२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

कछुवा गतिमा सूचना महामार्गको काम, पाँच वर्षमा साढे २५ प्रतिशत मात्रै प्रगति



सूचना महामार्ग अर्थात ब्रोडब्याण्ड नेटवर्कको निर्माणको काम सन्तोषजनक नभएको पाइएको छ। २ वर्षमा सम्पन्न गर्नुपर्ने परियोजनाको कार्य ५ वर्ष व्यतित हुँदा पनि भौतिक प्रगति न्यून देखिएको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

प्राधिकरणकाअनुसार ३ ओटा प्याकेजको प्रगति औसतमा करिब २५.५७ प्रतिशत मात्र रहेको देखिएको छ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोडने गरी सूचना महामार्ग निर्माण थालनी गरेको हो। प्राधिकरणले ३ ओटा प्याकेज मार्फत सूचनाको महामार्ग निर्माणको काम ५ वर्ष अघि अर्थात् आर्थिक वर्ष २०७३/७४ सालदेखि थालनी गरेको थियो।

जसमा २०७९ असार मसान्तसम्ममा हालसम्मको अप्टिकल फाइबर बिच्छयाउने कार्य प्याकेज ३ मा १६.०६ प्रतिशत र प्याकेज १ मा ६०.६७ प्रतिशत काम सम्पन्न गरेको छ। प्याकेज २ मा कुनै काम नभएको र सबैका काम ढिला भएकाले सूचना महामार्गको कार्य सन्तोषजनक नदेखिएको हो।

प्राधिकरणले २ वर्षभित्रै देशभर सूचनाको महामार्ग स्थापना गर्ने लक्ष्यसहित काम थालनी गरेको थियो। तर, काम थोरै भएकाले र कुनै क्षेत्रको शुन्यमा झरेकाले सरकारी काम कहिले जाला घामको अवस्थामा देखिएको छ।

प्याकेज १ को काम

प्राधिकरणले प्याकेज १ अन्तर्गत प्रदेश १, मधेश र बागमती प्रदेश अन्तर्गत पर्ने २ हजार १ सय ७९ किलोमिटर दुरीमा सूचनाको महामार्ग (अप्टिकल फाइबर) बिस्तारको काम गर्न भनी झन्डै ५ वर्ष अगाडि नेपाल टेलिकमसँग सम्झौता गरेको थियो। तर, अहिलेसम्म प्याकेज १ मा १ हजार ३२२ कि.मी.अप्टिकल फाइबर बिच्छ्याउने कार्य मात्र भएको छ।

सम्झौता बमोजिम अप्टिकल फाइबरको दूरी २,१७९ किलोमिटर हो। यस्तै २७ वटा डीडब्लुडीएम सिस्टमको जडान गरी क्लस्टर वानको सम्पूर्ण १३ साइडको माइग्रेसन सम्पन्न भइ इस्यूज रिसोलुसनको कार्य भइरहेको छ।

यसैगरी क्लस्टर टू को १३ मध्ये १२ साइडहरुको कमिसनिङको कार्य सम्पन्न भई प्रोभिजनल एसेप्टेड टेस्ट कार्य सम्पन्न भइ ४७ ओटा कोर राउटर इक्युमेन्टहरूको जडान भइ फाइनल एसेप्टेन्स सर्टिफिकेट जारी भई वारेन्टीको चरणमा रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले प्याकेज १ को कार्यक्रम २ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिएको थियो। प्राधिकरणका अनुसार अहिलेसम्म २५ ओटा डीडब्लुडीएम प्रणालीको जडान तथा २८ कोर राउटर उपकरणहरु जडानमात्रै सम्पन्न भएको आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ।

प्याकेज २ को प्रगति शून्य

प्याकेज २ अन्तर्गत गण्डकी प्रदेश र लुम्बिनी प्रदेश भित्र सूचनाको महामार्ग (अप्टिकल फाइबर विस्तार) निर्माणको काम रहेको छ। यो प्याकेजअन्तर्गत २ हजार १ सय ६० किलोमिटरमा अप्टिकल फाइबर विस्तार जडानको काम हुनुपर्ने हो। तर, अहिलेसम्म काम नै सुरु हुन सकेको छैन।

प्राधिकरणले युनाइटेड टेलिकमसँग २ वर्षभित्रै कार्य सम्पन्न गर्ने भनेर सम्झौता गरे पनि अहिलेसम्मको भौतिक प्रगति शून्य रहेको छ। निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्ने विस्वस्त आधार तय नगरेको भन्दै समय थप नगर्ने निर्णय गरेको थियो। तर, प्राधिकरणको निर्णय बदर गर्न सर्वोच्च अदालतमा रिट दायर भएको थियो। सर्वोच्चले पनि रिटको टुंगो नलाग्दासम्म अवधि थप नगर्न र निर्णय कार्यन्वयन नगर्न भन्दै अन्तरिम आदेश दिएपछि प्याकेज २ अन्तर्गतको काम अलपत्रमा परेको छ।

काम अघि बढ्दै प्याकेज ३ मा

प्राधिकरणले प्याकेज ३ अन्तर्गतका प्रदेशका जिल्लामा सूचना महामार्ग (अप्टिकल फाइबर) निर्माणको काम अघि बढेको छ। प्राधिकरणले २०७७ सालको शुरुवातमा मात्रै नेपाल टेलिकमसँग २ वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। यो प्याकेजअन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्ला समावेश छन्।

यो प्याकेजअन्तर्गत कुल १ हजार ९ सय ९२ किलोमिटरमा अप्टिकल फाइबर जडानको काम हुनुपर्नेछ।

प्राधिकरणकाअनुसार यसमा ३२० किलोमिटर एडिएसएस जडान कार्य सम्पन्न भएको छ। हाइक्यापासिटी डीडब्लुडीएम उपकरण अन्तर्गत २६ मध्ये २३ स्थानमा जडान सम्पन्न भई क्लस्टर वानको १६ साइटको प्रोभिजनल एसेप्टेड सर्टिफिकेटको प्रकृयामा रहेको छ। क्लस्टर टूको ९ साइटहरूको एसेप्टेन्स टेस्ट कार्य सम्पन्न भएको र कोर राउटर उपकरणअन्तर्गत ४६ साइडहरूको जडान कार्य सम्पन्न भएको छ। यस्तै प्याकेज ३ मा माइक्रोवेभ ट्रान्समिसन नेटवर्क फ्याक्ट्रि इन्सपेक्सन हुने प्रक्रियामा रहेको दूरसञ्चार प्राधिकरणले जनाएको छ।

लागत

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमार्फत् संकलन भएको रकम प्रयोग गरी सूचनाको महामार्ग निर्माणको काम थालनी गरेको हो। सूचना महामार्ग परियोजनाको जम्मा लागत (सम्झौता रकम) ९ अर्ब ८९करोड १७ लाख रुपैयाँ रहेको छ। जसमध्ये २ अर्ब ९ करोड ३८ लाख ६७ हजार ५६ रुपैयाँ ६८ पैसा खर्च गरेको प्राधिकरणले सार्वजनिक गरेको छ। श्रोत- टेक्नोलोजी खबर डट कम


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय