ्रमणमा अमेरिका र चीनबीच प्रतिस्पर्धा ! चीनभन्दा अमेरिकाको दोब्बर बढी भ्रमण



काठमाडौं । अमेरिका र चिनियाँ नेताहरूबाट लगालग भइरहेको नेपाल भ्रमणले कुटनीतिक क्षेत्रमा तरङ्ग पैदा गरेको छ । २०७९ सालमा अमेरिकी र चिनियाँ उच्च पदस्थहरुको नेपाल भ्रमणले तीव्रता पाएको छ । पछिल्लो समय नेपाल भ्रमणमा अमेरिका र चीनबीच प्रतिस्पर्धा जस्तै छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धन सरकार बनेपछि नेपालमा अमेरिकी चासो बढेको देखिन्छ । पछिल्लो समय अमेरिकाबाट लगातार नेपाल भ्रमण भइरहेको छ ।

बिहीबार (०७९ साउन १२) देखि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमणमा छन् । उनी तीन सदस्यीय टोलीसहित आज काठमाडौंमा ओर्लिएका हुन् । लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ०७८ मंसिर १ मा पनि उनी नेपाल भ्रमणमा आएका थिए ।

त्यतिबेला मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन प्रक्रिया अघि बढाउन उनले दबाब दिएको चर्चा भएको थियो । एमसीसी पास भएर एसपीपी अगाडि नबढाउने निर्णय भएपछि डोनाल्ड लुको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तर लुअघि पनि अमेरिकाबाट ४ महिना यता अन्य उच्चपदस्थहरुले पनि भ्रमण गरिसकेका छन् । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन ०७९ जेठ २६ मा चार दिने औपचारिक भ्रमणमा नेपाल आएका थिए । त्यसअघि अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जियाले ०७९ जेठ ६ देखि ८ सम्म नेपालको भ्रमण गरेकी थिइन् । उनी तिब्बती शरणार्थी शिविरमा समेत पुगेपछि भ्रमणको उद्देश्यमाथि प्रश्न उठेको थियो ।

यता ०७९ वैशाख ९ देखि ११ सम्म सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा ५ सदस्यीय टोलीले नेपालको भ्रमण गरेको थियो । यस्तै ०७९ वैशाख ६ मा दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री केली केइडरलिङ तीनदिने भ्रमणका लागि नेपाल आएकी थिइन् ।

देउवा नेतृत्वको सरकार बनेपछि चीनबाट पनि उच्चस्तरीय भ्रमण भइरहेको छ । २०७८ चैत ११–१३ मा चीनका विदेशमन्त्री वाङ यीको औपचारिक नेपाल भ्रमण भएको थियो ।

यस्तै ०७९ असार २६–२९ मा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको भ्रमण भएको थियो । विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउले नेपाल आउनुअघि काँग्रेस, एमाले र माओवादीका नेतासँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !