२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

बागमती प्रदेशले गाडी खरिद, मर्मत र इन्धनमै सकायो १ अर्ब १७ करोड



हेटौंडा । बागमती प्रदेश सरकार स्थापना भए यता सवारी साधन खरिद, मर्मत र इन्धनमा गरी १ अर्ब १७ करोड ७७ लाख ५ हजार ४८ रुपैयाँ खर्च भएको छ । देशमा संघीयता अनुसार प्रदेश संरचना स्थापित भएदेखि प्रदेश सरकारले विभिन्न मन्त्रालय र निकायका लागि सो रकम खर्च गरेर सवारी साधन खरिद, मर्मत र इन्धनबापत खर्च गरेको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा २६ करोड ४७ लाख ८३ हजार ४६४ रुपैयाँ बराबरको सवारी खरिद गरेको थियो भने आर्थिक वर्ष ०७६/७७ मा ३१ करोड १४ लाख ४१ हजार रुपैयाँ र आर्थिक वर्ष २०७७/०७८ मा १६ करोड २९ लाख ७ हजार रुपैयाँ सवारी साधन शीर्षकमा खर्च गरेको छ ।

प्रदेश सरकारले गत आर्थिक वर्षमा मात्र सवारी साधन खरिदका लागि ३० करोड १० लाख ४९ हजार ४६९ रुपैयाँ खर्च गरेको छ । त्यस्तै प्रदेश सरकारको सवारी साधन मर्मत खर्च पनि बर्सेनि बढिरहेको तथ्याङ्क छ । आर्थिक वर्ष २०७५/०७६ मा ३ करोड ९९ लाख ५२ हजार रुपैयाँ सवारी साधन मर्मतमा खर्च गरेको प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ मा ५ करोड ४० लाख ५८ हजार रुपैयाँ र आर्थिक वर्ष २०७७/०७८ मा ६ करोड ८८ लाख ७ हजार रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ८ करोड १ लाख १४ हजार ७४९ रुपैयाँ सवारी मर्मतमा खर्च भएको छ ।

प्रदेश सरकारका पदाधिकारीले ०७५/०७६ मा १ करोड ६८ लाख ६१ हजार ६२६ रुपैयाँ बराबरको इन्धन खर्च गरेका छन् भने कार्यालय प्रयोजनमा २ करोड ६ लाख ५६ हजार ८९६ रुपैयाँ, ०७६/०७७ मा पदाधिकारी तर्फ ३६ लाख ९० हजार ६३४ रुपैयाँ र कार्यालय प्रयोजनमा ५ करोड ३६ लाख १९ हजार १७७ रुपैयाँ इन्धन खर्च भएको छ ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा सवारी साधन खरिद तथा मर्मत र इन्धनमा कुल ४७ करोड २६ लाख ६७ हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकारले साबिकको ७ मन्त्रालयलाई विभाजन गरी विधागत रूपमा १४ वटा मन्त्रालय निर्माण गरेसँगै सवारी साधन खरिद तथा मर्मत र इन्धनमा सो रकम खर्च गरेको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय